तुलबहादुर कँवर मगर
भालुबाङ ।राप्ती गाउँपालिका–१ भालुबाङका ५५ वर्षीय डम्मरबहादुर जिसीलाई व्यवसाय गर्ने इच्छा जाग्यो । स्वास्थ्य चौकी भालुबाङमा २५ वर्षदेखि सहयोगीको भूमिका निर्वाह गर्नुभएका डम्मरले वर्षदिनदेखि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरको जागिर गरिरहनुभएका छोरा लालबहादुरलाई पनि व्यवसाय नै गर्ने कुरामा सहमत गराउनुभयो । ०८० असारमा छोराले र ०८० साउनदेखि डम्मरले पनि जागिर छोड्नुभयो । आर्थिक मन्दीले व्यापार व्यवसाय धरासायी भइरहेका बेला सरकारी जागिर छोडेर नेपाली कागज उद्योग सञ्चालन गर्नुभएका जिसी परिवारले आज बाबु छोरामात्रै होइन अरु १८ जनालाई पनि जागिर दिन सफल हुनु भएको छ ।
व्यापार व्यवसाय बन्द भइरहेका बेला सरकारी जागिर नै छोडेर उद्योग सञ्चालनमा लाग्दा जिसी परिवारलाई छरछिमेकलेमात्रै होइन इष्टमित्रले पनि राम्रो गरे भनेनन् । तर जागिरकै क्रममा पनि देशका विभिन्न कागज कारखानामा दाङबाट कच्चा पदार्थ पठाउने काम गरिरहनुभएका जिसीले हार मान्नु भएन । राप्ती गाउँपालिका–४ पिपरखुटीमा वार्षिक एक लाख भाडा तिर्नेगरी सात कट्ठा जमिन लिजमा लिएर राप्ती कागज कारखाना स्थापना गर्नुभएका जिसीले उद्योग सञ्चालनकै पहिलो वर्षमा ९० लाखको कारोबार गर्न सफल हुनुभयो । ‘पहिलो वर्ष हो । उद्योग, बाँसको भ्याट, कच्चा पदार्थ मेसिनरी सामग्री र विजुलीको व्यवस्थापनमै समय गयो’– उद्योग सञ्चालक जिसीले भन्नुभयो– ‘पहिलो वर्षमै ९० लाख बढीको कारवार भयो । म सन्तुष्ट छु ।’
उद्योगको उत्पादन र कारोवारले जिसी परिवारलाई सरकारी जागिर बिर्साइदिएको छ । ‘गाउँपालिकामा काम गर्दा पनि ३०÷३५ हजारको जागिर हो’– जिसीले भन्नुभयो– ‘उद्योगबाट त्यति त सजिलै आएको छ जस्तो लाग्छ ।’ डम्मरले उद्योग स्थापना गर्न ४५ लाख लगानी गर्नुभएको छ । मेसिनरी सामान र उद्योगबाहेक बाबियो, लोक्ता खरिद, रसायनजस्ता बस्तुमा उहाँको लगानी निरन्तर छ । त्यसैले अहिले उद्योगबाट दैनिक विभिन्न साइजका ४ हजार प्रति नेपाली कागज उत्पादन भइरहेको छ ।
‘त्यस्तै २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा २०० प्रति हुन्छ’– सञ्चालक जिसीले भन्नुभयो– ‘यसको बजारमा समस्या छैन । पूर्व–पश्चिम जताततै पुग्छ ।’ उद्योगले २० ग्रामको नेपाली कागजलाई प्रतिगोटा १० रुपैया, २५ ग्रामलाई प्रतिगोटा २५, ३० ग्रामलाई प्रति गोटा ३० र ४० ग्रामकोलाई प्रतिगोटा ५० रुपैयॉमा बिक्री गरिरहेको जनाएको छ । उद्योगले मागअनुसार उत्पादन गर्दै आएको छ । बढी ए–फोर साइजको धेरै खपत हुने उद्योगले जनाएको छ ।
स्वरोजगारमा टेवा
डम्मरबहादुर जिसी आफैले पनि कागज उत्पादनको काम गर्नुहुन्छ । कारखानामा बाबु छोरा दुबै व्यस्त हुनुहुन्छ । उहाँसँगै अरु १८ जना पनि कागज उत्पादनमै व्यस्त हुन्छन् । उनीहरुलाई मासिक तलव छैन । उत्पादनको आधारमा मजदुरहरुले पैसा पाउँछन् । त्यसैले डम्मरबहादुरले मजदुर पनि श्रीमान्, श्रीमतीलाई नै प्राथमिकता दिनुभएको छ । ‘घरकै श्रीमान् श्रीमती आउनुहुन्छ, दुई जनाले दिनमा दुई हजार बढी कमाउनुहुन्छ’– जिसीले भन्नुभयो– एक कोरी उत्पादन गरे वापत पाँच सय ४० रुपैयाँ पारिश्रमिक दिन्छौं । महिनामा ७० हजारसम्म कमाउनुभएको छ ।’ जिसीले विदेश जाने प्रवृत्ति बढिरहेका बेला गाउँघरमै रोजगार प्रवद्र्धन गर्न पनि उद्योग सञ्चालन गरेको बताउनुभयो ।
नेपाली कागज उत्पादक जिसीले कागजका लागि केही कच्चा पदार्थ स्थानीयस्तरमै प्रशस्त रहेको बताउनुहुन्छ । बाबियो दाङमै प्रशस्त रहेको तर लोक्ता भने जिल्ला बाहिरबाट ल्याउनुपरेको बताउनुभयो । एक ट्रक लोक्ता ल्याएकोे आफूलाई वर्षदिन पुगेको उहाँ बताउनुहुन्छ ।
२०८० वैशाख १९ मा उद्योग स्थापना गरी जेठ देखि कागज उत्पादन थाल्नु भएका जिसीले अबदेखि धुप कागज उत्पादनको तयारीमा हुनुहुन्छ । त्यसका लागि राप्ती गाउँपालिकाले आर्थिक सहयोग गरेको भन्दै जिसीले धुप कागज उत्पादनका लागि अरु चारजना कामदार थप्न थालेको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।