• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘क्रान्तिकारीहरु एकढिक्का हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ’




पुष्पकमल दाहाल ‘प्रचण्ड
महान जनयुद्धको २९ औँ दिवसका उपलक्ष्यमा म सबैभन्दा पहिले त पहिलो शहिद दिलबहादुर रम्तेलदेखि जनयुद्धमा सबैभन्दा उच्च ओहोदामा रहेर शहादत प्राप्त गर्नुभएका कमरेड सुरेश वाग्ले लगायत हजारौँ कमाण्डर, योद्धा, नेता र कार्यकर्ता कमरेडहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। हजारौँ बेपत्ता योद्धा कमरेडहरूप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु। ती महान शहिद र बेपत्ता योद्धालाई जन्मदिने उहाँहरूका आमाबुवा तथा परिवारका सम्पूर्ण सदस्यहरूमा पनि हार्दिक सम्मान व्यक्त गर्दछु। जनयुद्धका हजारौँ घाइते-अपांग कमरेडहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्यलाभको पनि शुभकामना व्यक्त गर्दछु।

त्यसैगरी जनयुद्धको क्रममा प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादीहरूको जेलमा नेल र यातनाका अनेकौँ चक्रहरू पार गर्ने हजारौँ हजार क्रान्तिकारी योद्धाहरूलाई पनि म आजको दिनमा विशेष रूपले सम्मान प्रकट गर्न चाहन्छु। र, देशभित्र र देशबाहिर रहेका तमाम जनसमुदाय, युवाहरू जसले जनयुद्धमा सबैभन्दा महत्वपूर्ण र निर्णायक भूमिका खेले, अहिले तीमध्ये कैयौँ कमरेड तथा योद्धाहरू देशभित्रै छन् र विश्वका विभिन्न देशमा श्रमिकको रूपमा छरिएका पनि छन्, ती सबै कमरेडहरूलाई पनि म स्मरण र सम्मान प्रकट गर्न चाहन्छु।

जनयुद्धका क्रममा हामीलाई निकै कठिन, जटिल र चुनौतीपूर्ण परिस्थितिमा हामीलाई माया गरेर सेल्टर दिने, सुरक्षा दिने, खुवाउने-पियाउनेदेखि लिएर अन्य तमाम व्यवस्थापकीय काममा सहयोग गर्ने लाखौँ जनता, सबै उत्पीडित वर्ग, मजदूर, किसान, आदिवासी जनजाति, दलित, महिला, मधेशी, मुस्लिम, थारु, पिछडिएको क्षेत्रका जनता सबैलाई पनि म आज यस ऐतिहासिक दिनमा हार्दिक सम्मानसहित स्मरण गर्न चाहन्छु।

सबैको योगदानबाट नै जनयुद्ध झण्डै १० वर्षसम्म विस्तारित हुँदै देशको प्रतिक्रियावादी शक्तिले परास्त गर्नै नसक्ने एउटा अजेय शक्तिका रूपमा स्थापित हुन सकेको हो। त्यसैले जनयुद्ध दिवसको यो ऐतिहासिक अवसरमा हामी सबैले ती योगदानकर्ता जनसमुदायदेखि क्रान्तिकारी सबैलाई र अघि भर्खरै वरिष्ठ उपाध्यक्ष कमरेडले भनेजस्तै एउटै पार्टी नहुँदा नहुँदै पनि जनयुद्ध र जनयुद्धको नेतृत्व गर्ने पार्टीलाई हरतरहले सहयोग पुर्‍याउने पार्टी, नेता तथा विभिन्न जनसंगठनलाई पनि म यस अवसरमा स्मरण र सम्मान गर्न चाहन्छु।

अन्तरविरोधहरूको सही पहिचान गर्ने र त्यसका आधारमा आफ्ना नीति निर्माण गर्ने कुरामा हामीले जनयुद्धबाट नै सिक्यौँ, जनयुद्धको क्रममै सिक्यौँ। थुप्रै गल्ती, कमजोरी र क्षतिहरू व्यहोर्दै सिक्यौँ। हामीले एकैचोटी सबै कुरा सिकेर मात्रै जनयुद्ध सुरु गरेका थिएनौँ। जनयुद्धकै बीचबाट, जीत र हारका श्रृंखलाहरूबाट, क्षति र उपलब्धीहरूको श्रृंखलाहरूबाट नै हामीले ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने, वर्ग अन्तरविरोध, वैचारिक अन्तरविरोध, राजनीतिक अन्तरविरोधहरूको प्रकृति र त्यसबाट निकालिनुपर्ने निष्कर्षहरूसहित अगाडि बढ्ने एउटा प्रक्रियाकै कारण हामी त्यतिबेला झण्डै अपराजय जस्तै भयौँ र विस्तारित हुँदै गयौँ।

