• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारको स्थायित्वका लागि प्रणाली सुधार्नुपर्छ : नेता कोइराला




घोराही । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई विहीवार घोराहीमा सम्वोधन गर्दै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । अहिलेको मिश्रित निर्वाचन प्रणालीका पटक–पटक सरकार परिवर्तन हुने र त्यसको असर प्रत्यक्ष विकास निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीबारेमा पुनरविचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरी देखिए । कमजोरीका कारण संविधान निर्माणपछिका बर्षमा स्थायी सरकार हुन सकेन । यसको मुख्य कारण कुनै पनि दलको बहुमत आउन नसक्नु हो ।’

कांग्रेस र नेकपा (एमाले) दुई ठुला राजनीतिक दलकाबिच सहमति कायम गरी समानुपातिक प्रतिनिधित्व कायम हुनेगरी निर्वाचन प्रणाली बारेमा ठोस कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने हुँदा विकासमा अस्थिरता हुने बताउनुभयो । कोइरालाले भन्नुभयो, ‘सरकारमा देखिएको अस्थिरतालाई न्यूनीकरण गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ ।’

नेता कोइरालाले राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दीको डरलाग्दो अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको मुख्य कारण एकै व्यक्ति तथा समूहले आर्थिक जालो फिजाएका छन् । त्यही व्यक्ति उद्योगी, त्यही व्यक्ति बैंकर्स, त्यही व्यक्ति सहकारी, लघुवित्तमा छन् ।’

नेता कोइरालाले सहकारी गठीका विषयमा संसदीय छानविन समिति गठन नगर्दासम्म संसद चल्न नसक्ने बताउनुभयो । जनताले सहकारीमा बचत गरेको रकम हिनामिना गर्ने जोकोहीलाई कारवाही हुनुपर्ने बताउनुभयो ।

Facebook Comments