नारायणपुर । घोराही उपमहानगरपालिका १० मा स्व. सुनिल पुनको स्मृतिमा प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।
न्यू स्टार फुटबल क्लब नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा प्रतियोगिताको सुरु गरिएको छ । प्रतियोगिताका विहीवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले सरकारले खेलकुदको विकासकालागी प्रभावकारी काम गर्न नसकेको भन्दै सबै तहले खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहनकालागी काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दाङमा पछिल्लो समय विविध विधाका खेलकुदमा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको भन्दै यसलाई कायम राख्दै सरकारले काम गर्नुपर्ने बताउनुभयो । खेलाडीहरु खेल खेलेर आत्मनिर्भर बन्न नसक्ने वातावरणका कारण दक्ष खेलाडीहरु पलायन हुनुपरेको अवश्था रहेकाले खेल खेलेर जिविका चलाउन सक्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
साथै उहाँले सुनिल पुन स्मृति रानिङ शिल्ड फुटबल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गर्नुभयो । जसकालागी आफूले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न. १० का वडा अध्यक्ष दिपक पाण्डेले वडा कार्यालयले हरेक खेलकुदलाई प्रोत्साहन गर्दै आएको बताउदै खेलको माध्यमबाट खेलाडीहरुले वडाको पहिचान दिन सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले खेलप्रति खेलाडीहरुलाई आकर्षीत गर्न वडाले कार्यक्रमहरु सञ्चालन गरिरहेको पनि बताउनुभयो । कार्यक्रममा नेकपा एमाले घोराही उपमहानगरपालिका १० का अध्यक्ष तिलक महरा, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रनिङ शिल्ड आयोजक समितिका संयोजक खुमबहादुर पुनको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्य र स्वं सुनिल पुनको आमा हिरादेवी पुन मगरको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा न्यू स्टार फुटबल एकेडेमी नारायणपुरका अध्यक्ष खुमबहादुर वलीको स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण न्यू स्टार फुटबल एकेडेमीका सचिव बिनोद बिकले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका स्व.सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको हो ।
उद्घाटन खेलमा राईजिङ स्टार बिजयी
प्रतियोगिताको उद्घाटन खेलमा राइजिङ स्टार युथ क्ल्ब हापुर बिजयी भएको छ । क्यासपियन स्कूल घोराही ५ लाई ४–१ गोल अन्तरले पराजित गर्दै राइजिङ स्टार बिजयी भएको हो । भोलि शुक्रवार दिउसो २ बजे ज्ञानज्योती तुलसीपुर र घोराही १७ बिच हुने छ भने दिउँसो ४ बजे हापुर युथ क्लब र जनजागृती माबी (गाउले) बिच खेल हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।