देवेन्द्र बस्नेत
दाङ । आकर्षक जिउडाल, स्टेजमा पाइला पर्नासाथ ‘एक से एक’ सिटीमारहरू जन्मन्छन् । रूपौली रुबिनाको रूपले मोहित बन्ने दर्शकदीर्घा गुञ्जायमान हुन्छ । स्टेजमा उत्कृष्ट नृत्य प्रस्तुत हुँदा ‘वान्समोर’ को क्राउड बढ्छ । दर्शकको यो अगाध प्रेम पाउँदा कलाकारिता क्षेत्रमा आफू प्रवेश हुनुलाई भाग्यमानी सम्झन्छिन्, उनी । र त देशका विभिन्न स्थानमा हुने मेला महोत्सव वा अन्य कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई छ रुबिनालाई । देशव्यापी रूपमा दर्शकबाट यो अगाध प्रेम मिल्नु नै उनका लागि सबैभन्दा बढी खुसीको क्षण बनिदिएको छ ।
बाँके नेपालगञ्जकी रुबिनालाई सानैदेखि कलाकारिताको मोहले कुतकुत्याइ रहेकै थियो । नृत्यांगना बनेर कलाकारिता क्षेत्रमा आफ्नो उचो कद स्थापित गर्ने रुबिनाको यो बाल्य सपनामाथि साना पारिवारिक व्यवधानहरू देखा नपरेका होइनन् । उनी भन्छिन् ‘मलाई मेरो ममीले नाच्ने काम नगरे पनि हुन्छ भन्नु हुन्थ्यो, ममीले मलाई यो क्षेत्रमा आउन रोक्न खोज्नु भएको थियो, छोरी राम्रो पढेर डाक्टर बनोस् भन्ने चाहना उहाँको थियो ।’ तर उनकी दिदी (ठुलो आमाको छोरी) ले कलाकारितामा लाग्न प्रेरित गरिरहन्थिन् । फलतः आमा रुक्मणीको सल्लाहलाई नसुनेझैँ गरेर उत्कृष्ट नृत्याङ्गना बन्ने लयबाट विमुख बनिनन्, उनी ।
अनि २०६९ सालमा एसएलसी दिएकी उनी अध्ययनसँगै स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्न कुदिइरहिन् । ‘नाच्ने रहर धेरै थियो, त्यसैले म स्टेज कार्यक्रममा पनि जाने गर्न थालेँ’, रुबिना भन्छिन् ‘पोखरामा भएको नृत्य प्रतियोगितामा पनि भाग लिन पुगेँ ।’ पोखरामा भएको उक्त प्रतियोगिता गोल्डेन आइडलमा फाइनलसम्म पुगेकी रुबिनाका लागि यो कार्यक्रम थप उर्जा बनेर आयो । ‘म त्यो प्रतियोगितामा फाइनलसम्म पुग्नु मेरा लागि ठुलो उपलब्धि हो’, उनले भनिन्, ‘यसले मलाई कलाकारिता क्षेत्रमा लाग्न झनै प्रेरित ग¥यो ।’ उनको नृत्यको तारिफ गर्नेहरू उसैगरी दिनानुदिन बढिरहेकै थिए ।
कलाकारितामा जमेर आफूलाई स्थापित गर्न सक्ने सम्भावित कलाकारको रूपमा उनलाई अथ्र्याउँदा रुबिनामा उस्तै उर्जा प्राप्त हुन्थ्यो । यसैक्रममा उनले म्युजिक भिडियोमा समेत काम गर्ने अवसर पाइन् । ‘तिम्रो मन चोर्न पर्ने भो’ बोलको गीतमा आफूलाई २०७२ सालमा मोडलका रूपमा प्रस्तुत गराइन्, रुबिनाले । उनले यो क्षण आफ्ना लागि अर्को सुखद् क्षण बनेको स्मरण गर्छिन् । ‘म पहिलो पटक मोडलका रूपमा देखिन पाउँदा आफूलाई भाग्यमानी भएको महसुस गरेकी थिएँ’, रुबिनाले भनिन्, ‘त्यसपछि मलाई मोडल बन्ने हुटहुटी झनै बढ्यो ।’ बाँकेमा १२ अध्ययन पूरा गरेपछि रुबिना २०७२ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जाने निधोमा पुगिन् ।
