• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी आन्दोलनको महत्त्व र आवश्यकता




धनु सी

स्कूल विद्यालयको औपचारिक अध्ययन पूरा गरेर क्याम्पस र विश्वविद्यालय प्रवेश गर्दा साधरणतया मानिस लगभग १६/१७ वर्षदेखि २८/२९ वर्षको उमेर समूहमा हुने गर्छन् ।

यो उमेर समूह भनेको जीवनको उत्पादनशील र सृजनशील कार्यमा समय बिताउने, राजनीतिक विचारहरूलगायत अन्य समसामयिक विषयमाथि विचार विमर्श छलफल गर्ने, सही र गलत कुरामाथि तर्क वितर्क गर्ने तथा खोज अध्ययन अनुसन्धानमा चिन्ता र चासो नराखेर के कोरा कलेजको किताबमात्र पढ्ने हो त ?

नेपालको संविधानमा १८ वर्ष उमेर योग्यता पूरा भएको नागरिकमा बालिग मतदानको अधिकार हुन्छ भने उसले राजनीतिक विचार राख्न पाउने कि नपाउने ?

हालसालै शिक्षा  मन्त्री . सुमना श्रेष्ठ ज्यु ले विद्यार्थीले आज  राजनीति गर्न नपाउने भन्नुभयो भोलि व्यवसाय गर्न नपाउने भन्नु होला पर्सि मतदान गर्न नपाउने भन्नुहोला अर्को दिन सार्वजनिक विषयमा बोल्न नपाउने भन्नुहोला । के अब युवा विद्यार्थीले बोल्न पनि नपाउने दिन आउने हुन् त ?
अध्ययन सकेर आफ्नो पेशा व्यवसाय गर्न थालेका व्यक्तिहरूभन्दा खोज अध्ययन गर्ने र पढ्दै गर्ने व्यक्तिहरू बढी निर्णायक भूमिकामा पुग्ने गरेको पाउँछौं । इतिहासमा विश्वका ठूला परिवर्तनहरूको प्रमुख भूमिका विद्यार्थी र युवाहरूको देख्न र भेट्न सकिन्छ ।

यता हाम्रो जस्तो अल्पविकसित र भ्रष्टाचारले जकडिएको राष्ट्रहरूमा विद्यार्थी आन्दोलनले तत्कालै विश्राम पाउने कल्पना पनि गर्न सकिदैन अतः समस्या समाधान युवा विद्यार्थीबाटै सम्भव छ । त्यसैले विद्यार्थी र युवालाई वर्तमानका साझेदार र भविष्यका कर्णधार भन्ने गरिन्छ ।
इतिहासमा विद्यार्थीहरूले ठूला आन्दोलनको नेतृत्व गरेका छन् । उत्पीडन र अन्यायलाई संगठित भएर परास्त गर्न सक्षम हुन्छन् । विश्वका ठूला विद्यार्थी आन्दोलनका केही उदाहरण हरूलाई यहाँ उल्लेख गर्न सकिन्छन् ।

१. फिक्स विश्वविद्यालयको विरोध सन् १९२५ मा विद्यार्थीका गतिविधिमाथि प्रतिबन्ध गर्नेका विरूद्व, अखबार बन्दको विरूद्वमा तथा महिला पुरूष विद्यार्थीहरूबीच अन्तरक्रिया संवादमाथि लगाइएको प्रतिबन्धविरूद्वमा गरिएको विरोध सफल भएको थियो ।

२. सेतो गुलाफ सन् १९४२–१९४३ मा जर्मनमा शान्तिपूर्ण तरिकाले ‘डाउन विथ हिट्लर’, ‘Feiheid’ जस्ता शब्द भित्तामा लेखेर आन्दोलन सफल गरिएको थियो ।

३. ग्रिन्सबोरोसिट– सन् १९६० मा संयुक्त राज्य अमेरिकामा नागरिकको अधिकार प्राप्तिका लागि करिब ३००० विद्यार्थीको उपस्थितिमा आन्दोलन सफल भएको थियो ।

४. केन्ट स्टेट युनिभर्सिटी गोलीबारी सन् १९७० को घटनामा भियतनाम युद्धको विरूद्व विरोध प्रदशर्नमा विद्यार्थीहरूकै नेतृत्व थियो । विरोधलाई निस्तेज बनाउन स्कुल क्याम्पस बन्द गरियो जसको विरोधमा करिब ४ लाखमाथिको जनसहभागिताको आन्दोलन निर्णायक बन्न पुग्यो ।

