• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीबासीका सकस, वडाको सिफारिस लेखाउन घोराही !




देवेन्द्र बस्नेत
दाङ । सिफारिस लेखनका लागि घोराही झर्दा दुई सय रुपैयाँ बस भाडा, फर्किँदा फेरि दुई सय रुपैयाँ, भनेको समयमा बस पाईँदैन । बस सीमित मात्रामा कुद्छन् । समय घर्कियो भने बस छुटिहाल्छ अनि सिफारिस लेखनका लागि अर्को दिन कुर्नु पर्छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष डासबहादुर डाँगीले आफ्नो वडाबाट स्थानीयले दिनहुँ भोगिरहनु परेको यो समस्या निरिह बनेर हेरिरहन्छन् तर के गर्नु अङ्ग्रेजी माध्यमबाट सिफारिस लेखेर सेवा दिने दक्ष जनशक्ति नै वडा कार्यालयमा छैनन् अनि सिफारिस लेखनका लागि एकतर्फी दुई सय रुपैयाँ भाडा तिरेर झरिने घोराही बजारका साइबरमा पुग्न वडाबासीलाई बाध्य पारिनु पर्छ । उनी भन्छन्, ‘वडाबाट अङ्ग्रेजी माध्यमको सिफारिस लेखेर दिन सक्ने दक्ष जनशक्ति भएन अनि सिफारिस लेख्नका लागि स्थानीय घोराही झर्नु परिरहेको छ, नागरिकको यो समस्या हेरेर बस्नु बाहेक केही गर्न सकिने अवस्था छैन ।’

वडाबाटै अङ्ग्रेजी माध्यमको सिफारिस लेखेर दिने विषयमा वडाध्यक्ष डाँगीले वडाका सचिव सहितका कर्मचारीसँग पनि सल्लाह गरे तर उनीहरूले अङ्ग्रेजी सिफारिस लेखनका लागि हिम्मत गर्न सक्दैनन् । ‘सामान्य केही त्रुटि भयो भने झनै समस्या हुन्छ भनेर कर्मचारी साथीहरू भन्नुहुन्छ’, वडाध्यक्ष डाँगीले भने, ‘त्यसैले साइबरमै पुगेर सिफारिस लेख्न लगाउनु पर्ने बाध्यता बनेको छ ।’ अङ्ग्रेजी माध्यमको सिफारिस लेखनका लागि घोराही बजारका साइबरमा झर्नु पर्ने बाध्यतामा रहेका वडाबासीले स्थानीय सरकारबाटै अनावश्यक झन्झट बेहोर्नु परिरहेको बताउँछन् ।

वडाबासीले सिफारिस दस्तुर वडामा तिरे पनि उक्त सिफारिस वडाबाट नागरिकले पाउन नसक्नु बिडम्बना रहेको उनी बताउँछन् । ‘वडाले सिफारिस दस्तुर लिइसकेको हुन्छ तर सिफारिस दिन सकिँदैन’, वडाध्यक्ष डाँगीले भने, ‘सिफारिस लेख्नकै लागि महँगो बस भाडा तिरेर घोराही झर्नु पर्छ अनि फेरि छुट्टै शुल्क तिरेरै सिफारिस लेख्न लगाउनु पर्ने बाध्यता नागरिकलाई छ ।’यो समस्या समाधानका लागि वडाध्यक्ष डाँगीले पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई भनसुन समेत गरे । ‘मैले पालिकाका हाकिमसँग पनि यो विषयमा सरसल्लाह गरेको छु’, उनले भने, ‘उहाँ (प्रमुख प्रशासकीय अधिकृत) ले पनि दक्ष जनशक्ति नहुँदा यो समस्या भएको हो भनेर भन्नु भयो ।’

