• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमेरिकामा भएको भलिबल प्रतियोगितामा रुकुमको टीम च्याम्पियन




अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा भएको इन्ट्रा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ रुकुम र महिलातर्फ बेलमन्ट टिमले जितेका छन् ।

पुरुष फाइनलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो । नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आएर टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् ।

उपाधि जित्ने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर प्राप्त गरेको छ । विजेता टिमलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, महिला भलिबलतर्फको उपाधित मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमन्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमन्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर जितेको छ ।

प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर पुरस्कार प्राप्त गरेका छन् । खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमन्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।

पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताए । उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताए ।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमन्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए । प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।

Facebook Comments