५. सोवेटो विद्रोह सन् १९७६ मा दक्षिण अफ्रिकामा रंगभेद प्रणालीको कारण असमान शिक्षाको विरूद्वमा ३ हजारदेखि १० हजार विद्यार्थीको सहभागितामा मार्च पास गर्दैगर्दा सशस्त्र प्रहरीको आक्रमणमा परी करिब ७०० जनाको ज्यान जाने घटना घट्यो तर पनि आन्दोलन रोकिएन फलस्वरूप जुन १६ लाई आज पनि दक्षिण अफ्रिकामा राष्ट्रिय युवा दिवस मनाइन्छ जो एक विद्यार्थी आन्दोलनको उपलब्धि हो ।

६. सन् १९८९ मा तियानमेन स्क्वायरको घटनाले उच्च मुद्रास्फीति र भ्रष्टाचारले चिनियाँ सरकारमा आँच आउन थालेको अवस्थाका कारण विद्यार्थीहरूले राजनीतिक र आर्थिक सुधारको लागि एकजुट भएर अभियान चलाएका थिए ।

७. ग्लोबल क्लाइमेन्ट स्ट्राइक्स नामक आन्दोलन सन् २०१८ मा स्वीडेनको संसद बाहिर एक विद्यार्थी ग्रेटा थनवर्गद्वारा ‘जलवायुको लागि विद्यालय हड्ताल’ लेखिएको साङ्केतिक विरोधमा विश्वका १६३ देशहरू सहभागी भएको आन्दोलनलाई प्रतिनिधिमुलक रूपमा लिन सकिन् ।

८.अमेरिकी विद्यार्थीले इन्डो चाइनावार भियतनाम युद्ध रोक्नु पर्छ भनि गरेको अमेरिकि रास्ट्रपति लन्डन बी जोन्सनले राजीनामा दिनु परेको थियो ।

९.जापानको ओकीनावा टापुबाट अमेरिकी सेना नहटाएकोमा ३६ औं  प्रधानमन्त्री किसोनोबुसेकले  सन १९६० मा विद्यार्थीकै दबावमा राजीनामा दिएका थिए ।

१०.सन १९६८ मा फ्रान्सको अस्थिर राजनीतिको फाइदा उठाउदै दोस्रो पटक राष्ट्रपति बनेका चार्ल्स डेगाल्लाड लाई उनको निरंकुशता को विरुद्धको विद्यार्थी आन्दोलनले सत्ता च्युत  गरेको थियो ।

११.सन १९४५ मा चीनिया विद्यार्थीले माओको जनवादी क्रान्तिको समर्थनमा चिनका सबै कलेज क्याम्पस  विद्यालय विश्वविद्यालयमा ताला लगाएर क्रान्तिमा होमिएका थिए ।
१२.भारत छोड आन्दोलनमा भारतका लाखौं विद्यार्थीहरु सुवासचन्द्र बोसको आजाद हिन्दू फौज र महान गान्धीको अहिंसात्मक आन्दोलनमा सहभागी थिए ।

१३.सन १९८४ मा भारतको आसममा विद्यार्थीले केन्द्रिय सरकार संग ४ वटा मागहरु राखी आन्दोलन गरेका थिए । डेढ बर्ष मै ३२ बर्षिय  विद्यार्थी नेता  प्रफुलन महत ओसोमा राज्यको मुख्यमन्त्री बन्दै सरकार बन्यो ।

१४.सन १९६६ देखि १९९८ सालसम्म लगातार ३२ बर्ष शासन सत्तामा रहेका इन्डोनेसियाका रास्ट्रपति सहर्मोलाई ३१ अर्ब डलर भ्रष्टाचार गरेको आरोपमा त्यहाँको विद्यार्थी आन्दोलनले सत्ताच्युत गरेको थियो ।

१५.फिलिपिन्सका राष्ट्रपति फर्डिनान इ मार्कोमा को २१ बर्षे शासन सत्ता स्वीस बैंकमा राखेका अर्वौ डलर फिर्ता गर्ने बयान बनाउदै सन १९८६ मा विद्यार्थी आन्दोलनले सत्ताच्युत गराएको थियो ।

