पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताउनुभएको हो ।
व्यावसायिक उडानका लागि सम्बद्ध पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।”
उहाँले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताउनुभयो । “पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आन्तरिक पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबिच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।”
लक्ष्यअनुसार पर्यटक भित्र्याउन खेल्नुपर्ने विशिष्ट भूमिका पूर्ण निष्ठा र इमानदारीसाथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपिल गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।