• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु




सल्यान । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु भएको हो । छत्रेश्वरी गाउँपालिकामा विहिबार यस परियोजनाको जिल्ला नेतृत्वकर्ता दलित विकास समाजले परियोजनाको परिचयात्मक कार्यक्रम गर्दै शासन संरचनामा युवा तथा महिलाको सहभागिता बढाएर उनिहरुको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउने उद्देश्य सहित कार्यक्रम सुरु भएको जनाएको हो । परियोजनाका जिल्ला संयोजक उमेश खरेलले छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ तथा कपुरकोट गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना लागू भएको जानकारी दिए ।

छत्रेश्वरीको भोटेचौरमा भएको परियोजना परिचयात्मक कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगको प्रभावकारी समन्वयमा नतिजा देखिने गरी काम गर्न परियोजनालाई आग्रह गरे । उनले आफ्नो गाउँपालिकामा जनप्रतिनिधी तथा कर्मचारीले तनमनका साथ काम गरेकाले राम्रा उपलब्धी देखिदै गएको भन्दै छत्रेश्वरीको विकासका लागि यस परियोजनाले योगदान पुर्याउने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सामाजिक र आर्थिक न्यायका लागि सबै वडामा परियोजनाका कार्यक्रम लैजानुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा परियोजनाका जिल्ला संयोजक खरेल संगै क्लिन अफ नेपालका परियोजना संयोजक श्रवण बस्नेत, सोसेक नेपालका परियोजना संयोजक द्रोण जिसीले पनि प्रस्तुतीकरण गर्दै सञ्चालन हुने क्रियाकलापको बारे अवगत गराएका थिए । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशरीदेवी भट्टराई, कार्यपालिका सदस्यहरु तिला घर्ती र तुल्सा विक, वास संयोजक निमराज केसीले विभिन्न सुझाव प्रदान गरेका थिए । दलित विकास समाज सल्यानका संस्थापक अध्यक्ष निम बहादुर नेपाललीले प्राप्त सुझावलाई ग्रहण गर्दै सबै सरोकारवालासंगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने बताए ।

स्थानीय सरकार संगै दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरु क्लीन अफ नेपाल, युवालय र सोसेक नेपालको सहभागितामा परियोजना अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन हुने परियोजनाका जिल्ला संयोजक खरेलले जनाए ।

उनका अनुसार गाउँपालिकाबाट वितरण हुने सामाजिक, आर्थिक र जलवायु न्याय सम्बन्धी सेवा र स्रोतहरूमा समान पहुँचको लागि युवा, महिला र उनीहरूका समुदायमा आधारित समुहलाई संगठित गर्दै परिचालन गरिने छ । यस्तै जलवायु उत्थानशीलतामा आधारित जीविकोपार्जनका क्रियाकलापहरु कार्यान्वयन गर्न महिला र युवाहरूको क्षमता अभिवृद्धिका कार्यक्रम र आर्थिक न्याय, सामाजिक न्याय र जलबायु उत्थानशिलता सम्बन्धि स्थानिय निति निर्माणका लागि वकालत तथा पैरवी गरिने पनि बताइएको छ ।

दलित विकास समाज सल्यानका कार्यवाहक अध्यक्ष हेमराज विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजनाका छत्रेश्वरी गाउँपालिका परिचालक लिला वली परियारले गरेकी थिइन् ।

 

Facebook Comments