१६.नेपालमै पनि विद्यार्थी आन्दोलनकै कारण २०३६ सालमा जनमतसंग्रह गर्नु परेको थियो ।

यी त भए विश्वमा विद्यार्थीहरूले सामूहिक रूपमा गरेका परिवर्तनका आवाजहरू । यस्ता परिवर्तनको नेतृत्व कर्ता विद्यार्थी नेता अन्ततोगत्व राष्ट्रिय राजनीतिमा पनि आउने र सफलता प्राप्त गरेको उदाहरण प्रशस्त पाउन सकिन्छ ।

विश्वभरी विद्यार्थी जीवनमा राजनीतिक रूपमा संगठित हुँदै राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख पदमा पुग्न सफल केही शीर्ष व्याक्तित्वको चर्चा गर्न सकिन्छ ।

१. जवारलाल नेहरू : भारत स्वतन्त्र भएपछिको पहिलो प्रधानमन्त्री बनेका नेहरूको राजनीतिक इतिहास हेर्दा विद्यार्थी राजनीतिबाटै प्रेरित भएको देख्न सकिन्छ ।

२. सि. जिनपिङ्ग : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि. जिनपिङ्ग सन् १९६९ मा शान्सि प्रान्तको ग्रामीण ईलाका तथा बेईजिङ्गको सिङ्घुआ विश्वविद्यालयमा अध्ययन सँगसँगै सामाजिक कामहरू गर्दै गर्दा राजनीतिक जिम्मेवारीमा जोडिसकेका थिए ।

३. सान्ना मारिन् : टेम्पेरे विश्वविद्यालयबाट स्नातक गरेसँगै सोशल डेमोक्रेटिक युथमा सामेल भएकी उनी ३४ वर्षको उमेरमा सन् २०१९ मा फिनल्याण्डको इतिहासमै सबैभन्दा कान्छी प्रधानमन्त्री बनिन् ।

यता नेपाली राजनीतिका शीर्ष नेताहरू बीपी कोइराला र पुष्पलाल श्रेष्ठहरू अध्ययनकै क्रममा राजनीतिमा पूर्ण सक्रिय भइसेकेका थिए । त्यस्तै, विद्यादेवी भण्डारी अध्ययन सिलसिलामा स्ववियु र अनेरास्ववियुमा संगठित हुँदै नेपालको दुई कार्यकाल राष्ट्रपति पद समहाली सकेकी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संगठनको संस्थापन सदस्य बन्दै २०२८ सालमा केन्द्रीय सभापति निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट सुरू भएको राष्ट्रिय राजनीतिमार्फत ५ पटक प्रधानमन्त्री बन्दै देशकै कार्यकारी प्रमुख हुन सफल भए ।

त्यसैगरी, बाबुराम भट्टराई भारतको चण्डिगढबाट वास्तुकलामा स्नातक अध्ययनको सिलसिलामा अखिल भारतीय नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष बने । अध्ययन सकेसँगै नेपाल फर्केपछि पनि निरन्तर राजनीतिमा होमिएका भट्टराई नेपालको ३९ औं प्रधानमन्त्री चुनिन सफल भए ।

एकीकृत जनक्रान्तिका नायक नेकपाका महासचिव विप्लव सी पनि विद्यार्थी राजनीतिबाटै आए । नेपालमा विद्यार्थी आन्दोलनद्वारा सफल पारेका केही महत्वपूर्ण राजनीति घटनाक्रमलाई एकपटक सम्झौ ।

२०२८ सालदेखि झापामा भएको किसान विद्रोह, २०३८ सालको महंगी विरोधी आन्दोलन, २०४० सालको पिस्करमा भएको गोलीकाण्ड विरूद्वको प्रर्दशन, २०४१ सालमा शिक्षक संर्घषमा सहभागी, २०४५ सालको भूकम्पमा पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तदारूकता, २०५० सालको मदन-जिवराजको रहस्यमय हत्याको छानबिन गराउन गरेको आन्दोलन, २०५८ सालको र २०६१ मा जारी शाही घोषणा र राजतन्त्र विरूद्वको निर्णायक संर्घष २०६२/०६३ को जनआन्दोलनको अग्रमोर्चामा विद्यार्थीहरू देखिएपछि मात्र आन्दोलन निर्णायक बन्न पुगेको भन्दा अत्युक्ति नहोला । अतः राजनैतिक परिवर्तनको प्रमुख भूमिका विद्यार्थीहरूको नै रहेको छ ।