आज २९ औँ जनयुद्ध दिवस मनाउँदै गर्दा हामीले केही नयाँ संकल्प गर्नुपर्ने भएको छ। त्यसकारण पनि मैले आज यो अवसरमा खाली यहाँ विधान अधिवेशनका क्रममा उपस्थित कमरेडहरूलाई मात्र होइन, मैले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरूलाई पनि र देश बाहिर रहेका तमाम क्रान्तिकारी योद्धा र कम्युनिष्टहरूलाई र न्याय तथा समानताका लागि आवाज उठाउने विश्वभरका कमरेडहरूलाई पनि अपिल गर्न चाहेको छु।

जनयुद्ध नेपालको इतिहासको एक महान, ऐतिहासिक र दूरगामी रणनीतिक पहल थियो, छ र रहिरहनेछ। मानिसहरूले सुरूमा यसको औचित्य, यसको ऐतिहासिक आवश्यकतालाई अन्दाज गर्न सकेका थिएनन् र यसलाई अपमानित गर्ने, यसको तिथिमिति तोक्ने- तीन महिना, ६ महिनाभन्दा बढि टिक्न सक्दैन भन्ने केही त्यतिबेलाका नेताहरू हुनुहुन्थ्यो र उहाँहरूले त्यो बोल्नु पनि भएको थियो। मान्छेहरूले पत्याएका थिएनन् र हामीले नेपाली समाजको वर्गसंघर्षको विकासको प्रक्रियालाई नेपाली समाजको आर्थिक विकासको परिस्थिति, राजनीतिक विकासको परिस्थितिको अन्तरविरोधलाई अध्ययन गरेर र मैले सधै भन्ने गरेको छु नेपालमा राजनीतिक परिवर्तनका लागि हुने गरेका विगतका तमाम सशस्त्र आन्दोलनहरू र शान्तिपूर्ण जनआन्दोलनहरूको पनि गहिरो र सम्भव भएसम्म अध्ययन गरेर नै जनयुद्धको तयारी गरिएको थियो।

मैले सधै भन्ने गरेको छुः नेपाललाई एउटा विशाल नेपाल बनाउने प्रक्रियामा पृथ्वीनारायण शाहले अपनाएका फौजी रणनीति र कार्यनीतिहरूको महत्व र अर्थ के थियो भन्ने विषयमा सबैभन्दा धेरै अध्ययन हामीले गर्यौँ। र, नेपालकै वर्गसंघर्ष, राजनीतिक संघर्ष, सशस्त्र तथा शान्तिपूर्ण क्रान्ति, नेपाली कांग्रेसले गरेका सशस्त्र संघर्षका अनुभवहरू, त्यो ७ सालको होस् वा १७ सालपछिको होस्, झापा विद्रोहका सन्दर्भमा नेकपा अहिलेको एमालेको नेतृत्वमा भएको सशस्त्र झापा विद्रोहको अनुभव, जुगेडी, जुटपानी जस्ता किसान संघर्षका अनुभवहरू होउन् ती सबैको पनि अध्ययनका आधारमा नै नेपालमा जनयुद्ध सम्भव छ र जनयुद्धका माध्यमबाट सामन्तवादलाई परास्त गर्न सम्भव छ र निरंकुशतन्त्रलाई परास्त गर्न सम्भव छ भन्ने एउटा दृढ निष्कर्षसहित हामीले जनयुद्धको पहल गरेका थियौँ।

हामीले कमजोरी पनि गर्यौँ त्यो बीचमा। कैयौँ कार्यनीतिक कमजोरीहरू गरेर हामीले ठूला ठूला क्षतिहरू पनि भोग्यौँ। तर हाम्रो मूल रणनीतिक निष्कर्ष सही भएको हुनाले र हाम्रो दृढ इच्छाशक्ति र सामन्तवादमाथि विजय हासिल गरिछाड्ने, निरंकुशतन्त्रलाई परास्त गरिछाड्ने, यो देशका उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग समुदायका जनतालाई पहिचान, अधिकार र सम्मान दिइछाड्ने तथा समानता र राष्ट्रियताको एउटा मानक कायम गरिछाड्ने दृढ अठोटका कारण थुप्रै अप्ठेरा, थुप्रै अप्रेशन, घेराबन्दी र सखापका तमाम अभियानहरूका बाबजुद हामी जनतामा फैलिँदै गयौँ, झ्यांगिँदै गयौँ र अघि कमरेड नारायणकाजी श्रेष्ठले भनेजस्तै यस्तो ठाउँमा यो शक्ति पुग्यो जुन एउटा आमूल परिवर्तन, राजनीतिक परिवर्तन ल्याउनका लागि अरूलाई बाध्य पार्नसक्ने तागत प्रदान गर्यो। सम्पूर्ण रूपले विजय हासिल गर्न नसके पनि एउटा गुणात्मक राजनीतिक परिवर्तन ल्याउनसक्ने तागतको रूपमा जनयुद्धले विकास गर्यो।