जिल्लाको पहाडी भेगमा रहेको बंगलाचुली गाउँपालिकाका वडामा अङ्ग्रेजी माध्यमको सिफारिस लेखन नहुँदा स्थानीयलाई सिफारिस लेख्नकै लागि घोराही झर्नु पर्छ । घोराहीका साइबरमार्फत् सिफारिस तयार पारेर फेरि यसको प्रमाणीकरणका लागि वडामै पुग्नु पर्ने कष्ट यो पालिकाका नागरिकले व्यहोर्दै आएका छन् । नागरिकले पाउनु परिरहेको यो सास्तीको अर्का साक्षी वडाध्यक्ष हुन् वडा नम्बर २ का मैते पुन । यो वडाबाट अङ्ग्रेजी माध्यमको सिफारिस लेखनका लागि स्थानीय एक सय ३० रुपैयाँ भाडा तिरेर घोराही झर्नु पर्छ अनि फर्कने बेला फेरि एक सय ३० रुपैयाँ भाडा । दिनमा दुई वटा बस मात्रै चल्छन्, यहाँ । यी दुई बस छुट्ने समय ट¥यो भने झन महँगो भाडामा स्थानीय पर्छन् । त्यसपछि उनीहरूका लागि अन्तिम विकल्प भनेको अटो रिक्सा नै हो ।

‘अङ्ग्रेजी माध्यमबाट वडाले सिफारिस दिन नसक्दा स्थानीयलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ’, वडाध्यक्ष पुनले भने, ‘आर्थिकसँगै समयको समेत खर्च भइरहेको छ ।’ उनको यो वडामा पनि अङ्ग्रेजी सिफारिस लेखनका लागि दक्ष जनशक्ति छैनन् । नेपाली सिफारिस मात्रै वडाबाट उपलब्ध गराउने यो वडाले अङ्ग्रेजी माध्यमका जुनसुकै सिफारिस लेखनका लागि घोराहीका साइबरमा सिफारिस गर्नु पर्ने बाध्यता छ । ‘नेपाली माध्यमका सिफारिस मात्र हामीले वडाबाट दिइरहेका छौँ’, वडाध्यक्ष पुनले भने, ‘अङ्ग्रेजी माध्यमबाट लेखिनु पर्ने अरू सबै सिफारिस त साइबरबाटै लेखाउनु पर्ने बाध्यता छ ।’ बंगलाचुली गाउँपालिकाका वडामा साइबर सेन्टर छैनन् । फलतः अङ्ग्रेजी सिफारिस लेखनका लागि वडाले घोराही झर्न स्थानीयलाई सल्लाह दिने गर्दछन् ।

यो पालिकाका केही वडाले भने सामान्य खालका सिफारिस आफै लेखिदिने गरेका छन् तर विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि चाहिने सिफारिस लेखनका लागि भने साइबरमै सिफारिस गर्छन् । ‘सामान्य खालका सिफारिस त वडाबाटै लेख्ने गरिन्छ’, यो पालिकाका वडा नम्बर १ का वडा सचिव टोपेन्द्र वली भन्छन्, ‘अलि क्रिटिकल डकुमेन्ट भने सानो गल्तीले समस्या होला भनेर हामीले घोराही १५ स्थित साइबरमा लेखनका लागि पठाउने गरेका छौँ ।’यता पालिकाले पनि वडाबाट पाउनु पर्ने अङ्ग्रेजी सिफारिस लिनका लागि नागरिकलाई सास्ती हुने गरेको स्वीकार्छ । वडा तहमा दक्ष जनशक्ति नहुँदा यो खालको समस्या हुने गरेको भन्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले वडाध्यक्षबाट नागरिकले सास्ती व्यहोर्नु परेको गुनासो आएको बताए ।

‘अधिकांश वडामा अङ्ग्रेजी माध्यमको सिफारिस लेखनको समस्या छ, यसको कारण दक्ष जनशक्ति नभएर हो’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘वडाध्यक्षबाट पनि यो खालको कुरा आएको छ, यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा योजना बनाउनु पर्ने आवश्यक छ ।’ उनले वडाका सचिवलाई विज्ञबाट प्रशिक्षण दिएर वडाबाटै सिफारिस दिने वातावरण निर्माण गरिने बताए । वडा कार्यालयले प्रदान गर्ने सिफारिसको दस्तुर नागरिकले तिर्दै आएका छन् तर दस्तुर तिरेर पनि वडाबाट सिफारिस नपाउने स्थानीयले सिफारिस लेखनका लागि तीन सयदेखि पाँच सय रुपैयाँसम्म साइबरमा तिर्दै आइरहेका छन् । सिफारिसको प्रकृति हेरेर सिफारिस लेखिदिएको मात्रै तीनदेखि पाँच सय रुपैयाँसम्म साइवरले लिने गरेका छन् ।

 

Facebook Comments