यसैगरी, राष्ट्र र अन्तर्राष्ट्रिय असमान सन्धि सम्झौताको विरूद्वमा आवाज उठाउने सडक आन्दोलन गर्ने, समाजमा घटेका विभिन्न किसिमका घटनामा अन्यायमा परेका आवाजविहीनहरूको आवाज बन्ने, महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, पेट्रोलियम पदार्थको मूल्यवृद्वि स्कुल कलेजहरूले मनोमानी ढंगले बढाइएका शुल्कको विषयमा सडक आन्दोलन गर्दै आएको छ ।

आवश्यक ठाउँमा पाटी, पौवा, पुलपुलेसा, चौतारो, पुस्तकालय, वाचनालय निर्माण गर्ने, विपत्तिका बेला सहयोग गर्ने, स्वास्थ्य शिविर, साक्षरता शिविर संचालन गर्ने विद्यार्थीहरूमा हाजिरीजवाफ, वादविवाद, कथा, कविता, निबन्ध लेखन प्रतियोगिता राखेर बौद्धिक विकास गर्नेदेखि भलिबल बास्केटबल रिले दौड जस्ता खेलकुद प्रतियोगितासम्ममा विद्यार्थीको अग्रणी भूमिका देखिन्छ ।

त्यस्तै, नवमण्डले, गुण्डागर्दी, नाकाबन्दीका विरूद्धमा उठाइएका आवाज र आन्दोलन सफल भएका कार्यक्रम र घटनाले विद्यार्थी आन्दोलन, राष्ट्र, जनता, आमजनसमुदाय र न्यायप्रेमी विद्यार्थीहरू प्रति समर्पित रहँदै आएको छ । हिजोआज विद्यार्थी संगठनको आवश्यकतामाथि प्रश्न चिन्ह उठ्न थालेको छ । विद्यार्थी राजनीतिबाटै राष्ट्रिय राजनीतिमा छवि बनाई स्थापित भएका नेताहरूले समेत विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठाइरहेको पाइन्छ ।

अझ भ्रष्टाचारको कारण देखाएर विश्वविद्यालयमा राजनीतिक दलका झोला बोकेर पस्नु हो त्यसकारण बन्द गर्नुपर्छ भन्न खोजिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने विद्यार्थी संगठनहरूलाई राजनीतिक दलहरूका भगिनि संगठनको रूपमा निर्माण गरेर अगाडि बढाइएको कुरा सर्वविविदै छ ।

तर के विद्यार्थी संगठन अथवा हाम्रो शैक्षिक क्षेत्र भित्रका भ्रातृ संगठनहरू भ्रष्टाचार गर्न खोलिएका हुन् त ? के कारण भ्रातृ संगठनहरू औचित्यहीन बन्न पुगे ? तपाईंहरू आफू त्यही भ्रातृ संगठनमा हुनुहुन्थ्यो अब हामीले तपाईंलाइ पनि गलत प्रवृत्ती उदाएका नेता भनेर गलत मूल्यांकन गर्ने कि तपाईंहरूले आफूबाहेक अर्को पुस्तालाई नेता मान्न सक्नु हुँदैन भन्ने बुझ्ने ?

के विद्यार्थी संगठनका गतिविधिले मात्र हो त भ्रष्टाचार मौलाएको ? के विद्यार्थी संगठनहरूका आफ्नो स्पष्ट छुट्टै सिद्वान्त, नीतिनियम र कार्यदिशाहरू छैनन् त ? के साँच्चै विद्यार्थी संगठन खारेज गरे भ्रष्टचारको जालो बडारिन्छ त ? कि तपाईंले आफ्ना भ्रातृ संगठनका गतिविधिलाई नियन्त्रण गर्न नसकेको कारण खारेज गरौं भन्नु भएको त होइन ?

यस परिवेशमा हाम्रा क्याम्पस र विश्वविद्यालयहरूमा विद्यार्थी संगठनको औचित्य समाप्त भएको हो त ? आजको लोकतान्त्रिक गणतन्त्रवादी देशमा मन्त्री सुमना श्रेष्ठलाई कुनै दलको संगठन खारेज गराउने अधिकार छ त ? आखिर विद्यार्थी संगठनहरूले क्याम्पस र विश्वविद्यालय मा के कस्तो भूमिका प्रस्तुत गर्दै थिए  र खारेज गर्ने ?

