• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रूकुम-पूर्वमा फलाम उत्खनन गर्न टेन्डर खुलाइँदै, फलामको मात्रा ४५ प्रतिशतमाथि




दाङ । सरकारले रूकुम-पूर्वमा फलाम खानी उत्खनन गर्न टेन्डर खुलाउने तयारी गरेको छ।

खानी तथा भूगर्भ विभागले गरेको अध्ययनबाट रूकुम-पूर्वको भूमे गाउँपालिका-३ स्थित झुम्लाबाङ क्षेत्रमा फलाम खानी भएको तथ्य खुलेपछि उत्खननको लागि प्रक्रिया अघि बढाउन थालिएको हो।

यो क्षेत्रमा ठूलो मात्रामा फलाम खानी भएको प्रारम्भिक अध्ययनका आधारमा विभागले गत वर्षदेखि ६ वर्ग किलोमिटर क्षेत्रलाई आधार बनाएर सर्भे गर्ने तथा परीक्षण गर्ने काम गरेको थियो।

विभिन्न चरणमा गरिएको अध्ययन र नमूना परीक्षणबाट खानी रहेको पुष्टि भएपछि उत्खननको लागि टेन्डर आह्वान गर्न थालिएको विभागले जनाएको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा विभागले देशकै ठूलो फलाम खानी उत्खननको लागि टेन्डर खुलाउने भएको हो।

सरकारले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा यो खानी क्षेत्र सोकेस गर्दैछ।

खानी तथा भूगर्भ विभागले उल्लेख गरिएको स्थानमा ठूलो खानी रहेको र सम्बन्धित खानीमा फलामको मात्रा तुलनात्मक रूपमा धेरै देखिएपछि थप प्रक्रिया अघि बढाउन थालेको जनाएको छ।

‘धेरै पटक फिल्ड भिजिट गरिएको छ। सर्भेसँगै नमूना परीक्षणहरू गरिएको छ। त्यो क्षेत्रमा फलामको मात्रा धेरै देखिएको छ,’ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भने, ‘ड्रिलिङ गर्ने बाहेकको अरू सबै पूर्व तयारीको काम गरिएकाले फलाम खानी सञ्चालन गर्न सकिने आधार देखियो। त्यसैले उत्खननको लागि नोटिस निकाल्न थालेका हौं।’

विभागका सिनियर डिभिजनल जियोलोजिस्ट नारायण बाँस्कोटाका अनुसार ६ वर्ग किलोमिटरलाई मात्रै आधार बनाउँदा २० करोड टन फलाम रहेको अनुमान गरिएको छ।

विभागले ड्रिलिङ नगरी (खानी क्षेत्रको माथिल्लो भागको) ११ सयभन्दा बढी नमूना संकलन गरेर परीक्षण गरिरहेको छ। यी नमूनामध्ये एक सयको परीक्षण सकिसकेको उनले जानकारी गराए। यस आधारमा फलामको मात्रा राम्रो देखिएको पुष्टि विभागले गरेको छ।

एक सय नमूना परीक्षणको क्रममा ४५ प्रतिशत औसत ‘टोटल फी’ देखिएको छ। यो भनेको सम्बन्धित क्षेत्रमा रहेको फलामे ढुंगामा रहेको फलामको मात्रा हो।

बाँस्कोटाले नेपालको परीक्षणमा ४५ प्रतिशतको टोटल फी धेरै राम्रो भएको बताए। उनका अनुसार नवलपरासीको धौवादीमा ३५/३६ प्रतिशत मात्रै टोटल फी छ।

भारतको सबभन्दा ठूलो फलाम खानी क्षेत्र झारखण्डमा ५० प्रतिशतसम्म यस्तो मात्रा छ। ३० प्रतिशत माथिको मात्रा देखियो भने खानी सञ्चालन गर्न उपयोगी मानिन्छ।

रूकुम-पूर्वको खानीको हकमा माथिल्लो भागमा नै ४५ प्रतिशतभन्दा धेरै फलामको मात्रा देखिएको कारणले बीच भागमा अझ धेरै फलामको अनुपात हुन सक्ने सम्भावना देखिन्छ।

‘ड्रिलिङ नै नगरेको अवस्थामा ४५ प्रतिशत टोटल फी देखिएको छ। लगानी सम्मेलनको क्रममा हामीले यहाँको सम्भावनाका विषयमा लगानीकर्तालाई जानकारी गराउँछौं। राम्रो सम्भावना भएकोले लगानीकर्ताले उत्खननको लागि टेन्डर हाल्ने विश्वास छ,’ बाँस्कोटाले भने।

नेपालमा धेरै ठाउँमा फलाम खानी रहेको प्रारम्भिक अनुमान रहे पनि विस्तृत अध्ययन गर्न सकेको छैन। फलामखानी खोजतलासी गर्नका लागि हालसम्म २५ वटा लाइसेन्स जारी गरिएको छ। त्यस्तै, फलामखानी उत्खननको लागि एउटा मात्रै लाइसेन्स दिइएको छ।

सरकारले २०७२ मा नवलपरासीमा धौवादी फलाम खानी पत्ता लगाएको थियो।

यो फलाम खानी उत्खनन गरी सञ्चालनमा ल्याउन २०७६ सालमा सरकारको ५५ प्रतिशत र निजी ४५ प्रतिशत सेयरमा १० अर्ब पुँजीको ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरेको थियो। १५ करोड मेट्रिक टन फलाम रहेको अनुमान गरिएको यो खानी अझै पनि उत्खनन भने हुन सकेको छैन।

नेपालले हाल कच्चा फलाम भारत लगायतका देशबाट आयात गरेर फलामजन्य सामग्री उत्पादन गरिहरेको छ। यस्तो अवस्थामा समेत नेपालबाट सबभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा फलाम तथा स्टिलजन्य सामग्री पर्छन्।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ११ अर्ब बढीको फलाम तथा स्टिलजन्य सामग्री निर्यात भएको छ।

Facebook Comments