• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट लिग : दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी 




दाङ  । दाङको घोराहीमा दाङ क्रिकेट लिगको दोश्रो संस्करण सुरु भएको छ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी भएका छन्। दंगालीले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई तथा पुरनधाराले देउखुरीलाई पराजित गर्यो।

आजको पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गर्यो।

घोराही टाइगर्सले दिएको ११२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।

दंगाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए। सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर खेलको प्लेयर अफ द म्याच घोषित भए।

यस अघि टस जितेर ब्याटिंग रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा १११ रन बनायो।

घोराहीको लागि अर्जुन घर्तिले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलिप नाथले २ रन मात्र बनाउन सके।

दंगाली लायन्सको बलिंगमा शंकर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए। प्रकाश जैसी र बिर बहादुर घर्ति मगरले २/२ तथा कप्तान बिपिन खत्रीले १ विकेट लिए।

दिनको दोश्रो खेलमा पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो।

देउखुरिले दिएको ९५ रनको लक्ष्य पुरनधाराले १२.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पुरनधाराको लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २० , रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रन योगदान दिए। देउखुरीको बलिंगमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दिपक बोहराले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।

देउखुरीको लागि आशिष ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा बिशाल बिक्रम केसीले १६ रन योगदान दिए। पुरनधारा च्यालेन्जर्सको बलिंगमा देब्रे हाते स्पिनर दिपेन्द्र रावत एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ७ रन खर्चिए। कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९:३० बजे दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोश्रो खेलमा दिउँसो १:३० बजे पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच हुनेछ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको  तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्।

राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म संचालन हुनेछ।

Facebook Comments