• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरको नाकामा यातायात सुविधा नहुँदा बालिकाको मृत्यु




श्रवण कुमार यादव
राजपुर । यातायातको सुविधा नहुँदा  राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित जेलबाङ खोला नाका निवासी मान बहादुर बुढाको १५ वर्षीय छोरी कृष्णा बुढाको मृत्यु भयो । कृष्णा केही दिनदेखि बिरामी थिइन् । उनको गालामा घाउ र सामान्य ज्वरो आएको थियो। नाका क्षेत्रमा यातायातको सुविधा नभएकै कारणले समयमै उपचार गर्न नपाउँदा बिरामी भएकी छोरीको मृत्यु हुन पुगेको मृतका आफन्तहरु बताउँछन् ।

राजपुरको नाका बिकट बस्तीदेखि लमही, घोराही, तुलसीपुर हुँदै नेपालगन्जका अस्पतालहरूमा सडक मार्गको सुविधा नहुँदा उपचार सम्भव नभएपछि उनलाई भारतमा नजिकैको सिरसिया बजारस्थित अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारपछि औषधी दिएर उनलाई घर फर्काइएको थियो। घर फर्किएको दुई दिनपछि १८ गते बेलुका ९ बजेकाे समयमा कृष्णा बुढाको मृत्यु भएको थियो।

कृष्णाको निधनले गाउँमा शोकको छायाँ छाएको छ। उनका परिवारजन र गाउँलेहरू यस दु:खद् घटनाले स्तब्ध छन्। कृष्णाको कलिलो उमेरमा भएको निधनले सम्पूर्ण गाउँलाई नै स्तब्ध बनाएको छ।

राजपुरकाे नाकामा विकट बस्तीका नागरिक भने अझै  सिटामोलका  लागि पनि तीन घण्टा पैदल हिँडेर सामुदायिक स्वास्थ्य एकाइ जानुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गर्छन्। बिरामी बालबालिका, जेष्ठ नागरिक, सुत्केरीलाई उपचारको लागि समयमै अस्पताल पुर्याउन नसकेपछि बाटोमै अकालमै मृत्यु हुने भएकोे कतिपय समाचारहरु आइरहेका हुन्छन्।

यस्तै गत वैशाख १६ गते सडक असुविधाकै कारण दमकल पुग्ने नसकेपछि राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका थिए।

दैनिक जीवन धान्न भारतकै भर रहनु पर्ने बाध्यता रहेको छ। २२ वटा नाकामध्ये कोइलाबाससम्म मात्र नेपालका सवारी साधन पुग्छन् । राजपुरको खाङ्ग्रा नाकासम्म जोड्ने सामान्य बाटो त छ तर त्यो बर्षातको समयमा सडक बिग्रिएर यातायात पुरै अवरुद्ध हुन्छ । बाटो ठप्प हुन्छ। सडक नभएका कारण यहाँका स्थानीय दैनिक जीवनयापनका लागि पूर्ण रुपमा भारतको भर पर्नुपरेको बताउँछन् ।

राजपुर गाउँपालिका अन्तर्गत नाका क्षेत्रमा भनेको जस्तो र सोचेको जस्तो अस्पताल व्यवस्था र मोटर बाटो नहुँदा नाका बासिन्दाहरूले अकालमै ज्यान गुमाउनु परेको छ। किन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार यस कुरामा मध्यनजर गर्दैनन्? आखिर किन नाका क्षेत्रमा ध्यान नै दिइँदैन? के नाकाबासी नेपाली नागरिक होइनन् र? भन्ने प्रश्न खडा भएको छ।

Facebook Comments