मधुसूदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा पत्रकारिता, क्षमता विकास तथा मिडिया व्यवस्थापन सम्बन्धि ७ दिने तालिम शुक्रबार देखी कमिरेचौरमा सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित रेडियो बंगलाचुलीको आयोजनामा तालिम सुरु भएको हो ।
रेडियो बंगलाचुलीका स्टेशन म्यानेज जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । तालिममा बंगलाचुलि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसि, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार डाक्टर सुदिप गौतम, बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य, प्रशासन शाखा प्रमुख गोपाल केसि, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र प्रकाश वली, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउले, नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य हिमाल महरा, प्रेस चौतारी नेपाल बंगलाचुलीका अध्यक्ष शुसिल परियार र अपाङ्ग मानव अधिकार मञ्च दाङका अध्यक्ष जिवि चिन्तन लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपलिका उपाध्यक्ष भक्त बहादुर जिसिले बंगलाचुलीमा पत्रकारिता गर्नेहरुको लागि यो एउटा अवसर भएको बताउनुभएको थियो ।
यस्तै बंगलाचुली गाउँपलिका अध्यक्ष पुनले समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको थियो । साथै उहाँले गाउँपालिकाले सञ्चार क्षेत्रको विकासमा बंगलाचुली गाउँपालिकाले राम्रो लगानी गरिरहेको बताउदै उहाँले तालिमबाट धेरै कुरा सिक्ने अवसर भएकाले तालिममा सहभागिहरुलाई फाइदा लिन आग्रह गर्नुभयो ।
तालिममा बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका गरि करिब ३० जनाको सहभागिता रहेको छ । रेडियो बंगलाचुलीका कार्यक्रम संयोजक भुपेन्द्र प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सहजिकरण मधुसूदन गिरीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।