• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सूचना प्रविधि क्षेत्रमा निर्वाध लगानी गर्न मन्त्री शर्माको आह्वान




काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएकाले यस क्षेत्र लगानी भित्र्याउन लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।
एशिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रवधि उद्योग सञ्चालकहरुको संस्था एशिया प्यासिफिक आइसिटी अलाइन्स (एपिक्टा)का पदाधिकारीहरुसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गर्नुभएको हो ।
‘आगामी वैशाख १६ र १७ गते काठमाडौँमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । यो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने गरी तयार अगाडि बढाइएको छ र सोका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारहरु समेत भइरहेका छन्’– मन्त्री शर्माले भन्नुभयो– ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज हामी विच उपस्थित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिहरुलाई सूचना प्रविधिको क्षेत्रमा विना हिच्किचाहट लगानी भित्र्याउन र र आफ्नो संघसंस्था मार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु ।’

यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न एवं विश्वासको वातावरण निर्माण गर्न तयार रहेको जानकारी गराउँदैउ उहाँले सूचना प्रविधिको विकास, विस्तार, प्रयोग र लगानीका सम्वन्धमा विभिन्न देशका प्रतिनिधहरुको अनुभव आदानप्रदानले नेपाल सरकार र निजी क्षेत्रलाई समेत सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सूचना प्रविधियुक्त राष्ट्र निर्माण गर्ने सोचका साथ आमसञ्चार, दूरसञ्चार तथा सूचना प्रविधिमा सबै नागरिकको पहुँच तथा उच्चतम उपयोग सुनिश्चित गरी आम नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सूचना प्रविधि क्षेत्रको विषेश महत्व रहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकाससँगै नेपाल सरकारले पनि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिंदै आएको छ। फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ । हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रूपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको सञ्चालन व्यवस्थापन गरिरहेका छन् ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवोर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिंदै उहाँले डिजिटल फाउन्डेसनका डिजिटल सार्वजनिक पूर्वाधारहरुलाई सुरक्षित र अन्तक्र्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई बृद्धि गरी सुशासन र विकासमा टेवा पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोग तथा डिजिटल इकोसिष्टम निर्माणका लागि आवश्यक कानूनहरु सूचना प्रविधि तथा साइवर सूरक्षा विद्येयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्वन्धि विद्येयक निर्माणलाई तिव्रता दिइएको जानकारी दिंदै उहाँले विश्व अर्थतन्त्र नै सिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै सूचना प्रविधिमैत्री संरचना र सोही बमोजिम दक्ष जनशक्ति व्यवस्थापन गर्न सके सुशासन र आर्थिक समृद्धि हाँसिल गर्न सकिने सरकारको वुझाइ रहेको बताउनुभयो ।

प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको उल्लेख गर्दै उहाँले युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र बिना अवरोध स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
हाल देशभर दुरसंचार सेवाको पहुँच पुगेको, सबै स्थानीय तहका वडा कार्यालयसम्म ब्रोडव्याण्ड ईन्टरनेट सेवाको पहुँच पुगेको जानकारी दिंदै मन्त्री शर्माले शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रमा समेत सूचना प्रविधिको प्रयोगमा वढोत्तरी भएको स्पष्ट गर्नुभयो । नेपाल जस्तो भूपरिबेष्ठित देशले सूचना प्रविधि उद्योग मार्फत रोजगारी श्रृजनाको साथै निर्यात प्रवर्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ र विकसित गर्नसक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसका लागि देशभर गुणस्तरीय पूर्वाधार पुर्याउने, स्टार्टअपको प्रवर्धनका लागि इन्कुबेशन र एक्सलेरेसनको कार्यक्रम संचालन गर्ने, सूचना प्रविधि उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सूचना प्रविधि प्रर्दशनी गर्ने,सूचना प्रविधि उद्योगलाई एकै थलोबाट सञ्चालन गर्न आइटी पार्क, सूचना प्रविधि हब जस्ता अवधारणालाई अघि बढाउने सरकारको योजना रहेको पनि मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

Facebook Comments