कमरेडहरू,
विशेष जोड दिएर आजको दिन भन्न चाहन्छु भने यदि नेतृत्वले वर्गीय, राजनीतिक तथा अन्य अन्तरविरोधहरू, राष्ट्रिय-अन्तर्राष्ट्रिय अन्तरविरोधहरूको गहन अध्ययन, विश्लेषण, संश्लेषण गर्दै ठोस परिस्थितिअनुसार नयाँ नयाँ नीतिगत कार्यक्रम विकास गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो। र, पछिल्लोपटक पनि जतिबेला सामन्ती निरंकुशतन्त्रले शान्तिपूर्ण राजनीतिमा रहेका राजनीतिक दलहरूलाई दमन गर्ने, हिरासतमा राख्ने र उनीहरूले चलाइराखेको आन्दोलनमाथि दमन गर्ने जुन प्रक्रिया अपनायो एकातिर र जनयुद्धलाई बाटो बिराएकाहरूको आन्दोलन वा गतिविधि भनेर दमन गर्ने नीति अपनायो। त्यतिबेला जनयुद्ध नै र माओवादी लिडरसीप नै माओवादी पार्टी नै अन्य शान्तिपूर्ण सहकार्यमा रहेका दलहरूको निम्ति पनि एउटा आशा र भरोसाको केन्द्र बनेकै थियो। हामी कसैले पनि इतिहासको यो सच्चाइलाई बंग्याउन छुट छैन।

म अहिले धेरै त भन्न चाहन्नँ, त्यो त्यस्तो परिस्थिति थियो हामी जनयुद्धकारीहरू जो सहरमा हामी भूमिगत थियौँ तर पनि हामी जबरजस्त उपस्थितिमा थियौँ र देशभरि झण्डै ८० प्रतिशतभन्दा धेरै इलाका हाम्रो नियन्त्रणमा थियो। र, हामी देश विदेशमा लगातार सम्पर्क, सम्बन्धमा हुन्थ्यौँ। बिहानदेखि बेलुकासम्म स्याटेलाइट फोनमार्फत कुराकानी गरिरहेका हुन्थ्यौँ। तर शान्तिपूर्ण राजनीतिमा रहेका दलहरूको सम्पर्क-सम्बन्ध सबै विच्छेद थियो। मलाई सम्झना छ नेपाली कंग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँग मैले सम्पर्क गर्दा स्याटेलाइटबाट र ममार्फत थुप्रै राजनीतिक दलका नेताहरूसँग सम्पर्क गर्ने स्थिति बनेको थियो। त्यो आफैमा एउटा अभूतपूर्व ऐतिहासक घटना हो जो दुनियामा कमै देख्न मिल्छ।

सात राजनीतिक दल र नेकपा माओवादीको बीचमा समन्वय, सम्पर्क गराउने र सहकार्यको वतावरण बनाउन साथीहरू लागिराख्नुभएको थियो। कमरेड नारायणकाजी श्रेष्ठ त्यतिबेला कहिले रोल्पा, कहिले काठमाण्डौ कहिले इण्डियाका विभिन्न सहरहरूमा कुराकानी भएकै थिए, भएकै हुन्थे। तर के सच्चाइ हो भने माओवादी विना अब लोकतान्त्रिक आन्दोलन वा प्रजातान्त्रिक आन्दोलन भनेर नेपाली कांग्रेस लगायतका दलले जे भन्ने गरेका थिए त्यसले जीवन प्राप्त गर्न कठीन हुने परिस्थिति बनेको थियो र जनयुद्धले आर्जन गरेको शक्ति अघि यहाँ प्रस्तुत गरिएजस्तै त्यो निर्णायक शक्ति बनिसकेको थियो। यद्यपि एक्लैले जित्न र काठमाण्डौ कब्जा गर्न सम्भव छैन भन्ने निष्कर्षमा पनि हामी पुगिसकेकै हो।

