घोराही । दाङको घोराही उपमहानगरपालिका–१८, सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो ।
हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ । वार्षिक १६ लाख रुपैयाँको कारोबार गरिरहेका पौरखी घर्तीले ७ लाख रुपैयाँ बचत हुने बताए । एक किलो मह पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए ।
वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन् । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ ।
बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउँछन् । चरनका लागि घोराही उपमहानगरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।