• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानले पाएन स्वास्थ्य बिमाको साढे १० करोड भुक्तानी




 दाङ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा वापतको १० करोड ५० लाख रूपैयाँ भुक्तानी अझै पाउन सकेको छैन् । स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई बिमा वापतको उक्त रकम भुक्तानी नगर्दा सेवा बन्द हुने अवस्थामा आएको छ  । प्रतिष्ठानमा अहिले दैनिक सात सयदेखि आठ सय जना बिरामीहरुको उपचार भइरहेको भएपनि सेवा ठप्प हुने अवस्था आएको हो । एमबीबीएस लगायतको तयारी भइरहेको प्रतिष्ठानमा आर्थिक अभाव झेल्नुपरेको हो ।

प्रतिष्ठानले भौतिक निर्माणका लागि ४ अर्ब ५० करोड सहमति अर्थ मन्त्रालयले रोकेकोमा समेत आपत्ति जनाएको छ । प्रतिष्ठानको सेवा बिस्तार र नयाँ शिक्षाका लागि सहमति प्रदान गर्न अनुरोध गरेका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बीमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ ।

स्वास्थ्य बीमा बोर्डले १० करोड ५० लाख रूपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको प्रतिष्ठानको भनाइ छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

प्रतिष्ठानमा बिमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा आर्थिक संकट बढ्दै गएको छ । अब आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम छैन, उपकुलपति डा. विकास लामिछाने भन्छन् । उनले भने,‘अब सर्वपक्षीय बैठक बोलाएर बिमाको उपचार रोक्ने मनस्थितीमा पुगका छौं ।

बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन भैरहेको लामिछानेले बताए । ‘३० प्रतिशत बिरामी बिमाका छन् । दैनिक ७ सय बिरामीले सेवा लिने गरेकोमा २ सय बढी बिमा अन्तरगतका हुन्छन्,’ उनले भने,‘बिमाबाट अप्रेशन, आइसियूलगायत धेरै खर्च हुने उपचार समेत भएका छन् । लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसक्यो ।’

आर्थिक अभावकै कारण औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेको उनले बताए । जसका कारण सप्लायर्सहरूले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उनले बताए । ‘मृगौलाको डायलाइसिस जस्ता सामान आपूर्ति बन्द भए के गर्ने ?,’ उनले भने,‘सामान पाइएन भने कसरी गर्ने ? बिरामीको ज्यान जान सक्छ ।’

बिमा बोर्डलाई प्रतिष्ठानको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएको लामिछानेले बताए । उनले भने, ‘बीमाको भुक्तानी बन्द हुँदा आपूर्तिकर्तालाई प्रतिष्ठानले सामाग्री बाफतको रकम दिन सकेको छैन् । जसले अस्पताललाई दैनिक चाहिने सामाग्री अभाव हुने अवस्था आएको छ ।’ रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङले संघमा आबद्ध व्यवसायिक संस्थाहरूले औषधि, ल्याब केमिकल, एक्सरेलगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ती गरेको रकम लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै फागुन १३ गते प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

Facebook Comments