तत्कालिक अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिलाई हेर्दा हामीले अब ठाउँ भएसम्म शान्तिपूर्ण ढंगले गणतन्त्रमा देशलाई पुर्याउने बाटो भेटिँदासम्म त्यहाँ छिर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेकै हौँ। त्यहीँ निष्कर्षमा पुगेको वरिपरि नै चुनवाङ बैठक भएको हो, चुनवाङ बैठकको निर्णयले प्रतिक्रियावादीहरू, सामन्ती निरंकुशतावादीहरूलाई एउटा चोटिलो प्रहार राजनीतिक प्रहार गरेको थियो। मैले अघि भन्न खोजेको कुरा के थियो भने अन्तरविरोधहरूको अध्ययन गर्ने, विश्लेषण गर्ने, त्यसको संश्लेषण गर्ने र त्यो निष्कर्षका आधारमा नीति निर्माण गर्ने हाम्रो विशेषता र चरित्रको कारणले नै निरंकुशतन्त्रले ठानेको थियो कि माओवादीलाई बाटो बिराएका भनेर तथा सात राजनीतिक दललाई भ्रष्ट र जनविरोधी भनेर अन्तर्राष्ट्रिय मञ्चमा गएर एकचोटी राष्ट्रसंघ महासभाको मञ्चबाट बोल्न पाइयो भने विश्व समुदायलाई पनि भ्रम दिन सकिन्छ भन्ने निष्कर्षमा थिए त्यतिबेलाका राजा महाराजाहरू। र त्यसलाई अब हामीले रकेट लञ्चरबाट या हामीले अरु अत्याधुनिक हतियारबाट तत्काल परास्त गर्न सम्भव थिएन। त्यहीँ अन्तरविरोधको पहिचान गर्ने प्रक्रियामा नै हामीले एकपक्षीय रूपमा ३ महिने युद्धविरामको घोषणा गर्यौँ। मैले एउटा सानो वक्तव्य म अहिले पूरै सम्झिन्छु, कहाँ कस्तो परिवेशमा त्यो वक्तव्य लेखिएको थियो। त्यो वक्तव्य एकपक्षीय रूपमा ३ महिने युद्धविरामको घोषणा गर्नेबित्तिकै देशैभरिका हाम्रा हजारौँ फौजी कारवाही तथा गतिविध जो हुन्थे ती ठप्प भए, पिनड्रप साइलेन्स जस्तै। र, त्यहीँ ३ महिने युद्धविरामभित्र नै हामीले सात राजनीतिक दलका नेताहरूसँग मिटिङ गर्न सम्भव भएको हो।

भूमिगत रूपमा बस्ने बानी नपरेका या भूमिगत नरहेका, त्यतिबेला नेकपा एकता केन्द्र कमरेड नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको पार्टी अर्धभूमिगत रूपमा थियो। नारायणकाजी आफै भूमिगत भएको हुनाले मसँग भेट भइराख्न सम्भव थियो। तर गिरजाप्रसाद कोइराला, माधव कुमार नेपाल वा अरू नेताहरूले माओवादी पार्टीका नेताहरूलाई भेट्न वैधानिक रूपले सम्भव थिएन। भूमिगत जानुपर्ने हुन्थ्यो। गिरिजाप्रसाद कोइरालासँग मेरो कुरा हुन्थ्यो, तपाईलाई भूमिगत आउन गाह्रो छ, त्यो उमेर अवस्थामा पहाडमा। त्यसकारण एउटा परिवेश बनाउनुपर्छ भन्ने सन्दर्भमा नै तीन महिने युद्धविराम भएको थियो। माधवकुमार नेपाललाई पनि भूमिगत जान सम्भव थिएन।

तर वामदेव गौतम र युवराज ज्ञवाली दुईजनालाई माधवजीले रोल्पा पठाएर रोल्पामा पहिलो एउटा लिखित सम्झौता भयो, नेकपा एमालेसँग त्यतिबेला। बामदेव, युवराज र हामीले त्यतिबेला हस्ताक्षर गर्यौँ। तर त्यतिबेला हेलिकप्टरले बामदेव र युवराजलाई बमबार्डिंग गर्नका लागि लगातार घेराबन्दी गरेको स्थिति अहिले सम्झिँदा माओवादी एउटा शक्ति थियो उ विश्वभरि सम्बन्धमा थियो देशभरि सम्बन्धमा थियो। सात राजनीतिक दलहरूलाई त्यतिबेलाको निरंकुश सामन्ती राजतन्त्रको चंगुलबाट फुत्काउन सक्ने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा फेरि एकचोटी लिएर आउनसक्ने तागत कसैले आर्जन गरेको थियो भने त्यो माओवादीले नै थियो।

