• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा एसइई परीक्षाको तयारी पूरा, १२ हजार ८ सय ९८ जना विद्यार्थी सहभागी हुँदै




घोराही । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी दाङमा पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि  चौधरीले दाङमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको सिस्ने अनलाइनलाई बताए । जिल्लाका १० वटै पालिकाका २ सय ४२ वटा  विद्यालयबाट १२ हजार ८ सय ९८ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुने  उनले  जानकारी दिए ।

इकाइ प्रमुख चौधरीका अनुसार गतवर्षको तुलनामा यस वर्ष दाङमा  परिक्षार्थीको संख्या घटेको छ । गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा दिने विद्यार्थी संख्या ५ सय ५४ जनाले घटेको हो ।

सामुदायिक, खुला र संस्थागत गरी २ सय ४२ वटा विद्यालयबाट नियमिततर्फ १२ हजार २ सय २८ जना, प्राविधिक धारतर्फ ३ सय २३ जना र ग्रेट वृद्धितर्फ ३ सय ४७ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुने कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लामा यो वर्ष ४ जना छात्र र २ जना छात्रा गरी ६ जना दृष्टिविहिन विद्यार्थी परीक्षा सहभागी हुँदैछन् । उनीहरूले सम्बन्धित विद्यालयको  सिफारिसमा कक्षा ८ पास गरी ९ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोगी राख्न पाउने छन् ।

परीक्षाका लागि ४७ वटा परीक्षा केन्द्र तोकिएको र सबभन्दा बढी घोराही र तुलसीपुरमा परीक्षा केन्द्र रहेको इकाइ प्रमुख चौधरीको भनाइ छ । जसमा घोराही र तुलसीपुरमा १४/१४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै  लमहीमा ५ , राप्ती र गढवामा ३/३, शान्तिनगर, बबई र दंगीशरणमा २/२,  बंगलाचुली र राजपुरमा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि सुरक्षाकर्मी बाहेक १ हजार एक सय ६५ जना जनशक्ति परिचालन गरिने भएको छ । परीक्षामा ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ५१ जना निरीक्षक, एक सय २८ जना सहायक कर्मचारी, २ सय ५५ जना सहयोगी कर्मचारी परिचालन गरिने प्रमुख चौधरीले जानकारी दिए । परीक्षा केन्द्रमा विद्यार्थीको सङ्ख्याको आधारमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन हुने समेत उनको भनाइ छ ।

परीक्षार्थीका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने अन्य परीक्षा सामग्रीहरु सम्बन्धित निकायमा पुगिसकेको कार्यालयले जनाएको हो । चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षा २७ गतेसम्म चल्नेछ ।

Facebook Comments