सल्यान । सल्यानका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्वपूर्ण सफलता प्राप्त हुन थालेको छ। साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्वपूर्ण सफलता प्रदान गरेको हो ।
आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरुले वालवालिकाहरुमा पढ्ने बानीको विकाससँगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको बताए ।
सोमबार सम्म सञ्चालन हुने पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा पढाइ गतिविधी कार्यान्वयनका सफलता र चुनौतीहरुबारे सामुहिक छलफल गरिएको छ । पढाइ गतिविधी क्रियाकलापहरुको पुनरावलोकन तथा पुस्तकालय दिगोपनाका क्षेत्रहरूका बारेमा छलफल गरी कार्यक्रमको निरन्तरताका लागि तालिमको आयोजना गरिएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिए ।
जिल्लाको बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, दार्मा गाउँपालिकाका ३ र त्रिवेणी गाउँपालिकाका ६ विद्यालय गरी जम्मा २४ जना शिक्षकहरु तालिममा सहभागि छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख केशर बहादुर वलीले साक्षरता कार्यक्रमले राम्रो प्रभाव पारेको भन्दै पुस्तकालयको दिगोपना र साक्षरता कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यालयहरुले कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार हाल साक्षरता कार्यक्रम सञ्चालन भैरहेका ६८ विद्यालयका ४ हजार ३९९ जना विद्यार्थीले ६ महिनाको अवधिमा ३६ हजार ९६२ पुस्तक पढेका छन् । साक्षरता कार्यक्रमले पालिकाहरुबाट लिएको तयांक अनुसार एक विद्यार्थीले ६ महिनाको अवधिमा औसत ८ वटा पुस्तक पढेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए ।
पहिलो दिनको तालिममा सहभागि शिक्षकहरुले पुस्तकालय पढाइले प्राप्त भएका सफलता तथा चुनौतीहरु प्रस्तुत गरेका थिए । शिव मावि बागचौर ११ हारिचारका शिक्षक दिपक खत्री, राष्ट्रिय मावि दार्मा १ दार्माकोटका शिक्षक पदम परियार, सिद्धेश्वरी आवि छत्रेश्वरी ४ चौरपाटाका शिक्षक विमला केसी र माध्यमिक विद्यालय त्रिवेणी ३ टोट्केका शिक्षक मनोज महताराले विद्यालयमा पुस्तकालय पढाइले धेरै सुधार गरेको जनाए ।
उनीहरुका अनुसार बालवालिकामा पढाइस्तरको बृद्धि र नियमित पढ्ने बानीको विकास भएको छ भने पुस्तकालय पढाइ गतिविधिका कारण स्वस्थ प्रतिष्पर्धाको भावना जागृत भइ पढाइमा सुधार आएको छ । यस्तै समूहमा बसेर वालवालिकाले स्तर अनुसारका पुस्तक पढ्न पाएका छन् भने चित्र हेर्दै मनोरञ्जनात्मक रुपमा सक्रियताका साथ पढाइमा संलग्न हुनेगरेका छन् । तालिममा पुस्तकायको दिगोपना, पुस्तकहरुको सुरक्षा, जनशक्ति व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्ने विषयमा पनि वृहत छलफल हुने जनाइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, आसमान नेपालका लक्ष्मण थापा, प्रारम्भीक कक्षा सिकाइ कार्यक्रमका पदम कठायत लगाएतको सहभागिता रहेको थियो ।
जिल्लाका स्थानिय तहको लागत साझेदारी सहित रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज सल्यानको व्यवस्थापनमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । हाल सम्म सल्यानका १२२ विद्यालयमा यो कार्यक्रम लागू भइसकेको छ । जस मध्ये ५४ वटा विद्यालयमा साक्षरता कार्यक्रम हस्तान्तरण भइसकेको छ भने ६८ विद्यालयमा कार्यक्रम सञ्चालनमा छ । यस्तै २५ वटा विद्यालयमा स्थानीय सरकारको आफ्नो मात्रै लगानीमा साक्षरता कार्यक्रम संचालन भइरहेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए । शारदा नगरपालिकाले १५ वटा र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा आफ्नै लगानी र रुम टु रिडको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए ।
श्रीनगरमा सञ्चालन भइरहेको पुस्तकालय पढाइ गतिविधि पुर्नताजगी तालिममा साक्षरता सहजकर्ताहरु सुनिल नेपाली, सिता गिरी, महेश देवकोटा, कमल महतारा र गीता गिरीले सहजिकरण गरिरहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।