के विद्यार्थी संगठनले आगामी दिनमा केही पनि परिवर्तनका आवाज बुलन्द गर्न सक्दैनन् त ?के विद्यार्थी संगठनका भावी लक्ष्य र कार्यदिशाहरू पूरा भइसके वा अब केही पनि गर्नु पर्दैन त ?

हाल विकसित मानिने मुलुकहरू अमेरिका युरोप तथा एसियाका धनी देशहरूमा आज भन्दा डेड दुईसय वर्ष पहिला विश्वविद्यालयमा अध्ययन गर्ने समूहले नै विद्रोह र आन्दोलन गरेर मात्र समाज रूपान्तरणको एक फड्को मारिसकेको देख्न र बुझ्न सकिन्छ यता दक्षिण एसियाका अति कम विकसित र अल्पविकसित राष्ट्र हरूमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनलाई अझै पनि निरन्तरता दिइरहेको पाइन्छ ।

यसको आवश्यकता पनि प्रशस्तै देख्न सकिन्छ । हिजो आज विद्यार्थी संगठन र राजनैतिक दलका भ्रातृ संगठनको आडमा क्याम्पस र विश्वविद्यालयमा गैरजिम्मेवार पूर्ण घटनाहरू घटाउन थालिएको कुरा चै सत्य हो । तर, औंलामा समस्या आयो हातै काटिदिनु पर्छ
रुघा लाग्यो भने नाकै काटी दिनु पर्छ भन्ने बहस राम्रो होइन् । विद्यार्थी आन्दोलनमा समस्या छन्, बहस गर्न सकिन्छ यसको मतलव यो होईन कि विद्यार्थी संगठनको अचित्य नै छैन् । विद्यार्थीहरूले हाम्रा सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, वातावरणीय क्षेत्र, वैदेशिक नीति, श्रम रोजगारीका क्षेत्र, प्रशासनिक क्षेत्र र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।

हाम्रो देशमा साधारण ठाउँको लागि नियुक्त गर्दा संसदीय सुनुवाइ गराईन्छ तर देशको भविष्य बनाउने ठाउँमा किन सुनुवाइ हुँदैन ? शिक्षक तथा प्राध्यापक नियुक्तिको सुनुवाइ कसले गर्ने कहिले गर्ने ?

विद्यार्थी संगठनहरू नेतृत्वमा प्रतिस्पर्धा गर्न, राजनीति चेतनाको विकास गर्न, नेतृत्व क्षमतामा विकास गर्नको लागि आवस्यक पर्दछ । यी र यस्तै गतिविधिलाई सुधार गर्दै विश्वविद्यालय ऐन निर्माण गरेर व्यावस्थित तरिकाले लागू गराउन जरूरत देखिन्छ ।

शिक्षामा राज्य उदासिन छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म राज्य आफ्नो दायित्वबाट पन्छिरहेको छ । राज्य भुमिका बिहिन र गैरजिम्मेवार बन्दै शिक्षा निजि क्षेत्रलाई  सम्पदा अराजकता सिर्जना भएको छ । शिक्षालाई सिमित हुनेखाने वर्गको अधिकारको रूपमा सिमित गर्न खोजिएको छ । शिक्षा क्षेत्रको नियन्त्रण र नियमन गर्नुपर्ने शिक्षा क्षेत्रका व्यापारी र माफियाहरुको अनुकुलतामा निती नियम बनाउने गरिएको छ।

नेपालको शिक्षा व्यापारीको सर्वाधिक मुनाफा कमाउने व्यापारीक बस्तु भएको छ शिक्षा बिसाल बजारमा बदलिएको छ ।विद्यालय ,क्याम्पस ,सुपरमार्केट र कम्पलेक्स जस्ता भएका छन जहाँ पैसाको तौल अनुसार शिक्षाको किनबेच हुन्छ । कानुनी हिसाबमा प्रतिबन्ध नलगाईको भए पनि शिक्षा महंगो बनाएर पैसा नहुनेलाई बन्देज लगाईएको छ । प्राविधिक शिक्षा र उच्च शिक्षा त झन पैसा नहुनेका लागि आकाश हो फल नै भएको छ ।

