रुकुमपूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले उपाध्यक्ष र वडाध्यक्ष सहित ३ जना व्यक्ति गुमाएको छ ।
आज बिहान काठमाडौँबाट रुकुम पूर्व आउँदै गरेको गाउँपालिकाकाे गाडी बागलुङको गलकोट नगरपालिका २ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्सिया भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ बर्सिया आमा गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ३७ बर्षीय जसबहादुर सिर्पाली रहनुभएको छ ।
गाडी चालक भूमे गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालककाे धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।
शुक्रवार बिहान रा १ झ २०० नम्बरको गाडी सडकदेखि ३ सय मिटर तल खेसेको थियो । आमा छोरीको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो । वडाध्यक्षको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो ।
आकस्मिक दुर्घटनाको कारण गाउँपालिकाले नसोचेको क्षति बेहोर्नु परेको गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले बताउनुभयो ।
अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
उहाँले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।