घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको दोस्रो आवधिक योजनाको समीक्षात्मक बैठक सम्पन्न भएको छ । पार्टीले आइतबार घोराही – १६ मा रहेको सी कृषि फर्ममा समीक्षात्मक बैठक सम्पन्न गरेको हो ।
बैठकले समाजवादी मोर्चाका लागि बंगलाचुलीमा पहल गर्ने र घोराहीका बाँकी वडाहहरुमा मोर्चा गठनका लागि पहल गर्ने, एरिया र वडा कमिटीको बैठक सम्बन्धित एरिया इञ्चार्जले गर्ने, जनबर्गीय संगठनको बैठक सम्बन्धित जवसका जिम्मेवार अध्यक्षसँग समन्वय गरी तयारी गर्ने र शौचालय निर्माण कार्य अगाडि बढाउने लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
पार्टीका इञ्चार्ज सविनले बैठकको समीक्षालाई बाली स्याहार गरेको अर्थमा बुझ्नुपर्ने भन्दै समीक्षाको सकारात्मक निष्कर्ष निकाल्न सकिएन भने आफूहरू गोञ्जालोमा फस्ने खतरा हुने बताए । उनले राजनीति नेताकार्यकर्ताले समाजलाई विश्वास दिलाउन सकेन् भने त्यसले समाजको नेतृत्व गर्न नसक्ने बताउँदै कम्युनिस्ट पार्टीका सचेत कार्यकर्ताले आफू विश्वस्त भएर समाजमा विश्वास जागृत गराउनुपर्नेमा जोड दिए । पार्टीको राजनीति प्रभाव निकै माथि भएको हुँदा नेताकार्यकर्ताहरु संगठन निर्माण तथा विस्तारलाई गुणात्मक रुपमा अगाडि बढाउनुपर्ने नेता सविनको भनाइ छ । नेपालमा यो संसदीय प्रणालीले आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक हस्तक्षेपलगायतका कुनैपनि समस्याको भार थेग्न नसकेको हुँदा अब नयाँ प्रणाली चाहिँएको र त्यो भनेको समाजवादी प्रणाली भएको भन्दै इञ्चार्ज सविनले समाजवादका लागि समावादी मोर्चा नेपाल गठन भएको उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सम्झना सीले सामूहिक उत्पादनले जुन रुपमा राष्ट्रियस्तरमा चर्चा/परिचर्चा भइरहेको र त्यसको परिणाम पनि संतोषजनक नै भएको बताइन् । उनले पार्टीको नीति र विधिलाई आत्माबोध गर्दै कार्यक्षेत्रमा अगाडि बढेमा सफलता सहजै रुपामा पाउँन सकिने कुरामा जोड दिँदै पार्टी राजनीतिक हिसाबले माथि भएको हुँदा संगठन विस्तारलाई जनस्तरसम्म पुर्याउनुपर्ने समेत बताइन् । नेपाली विशेषता समाजवाद निर्माण गर्नका लागि समाजवादी मोर्चा गठन भएको र मोर्चालाई थप व्यवस्थित बनाउन नेताकार्यकर्ताहरुले वडादेखि टोलसम्म मोर्चा गठनको पहल लिनुपर्ने नेता सम्झनाको भनाइ छ ।
पार्टीका जिल्ला सेक्रेटरी जनक सीले पार्टीको सामूहिक उत्पादनले जिल्लादेखि राष्ट्रियस्तरमै चर्चा कमाइरहेको र यो उत्पादन उत्पादनमात्र नभएर राजनीतिसँग जोडिएको बताए । उनले जिल्लामा समाजवादी मोर्चाको कार्यालय प्रभावकारी बन्दै गएको भन्दै वडा र गाउँस्तरमा मोर्चा बनाउनका लागि अग्रगामी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । पार्टीले लिएको राजनीतिक कार्यक्रम र पार्टीको विचारलाई नेताकार्यकर्ताले जनस्तरमा लग्नुपर्ने र आ-आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ ।
बैठकमा अखिल समाजवादीको २३ औं राष्ट्रिय सम्मेलनमा पूर्वी दाङबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका खुमन सी, मनोज सी, दीपक सी र खुम सीलाई स्वागत गर्दै बधाई तथा सफलताको कामना व्यक्त गरेको थियो ।
पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता तथा पार्टी पूर्वी दाङकी इञ्चार्ज सम्झना सीको विशेष उपस्थितिमा बैठकमा जिल्लाका एरिया इञ्चार्ज तथा सदस्यहरुले राजनीति कार्यक्रम, समाजवादी मोर्चा, उत्पादनलगायतका विषयमा आ-आफ्नो रिपोर्ट राखेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।