अध्ययनसँगै काठमाडौं यात्रा उनका लागि कलाकारितालाई थप फराकिलो पार्ने अवसर पनि बन्दै थियो । एमबिबिएस अध्ययनका लागि काठमाडौं हानिएकी उनको नाम निस्केन अनि नर्सिङ अध्ययनका लागि फारम भरिन् तर पनि सरकारी क्याम्पसमा उनको नाम निस्केन । त्यसपछि प्राइभेट कलेजमै भए पनि अध्ययन गर्ने भनेर काठमाडौंको एक प्राइभेट कलेजमा नाम लेखाउनकै लागि पुगेकी रुबिना नाम नलेखाएरै फर्किइन् ।
यसको कारण थियो, नर्सिङ पेसाले कलाकारिता ओझेल पर्छ भन्ने उनले सुनिन् । ‘नर्श बनेपछि फ्री भईँदैन, कलाकारिता क्षेत्र पूरै ओझेल पर्छ भनेर केही साथीले सुनाए’, उनले भनिन्, ‘अनि म कलेजमा नाम लेखाउन गएको मान्छे पनि नामै नलेखाएर फर्किएँ ।’ त्यसयता निरन्तर स्टेज कार्यक्रमको उपस्थिति रुबिनाको बाक्लिँदै गयो अनि म्युनिक भिडियोहरूमा पनि रुबिना ‘रूपौली’ बनेर देखिन थालिन् । ‘म वास्तवमा स्टेज कार्यक्रममा डान्सरको रूपमा चिनिएकी थिएँ’, उनले भनिन्, ‘तर फाटफुट म्युजिक भिडियोहरूमा पनि काम गर्ने अवसर चाहिँ मिलिरहेको थियो ।’ स्टेज प्रस्तुती दिएरै आफ्नो नाम यो क्षेत्रमा चुलिएका कारण रुबिनाले बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग जोडिएर देश यात्रामा निस्किइन् ।
उनका लागि यो अर्को अहोभाग्यको क्षण बनिदियो । महजोडीको नेपाल टुरमा उनी नृत्याङ्गनाका रूपमा समावेश भएकी थिइन् । ‘महजोडी जत्तिको व्यक्तिहरूसँग जोडिएर सांस्कृतिक प्रस्तुुती दिन नेपाल टुरमा जाने सौभाग्य मलाई मिलेको थियो’, उनले भनिन्, ‘कलाकारिता क्षेत्रमा यो मेरो सबैभन्दा ठुलो खुसीको पल बनिदियो ।’
म्युजिक भिडियोमा पनि बढ्दै गएको उनको उपस्थितिले उनलाई खेम सेञ्चुरीको एउटा गीतले नामी मोडलका रूपमा स्थापित गरिदियो । केही वर्ष अघि तीजको अवसरमा सेञ्चुरीले सार्वजनिक गरेको चर्चित गीत ‘सोचेझैँ जिन्दगी रैन‘छ’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी रुबिना त्यसपछि झनै क्लिक भइन् । ‘यो गीतले मलाई अर्को ठुलो सफलता दियो’, उनले भनिन्, ‘म्युजिक भिडियोमा पनि मलाई यो गीतले धेरै स्थापित गरिदियो ।’ अहिले उनी दर्जनौँ गीतका चर्चित मोडलका रूपमा कलाकारिता क्षेत्रमा देखिएकी छिन् ।
कलाकारिता क्षेत्रमै मिलेको यो सफलताले रुबिनालाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चले समेत खोजी गरिरहेका छन् । उनी आफ्नो प्रस्तुतीकै लागि अस्ट्रेलिया, जापान, कतार, दुवईलगायतका देशमा पुगिसकेकी छिन् । ‘विभिन्न देशमा आफ्नो प्रस्तुतीका लागि पाइला टेक्न पाउनु मलाई कलाकारिता क्षेत्रले दिएको ठुलो खुसी हो’, उनले भनिन् । बाबु रामबहादुर अधिकारी र आमा रुक्मणी आचार्यको कोखबाट तनहुँमा जन्मिएकी रुबिनाको परिवार अहिले बाँकेमा बस्छ । ‘म जन्मिएको तनहुँमा, म जन्मिए लगत्तै हाम्रो परिवार नेपालगञ्जमा बसाइँ सराइ ग¥यो’, उनले भनिन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।