तर अहिले हेर्दै जाँदा सायद हामीले पनि कहाँकहाँ कमजोरी गर्यौँ। अहले अलि बढी हेपाइ माओवादी, माओवादी आन्दोलनको नेतृत्व, माओवादीका एजेण्डा, माओवादीले गरेको त्याग, बलिदान र ऐतिहासिक र दूरगामी कीर्तिमानहरूलाई अपमानित गर्ने कोशिस तिनै शक्ति र तीनका वरिपरिका मान्छेहरूले गर्छन । सबैभन्दा बढी त प्रतिक्रान्तिकारी, प्रतिक्रियावादी सामान्ती निरंकुशतावादीहरूले नै गरेका छन्। त्यसकारण हामीले आज प्रज्ञा प्रतिष्ठानको यो हलमा २९ ओँ जनयुद्ध दिवस मनाउँदै गर्दा अर्कोतिर हिजोका राजा महाराजा र तिनका भरौटेहरूले बाहिर गणतन्त्रका विरुद्ध, संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध दुस्साहसपूर्ण ढंगका गतिविधि गर्ने जमर्को गर्दैछन्। हामीले यस्तो बेलामा २९ औँ जनयुद्ध दिवस मनाइरहेका छौँ।

कमरेडहरू,
म तपाईहरू सबै, माओवादी केन्द्रका तमाम नेता कार्यकर्ताहरू, देशभरका सबै तमाम कार्यकर्ता र योद्धा कमरेड र आम जनसमुदायहरूलाई विशेष रूपले अपिल गर्न चाहन्छु हाम्रो त्यो ऐतिहासिक, दूरगामी कीर्तिमानहरू, यो महान र ऐतिहासिक परिवर्तनका पक्षमा एकचोटी फेरि हामी जाग्नुपर्ने, एकताबद्ध हुनुपर्ने र दृढताको साथ ती महिला दलित जसले जनयुद्धमा अभूतपूर्व र ऐतिहासिक बलिदानका कीर्तिमानहरू कायम गरे, रेकर्डहरू बनाए र अहिले समावेशी र समानुपातिकताको एउटा चरणमा पहिचान र अधिकारको अभ्यास गर्दैछन्, ती दलित, महिलाहरू, मधेशी, आदिवासी, जनजातिका विभिन्न समुदायहरू जसको सबैभनदा धेरै बलिदान भएको छ, यो जनयुद्धमा बलिदान नभएको कुनै जाति तथा समुदाय छैन, यो एउटा यस्तो विशिष्ठता मौलिकता र यसको महानता हो।

देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैले एकसाथ त्यसमा योगदान गरेका छन् र जनयुद्ध महान बन्न पुगेको हो। यस्तो महान उपलब्धीलाई अपमानित गर्ने छूट कसैलाई पनि छैन। तर त्यो दुस्साहस भएको हामीले देखिराखेका छौँ। त्यसकारण हामीले एउटा नयाँ संकल्प लिनु छ अहिले। र त्यो दुस्साहस गर्नेका विरूद्ध त्यसको जबर्जस्त प्रतिवाद गर्नुछ। सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमानित गर्ने उनीहरूलाई कुनै अधिकार छैन। त्यो घोषणा हामीले गर्नुछ कमरेडहरू। हामी एक भएर जाँदा त्यसलाई रोक्न् सकिन्छ। हिजो पनि हामीलाई सखाप पार्न खोजेकै हुन्, हामी सखाप भएनौँ। हामीलाई अहिले जजसरी आरोपित गर्ने एउटा नयाँ भाष्य बनाउन खोजिएको छ क्रान्तिलाई र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्ने त्यसको प्रतिवाद हामीले गर्नैपर्छ र म अन्तिममा आजको दिन माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरूलाई अब ढिलो नगरी हामी एउटै मोर्चामा र एउटै केन्द्रमा एकताबद्ध हुन अपिल गर्न चाहन्छु।