शिक्षा प्रतिभा र पूँजी पलायन गर्ने मध्यम बनिरहेको छ ।विश्वविद्यालय ,कलेज ,क्याम्पस ,हरु बेरोजगार उत्पादन गर्ने भट्टी जस्ता भएका छन नेपालको शिक्षाले प्रमाणपत्र दिने बाहेक सीप बिहिन,उदेश्य बिहिन ,, अकोहोरो ,दृस्ठिकोण बिहिन जनशक्ति उत्पादन गरिरहेको छ । नेपालको शिक्षाले मुलरुपमा विद्यार्थीलाई श्रमबाट अलग्याएर कल्पनावादी ,खोक्रो आदर्श र किताबी ज्ञान   मात्र  सिकाइरहेको छ  नेपालको शिक्षा जनता र विद्यार्थीको वास्तविक जीवन सँग मेल खाने खालको छैन नेपालको शिक्षा अव्यावहारिक  अबैज्ञानिक  हुनाले विद्यालय क्याम्पस हरु बेरोजगार उत्पादन गर्ने भट्टीमा परिणत भएका छन् ।

हामी हाम्रो जीवन यो देशमै बाँच्न चाहन्छौ बिदेशी गल्लिमा होइन। हामि यो सब खराबीका विरुद्ध आवाज उठाउन सिकाउछौ । बिद्रोह बोल्न सिकाउछौ । हामी हाम्रो सबैको जीवन खोज्छौ अनि यहाँ पाउदैनौ  संगठित भएर हाम्रो जीवन र हामिलाई  बिदेशी गल्लिमा धकेलिदिने हरुका विरुद्ध लडौ भन्छौँ ।यदि कसैले यो भन्नू हुदैन भन्छ भने बिद्रोहको आवाज बोल्नु हुदैन भन्छ भने हामी अझ ठूलो स्वारले भन्छौ, र बोल्छौ ।

के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएकै हो त ? बिल्कुल सकिएको छैन  । नेपालमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । इतिहास साक्षी छ, राजनीतिक परिवर्तन, सामाजिक जागरण र न्यायपुर्न  आन्दोलनका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो, छ । राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको ध्वजा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आएको हो । जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो गरेकै छ ।

आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्ध छ, त्यो त्यही विद्यार्थी आन्दोलनकै उपज हो । अतितको विद्यार्थी आन्दोलन गौरवशाली रहे पनि वर्तमानमा यो आन्दोलन बहसको कठघरामा उभिएको छ  यसम दुई मत छैन्। तर यसको मतलब यो होईन कि विद्यार्थी संगठन र विद्यार्थी राजनीति  आवस्यकता नै नहोस् !
विद्यार्थी आन्दोलनले आफूलाई समयानुकूल अद्यावधिक गर्दै लानुपर्छ बहस यता गर्न सकिएला  एक थरी मान्छेहरु कुतर्क गर्न थालेका छन कि विद्यार्थी संगठन  र दलीय प्रणालीको नै औचित्य समाप्त भइसकेको छ । यो प्रवृत्तिबाट चनाखोपूर्वक जोगिनुपर्छ ।

अर्काथरी आलोचकहरू पनि छन्, जो हमेसा विद्यार्थी आन्दोलनलाई दुश्मन ठान्छन् । खासगरी त्यस्ता मानिसहरू विद्यार्थी आन्दोलनको राप र तापको प्रताडनामा पर्नेहरू हुन् । शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणको जालो निकै जब्बर र डरलाग्दो छ । विद्यार्थी आन्दोलन बलशाली र प्रभावशाली हुँदा आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्नेहरू प्रायश: विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन अनेक प्रपञ्च रचिरहेका हुन्छन् । यस खालको प्रवृत्तिसँग सम्झौताहीन संघर्ष गर्नु पर्छ जसले विद्यार्थी संगठन र विद्यार्थी राजनीति  खारेज गर्नुपर्छ भन्छ बरु यस्तो हुन्छ तिनीहरुलाई नै विद्यार्थी आन्दोलनले खारेज गरिदिन्छ र इतिहासको संग्रहालयमा राखी दिन्छ ।

लेखक धनु सी अखिल समाजवादीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
 

Facebook Comments