कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाकको वडा नम्बर १ र २ को सिमानामा पर्ने धिमधिमे पर्यटकीय स्थलमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । धिमिधिमे पर्यटकीय स्थल संरक्षण समिति, दाङ जिल्ला उद्योग वाणिज्य संघ, प्रकृति संरक्षण समूह दाङ लगायतको संयुक्त आयोजनामा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
वृक्षरोपण कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकाले धिमधिमेलाई प्राकृतिसँग सम्बन्धित पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने योजना रहेको बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले धिमधिमे पर्यटकीय स्थल दाङको सदरमुकाम घोराहीबाट छोटो दुरीमा पर्ने भएकोले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउनुभयो । यस्तै उहाँले उक्त क्षेत्रलाई सम्बन्धित वडा र सिंगो गाउँपालिकाले पनि संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
त्यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसीले धिमधिमेसँगै समग्र बंगलाचुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेमा सिंगो दाङ विकासमा मद्दत पुग्ने बताउनुभयो । बंगलाचुलीमा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सडक संरचनाले असर गरेको र यसको समाधानमा संघ /संस्थासँगै सरोकारवालाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले सडक संरचना राम्रो भएको खण्डमा घोराहीदेखि पनि बसाइ सरेर बंगलाचुलीमा आउने वातावरण तयार हुने उहाँले बताउनुभयो । बंगलाचुलीको विकासको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ सधैभरी तत्पर रहेको समेत उहाँले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा बंगलाचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, वडा नम्बर १ का अध्यक्ष विष्णु कवँर, २ का अध्यक्ष मैते पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी, प्रकृति संरक्षण समूह दाङका पदाधिकारी, बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्यहरु विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वडा नम्बर १ र २ मा रहेका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो । उक्त क्षेत्रमा साउन १६ गते पनि वृक्षरोपण गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।