श्रवण कुमार यादव
राजपुर। राजपुर गाउँपालिकाका कृषकलाई अर्गानिक तरकारी उत्पादनमा उत्प्रेरित गर्न विभिन्न कृषि सामग्री वितरण गरिएको छ ।
राजपुर गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण महिला उत्थान केन्द्रसँगको साझेदारीमा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित पालिकाका विभिन्न समूहलाई टनेलभित्र तरकारी खेती गर्न छनोट भएका ५० जना सदस्यलाई कृषि सामग्री वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले कार्यक्रममा सामग्री वितरण गर्दै अर्गानिक कृषि प्रवर्धनले कृषकको आर्थिक स्थिति सुधार गर्नुका साथै उपभोक्तालाई स्वस्थ र विषादीमुक्त तरकारी उपलब्ध गराउन सकिने बताए । उनले अर्गानिक कृषि उत्पादनको महत्वबारे जानकारी दिंदै कृषकलाई यस अभियानमा सहभागी हुन आह्वान गरेका थिए ।
त्यस्तै राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले गाउँपालिकाले अर्गानिक खेतीको प्रवर्धन गर्दै कृषकलाई तालिम तथा प्राविधिक सहयोग प्रदान गर्न समेत प्रतिवद्धता रहेको बताइन् । उनले भनिन्, ‘यो सामग्री वितरणको मुख्य उद्देश्य कृषकको आयस्तर वृद्धि गर्नुका साथै दिगो कृषि प्रणालीको स्थापना गर्नु रहेको छ ।’
राजपुर गाउँपालिका भिटा परियोजना संयोजक गिरिराज भट्टले उच्च गुणस्तरका अर्गानिक तरकारीको बिउ र अन्य आवश्यक सामग्रीले उत्पादनको मात्रा र गुणस्तर सुधार गर्ने जानकारी दिए। कार्यक्रममा उपस्थित कृषकले यस कदमलाई स्वागत गर्दै गाउँपालिकाको यो पहलले अर्गानिक तरकारी उत्पादनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्। कृषकले अब अर्गानिक खेतीमा लागेर आफ्नो आयस्तर वृद्धि गर्नुका साथै दिगो कृषि प्रणालीमा टेवा पुऱ्याउने अठोट गरेका छन् ।
राजपुर गाउँपालिका-३, भैसाहावामा गठित मनकामना समूहका अध्यक्ष धर्मी यादवको अध्यक्षता, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको प्रमुख आतिथ्यता, उपाध्यक्ष धनपतीदेवी यादवको विशिष्ट आतिथ्यतामा भएको कृषि सामग्री वितरण कार्यक्रममा आर्थिक विकास संयोजक दिलमती वली, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, राजपुर गाउँपालिका भिटा परियोजना संयोजक गिरिराज भट्ट लगायतको उपस्थिति रहेको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।