श्रवण कुमार यादव
देउखुरी। बिहानै देउखुरीको स्थानीय बजार लमहीमा व्यापारीहरू चहलपहलका साथ तरकारी बिक्री गर्न व्यस्त रहेको देखिन्छन्। कृषि सुधार र नयाँ सम्भावनाहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रले देशको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
लमही बजार आसपासमा सोनपुर, करोनिया, मजगाउँ, घुम्ना गाउँ, सेम्रहावा, बुटकाहवा, कोलही लगायतका थुप्रै गाउँ रहेका छन् । यी गाउँहरूमा बसोबास गर्ने थारु समुदायका मानिसको आयआर्जनको स्रोत कृषि कार्य नै हो । कृषि पेशामा संलग्न परिवारका प्रायः थारु महिला तरकारी बेचेर परिवार धानिरहेका छन् ।
लमही नगरपालिका–४ घुमनाकी दुखराजी चौधरी सिजनमा तरकारीको भारी बोकेर लमही बजार नपुगेको कुनै दिन छैन । बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ५ बजे नै गाउँबाट निस्किन्छन्, उनी। बर्खामा पानी र हिउँदमा चिसोसँग लड्दै पाँच किलोमिटर बाटोको यात्रा गरेर लमही बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर ‘तरकारी लेबो, तरकारी लेबो ? (तरकारी लिने)’ भन्दै टोल-टोल पुग्छिन्, दुखराजी। “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उनले भनिन्,“तर, गुजारा गर्न यत्ति त गर्नै पर्यो।”
लमही नगरपालिका–३, मजगाउँकी ५३ वर्षीया कैलाशपति चौधरी पनि घाम, पानी र चिसोको प्रवाह नगरी बिहानै निस्किन्छन्, एक भारी तरकारी बोकेर। उमेर ढल्कनै लागे पनि तरकारी बेच्न जोस गएको छैन । भन्छिन्,“यसरी दैनिक हिँडेर तरकारी बेचेको कैयौँ वर्ष भइसक्यो । अझै सकुञ्जेल बेच्छुँ ।”
दुखराजी र कैलाशपति प्रतिनिधि पात्र भए पनि उनीहरू जस्तै लमही बजार आसपासका सयौँ महिला हिँड्दै तरकारी बिक्री गर्ने कार्यमा संलग्न छन् । जुनसुकै सिजनमा आफ्नो बारीमा तरकारी खेती गर्ने र उत्पादित तरकारी बेच्ने उनीहरूको दिनचर्या हो । यसरी तरकारी बिक्री गर्नमा अब्बल देखिएका थारु महिलाको कमाइ दैनिक दुई सयदेखि दुई हजार रुपियाँसम्म रहेको बताउँछन्।
“कहिलेकाहीँ दैनिक ज्याला पनि निस्किँदैन । तर, बजार मूल्य बढी भएको बेला कुनै दिन हजार देखि १५ सय रुपियाँसम्म आम्दानी हुने गरेको छ”, मजगाँउकी शारदा कुमारी चौधरीले भनिन् । उनका अनुसार मजगाउँबाट मात्रै दैनिक १५/२० जना महिला आफ्नो बारीको तरकारी बिक्री गर्न लमही बजार आउने गरेका छन् । तरकारी बिक्री गरेर नै गाउँमा प्रायको गुजारा भइरहेको शारदा कुमारीको भनाइ छ ।
आफ्नो बारीमा भएको तरकारी अलि-अलि दैनिकी बेचेर आएको पैसाले गुजारा गर्न सहज हुने गरेको करोनिया गाउँकी पारसमानी चौधरीले बताइन् । “आफ्नै लगभग ६ कठ्ठा खेतबारीमा तरकारी खेती गरेकी छु”, उनले भनिन्,“मेरो कमाइले घर खर्च धान्न सजिलो त भएको छ तर समयमा तरकारी बिक्री वितरणमा समस्या हुने गरेको बताउँछिन्।” आफ्नै खेतबारीमा उत्पादन गरिएकाे तरकारी बजारको मूल्य नपाउँदा घाटा हुने गरेकाे उनको भनाइ छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।