• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लोक सांस्कृतिक मेलामा एघार देशका ३५० कलाकार आउने




काठमाडौँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ ।

लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।

लोक सांस्कृतिक मेला–२०८० का संयोजक एवं ग्रुपका प्रमुख रामचन्द्र कोइरालाले बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको नेपालको लोकसंस्कृति तथा नृत्य कला र सम्पदालाई विदेशी कलाकारमाझ चिनाउन २०५९ सालदेखि प्रत्येक दुई दुई वर्षमा निरन्तर अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

नेपाली कला संस्कृतिप्रति विदेशी कलाकारको मोह र लगाव बढ्दै गएकाले सांस्कृतिक पर्यटक प्रवर्धन गर्न तथा नेपालको कला संस्कृति विभिन्न देशमा चिनाउन यस्तो चुनौतीपूर्ण काम गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो । उक्त मेलाका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो ।

फागुन १९ गते नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा सो कार्यक्रमको औपचारिक रूपमा उद्घाटन हुने छ भने २१ गते दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको सहकार्यमा घोराहीमा, २३ गते पर्यटकीय नगरी पोखरा, २५ गते काठमाडौँको वसन्तपुर हनुमानढोका दरबार स्क्वायर र २६ गते लालीगुँरास नेसनल एकेडेमी मनमैजुमा कार्यक्रम आयोजना गरिने भएको छ ।

विश्वका ११ देशका ३५० जना कलाकारको आवास सुविधा तथा यातायातलगायत आवश्यक व्यवस्थापनको तयारी पूरा भएको जानकारी आयोजक संस्थाले दिएको छ । २०५९ सालदेखि हालसम्म विश्वका ८५ देशका आठ हजार पाँच सय कलाकार सांस्कृतिक मेलामा सहभागी हुन नेपाल आइसकेका छन् ।

एभरेस्ट नेपाल कल्चरल ग्रुपले सहयोगी संस्था तथा विभिन्न प्रायोजकसँगको सहकार्यमा ११ वटा सांस्कृतिक मेला सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ गायक नारायण रायमाझीले यस किसिमको कार्यक्रमले विदेशी कलाकारलाई नेपालमै बोलाएर मनोरञ्जन लिनुका साथै नेपालको लोककला विदेशी कलाकारमाझ चिनाउन सहयोग पुगेको बताउनुभयो ।

नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने यो अभियानलाई निरन्तरता दिई विभिन्न देशबिचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्ध प्रगाढ बनाई भाषा, कला र वेशभूषा आदानप्रदान गर्ने मुख्य लक्ष्य रहेको आयोजकले स्पष्ट पारेको छ । यसले नेपालको ऐतिहासिक तथा पुरातात्त्विक धरोहर एवं सम्पदालाई विभिन्न देशमा चिनाउन सहयोग पुगेको छ ।

Facebook Comments