ढिलो नगरौँ। जति ढिलो गर्यौ त्यति ठूलो क्षति र यो राजनीतिक परिवर्तनप्रति त्यति ठूलो घाटा हुनसक्छ। त्यसकारण आउनुस् बसौँ, समीक्षा गरौँ। कहाँ कमी भए ? ठूलो मन, एउटा कम्युनिष्ट मनले आत्मालोचना गरौँ। एक भएर प्रतिवाद गर्यौँ भने, मैले खाली जनयुद्धका उपलब्धीहरूको रक्षामात्रै, जनआन्दोलनका उपलब्धीहरूको रक्षामात्रै या क्रान्तिकारी आन्दोलनका उपलब्धीहरूको रक्षामात्रै होइन हामीले आँट गर्दा र हामीले एकढिक्का हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ भन्ने मेरो पूरै विश्वास छ।

तपाई जहाँ भए पनि माओवादी युद्धका सहयात्रीहरू, तपाईहरू सबैले पनि मलाई नेतृत्वको हैसियतले सहयोग गर्नुभयो, मलाई स्थापित गर्न मद्दत गर्नुभयो र प्रचण्डको एउटा सानो वक्तव्यले देशै ठप्प हुने स्थिति बनाउन तपाईहरू सबैको योगदान छ। मैले जीवनको यो उत्तरार्धमा पनि फेरि एकचोटी नयाँ क्रान्तितिर देशलाई लिएर जाने संकल्प गरेको छु। कोही कमरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्न कुनै लोभ पनि छैन। यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु।

आउनुहोस् फेरि यो मोर्चालाई एकताबद्ध गरौँ। प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूले टाउको उठाउन खोजेका छन् तिनको प्रतिवाद गरौँ, हामी सबै एक हौँ। अहिले परिस्थिति राम्रो छ। हामीले एकातिर समाजवादी मोर्चा बनाएका छौँ, अर्कोतिर समान विचारका पार्टीहरू एकताबद्ध हुने कोसिस पनि गरिराखेका छौँ। त्यसकारण यो राम्रो अवसर हो। सबै क्रान्तिकारीहरू एकै ठाउँमा केन्द्रित हुने यो राम्रो अवसर हो। प्रतिक्रियावादीहरूले टाउको उठाउन खोजेका छन्, त्यसका विरूद्ध जाइलाग्ने राम्रो अवसर पनि हो। म यो अपिल गर्न चाहन्छु।

अघि यहाँ भनिएजस्तै अहिले पार्टीको मोर्चा र सरकारको मोर्चाबाट हामीले समाजवादको एउटा नयाँ अभियान सुरू गर्ने जमर्को गरेका छौँ। सरकारको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान वास्तवमा समाजवादको भ्रूण रोप्ने अभियान नै हो। यसलाई कम्तिमा पनि हिजोको क्रान्तिकारी युद्धका सहभागीहरूले गहिरो गरी बुझ्न जरूरी छ। सुशासन, सामाजिक न्याय, समृद्धि समाजवादको भ्रूण रोप्ने प्रक्रियाको सुरूवात हो। र त्यो दिशामा हामी कदम कदम अगाडि बढ्दैछौँ भने विशेष रूपान्तरण अभियान भनेर पार्टी रूपान्तरणको अभियान जे जसरी सुरू गरियो, त्यसबाट जे जस्ता उपलब्धी हासिल भए र अहिले यो विधान अधिवेशनमा उपस्थित भएर हामीले जे जस्ता संकल्पहरू गर्दैछौँ, आफैलाई बाँध्ने विधिविधानहरू सामूहिक छलफलबाट एउटा केन्द्रित नीति र विधि बनाउँदैछौँ यो पनि समाजवादतिर यात्रा गर्नका लागि हाम्रा हतियारहरूमा शान लगाउने एउटा प्रक्रिया हो।

यसबीचमा हाम्रा हतियारहरू अलि भुत्ते भएका छन् हामी ती हतियारलाई शान लगाउन चाहन्छौँ र त्यो हतियारद्वारा प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्न चाहन्छौँ। यहीँ संकल्प गर्ने दिन हो। यहीँ अपिल तपाईहरू र यो मञ्चबाट संसारभरका क्रान्तिकारीहरूसँग गर्दै र फेरि एकपटक २९ औँ जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण क्रान्तिकारी जनसमुदायप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै विदा हुन्छु। धन्यवाद, अभिवादन।

(जनयुद्धको २९ औं वार्षिकोत्सव एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको उद्घाटन सत्रका क्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० फागुन १ गते प्रज्ञा भवन कमलादीमा गर्नुभएको सम्बोधन।)

Facebook Comments