• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट १० को उत्पादनमा छलाङः एकैपटक ३६ लाखको लसुन निर्यात




रुकुमपश्चिम । रुकुमपश्चिम, जेठ २१ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० बाट ३६ लाख रुपियाँभन्दा बढीको लसुन बिक्री भएको छ । वडाको झ्याङ, झान्डारी, खर्सुपानी, चौर, गलम्पाटी, नमुना बस्तीलगायतका टोलबाट ३६ लाख १२ हजार पाँच सय रुपियाँ बराबरको लसुन बिक्री भएको हो ।

वडाध्यक्ष धनबहादुर खड्काका अनुसार यस सिजनमा वडामा उत्पादन भएको ४८९ क्विन्टल लसुनमध्ये २८९ क्विन्टल लसुन बिक्री भएको हो । प्रतिकिलो १२५ रुपियाँका दरले लसुन बिक्री भएको उहाँले जानकारी दिनुभयो । उहाँले एक सय क्विन्टल लसुन काठमाडौँ, ८९ क्विन्टल लसुन पोखराका व्यवसायीले खरिद गरेर लिएको बताउनुभयो । एक सय क्विन्टल लसुन भने रोल्पा र दाङका तीन जना व्यापारीले खरिद गरेर राखेका छन् । दुई सय क्विन्टल लसुन भने किसानले नै राखेका छन् । उनीहरूले अर्को सिजनमा बिउका लागि उक्त लसुन घरमै राखेका हुन् ।

यस वडाका करिब डेढ सय किसानले व्यावसायिक रूपमा लसुन खेती गर्दै आएका छन् । किसान इन्द्रकुमार खड्काले नौ क्विन्टल बढी लसुन बिक्री गरेर एक लाख १३ हजार रुपियाँ प्राप्त गरेको बताउनुभयो । सहरका व्यापारी गाउँमै आएर किसानको उत्पादनलाई उचित मूल्य दिएको उहाँको भनाइ छ । अर्का किसान खिमबहादुर ओलीले एक लाख तीन हजार मूल्यमा ८२४ किलो लसुन बेचेको जनाउनुभयो । उहाँले पहिला गहुँ खेती गरेको जग्गामा लसुन खेती गर्दा फाइदा भएको बताउनुभयो । सुरुमा बजारको समस्या भए पनि वडा कार्यालयले व्यापारी गाउँमै आउने वातावरण मिलाइदिएकाले गाउँमा लसुन खेती गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

यस वडामा २०७५ सालदेखि लसुन उत्पादन हुँदै आएको छ । सुरुका वर्षमा दाङका व्यापारीले यहाँको लसुन खरिद गरेर लैजाने गर्दथे । यस वर्षदेखि भने पोखरा र काठमाडौँ लसुन जान थालेको हो । लसुन खरिदका लागि पाँच जना व्यवसायी आएर किसानसँग मूल्यमा सम्झौता गरेपछि एकसाथ लसुन बिक्री भएको हो । यसका लागि वडा कार्यालयले नियमित सहजीकरण गरिरहेको छ । काठमाडौँ, पोखरा र दाङमा अझै लसुनको माग रहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

यस क्षेत्रमा लसुनका साथै सुन्तला, कागती, अदुवा, अलैँचीलगायतको राम्रो उत्पादन हुने गर्दछ । मुसीकोट नगरपालिकाले उक्त वडालाई लसुन पकेटसमेत घोषणा गरेको छ । लसुन उत्पादनको पहिचान झल्कने गरेर वडाको झ्याङ बस्तीमा लसुन पार्कसमेत निर्माण गरिएको छ । वडाध्यक्ष खड्काले वडामा हुने सबै कृषि उपजको दिगो बजार व्यवस्थापन गर्नतर्फ अग्रसर रहेको जनाउनुभयो । वडाले स्थानीय छवि बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि उपजको सङ्कलन र बजारीकरणका लागि अगाडि सारेको छ । त्यसै गरी वडाको पहलमा उत्पादन, बजार व्यवस्थापन र किसान तथा सहकारीलाई प्रोत्साहनका कार्य हुँदै आएका छन् । वडाका सहिदद्वय चक्रराम बुढा (छहरा) र देबीलाल परियार (विजय)को नाममा स्थापित छवि बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनको बजारीकरण गरिरहेको छ ।

Facebook Comments