• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्लाको खोटो संकलनबाट दाङमा ३२ लाख बढी राजस्व संकलन




दाङ । दाङमा सल्लाको खोटो सङ्कलनबाट ३२ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिएका छन् ।

सूचना अधिकारी सापकोटाका अनुसार सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय रुपैयाँ वन समूह र चार लाख ७२ हजार तीन सय ३९ रुपैयाँ प्रदेश सञ्चित–कोषमा जम्मा भएको छ । गत वर्ष जिल्लामा ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जिल्लामा सल्लाको खोटोबाट गत वर्षको तुलनामा यस वर्ष तेब्बर बढी राजस्व सङ्कलन भएको छ ।

जिल्लामा गत वर्ष सल्लाको खोटो सङ्कलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वमा समेत वृद्धि भएको हो । अघिल्ला वर्षमा १० वटा समूहबाट खोटो सङ्कलन हुँदै आए पनि गत आर्थिक वर्षमा १९ वटा वन समूहबाट खोटो सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । जिल्लामा खोटो सङ्कलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा वृद्धि भएको सूचना अधिकारी सापकोटाले बताए । उनले भने, ‘विगतका वर्षभन्दा अहिले खोटो सङ्कलन गर्ने क्षेत्रफल बढ्दा राजस्वमा वृद्धि भएको छ ।’

सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रँग बनाउन आवश्यक सामग्रीमा सल्लाको खोटो कच्चा पदार्थका रूपमा प्रयोग हुने गर्दछ । कच्चा पदार्थका रूपमा प्रयोग हुने सल्लाको खोटो जिल्लाका विभिन्न सामुदायिक वनबाट गङ्गा रोजिन एण्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो सङ्कलन गर्दै आएका छन् ।

सामुदायिक वनको मुख्य आम्दानी

जिल्लामा खोटो सङ्कलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाका रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखौँ रकम आम्दानी गर्ने गरेका छन् । यसरी वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै सामाजिक काममा लगाउने गरेका छन् ।

गाउँसमाजलाई आवश्यक खानेपानी, विद्यालयको भवन निर्माण, चौतारा निर्माणलगायतका काममा लगाउने गरेको बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहा मगर बताउँछन् । आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक काममा पैसा उठाउन नसक्ने भएपछि वन समूहमा सङ्कलन भएको रकम लगाउने गरेको भन्दै उनले भने, ‘खोटो सङ्कलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै सामाजिक काममा आवश्यक पर्दा लगाउने गरेका छौँ ।’

कम्पनीले सल्लाको खोटो प्रतिकेजी १२ रुपैयाँका दरले खरिद गर्ने गर्छन् । राम्रोसँग बढेको सल्लाको रुखबाट कम्तिमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठ महिनादेखि मङ्सिर–पुस महिनासम्म खोटो सङ्कलन गरिन्छ । चिसो मौसममा भने खोटो जाम भएर कम सङ्कलन हुने भएकाले सङ्कलन गरिँदैन ।

Facebook Comments