भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज यहाँ भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई ६५ रनले हराएको हो ।
बाक्लो हुस्सुका कारण भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा निर्धारित समयमा खेल हुन सकेन् । ढिला गरी खेल आरम्भ भएपछि ५० ओभरको खेल २६ ओभरमा झारिएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो । एक सय ७१ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित २६ ओभरमा आठ विकेट गुमाएर मात्र एक सय पाँच रन बनायो ।
आर्मीका लागि इमरान शेखले अर्धशतकीय पारी खेले । उनले ७० बलको सामना गर्दै एक छक्का र सात चौकाको मद्दतमा अविजित ६७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २५ बलमा एक छक्का र चार चौकाको सहायतामा ३४ रन बनाए । भीम सार्कीले २४ र सन्तोष कार्कीले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन र नर सार्कीले दुई दुई विकेट लिए ।
यसैगरी एक सय पाँच रन बनाउने क्रममा लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । यस्तै मृणाल गुरुङले १८ र मोहम्मद हुसेनले १५ रन बनाए ।
बलिङतर्फ आर्मीका कुशल मल्लले ६ ओभरमा दुई मेडन राखि ११ रन खर्चेर चार विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभरमा तीन मेडन राख्दै पाँच रन मात्र दिएर दुई विकेट लिए । साहब आलम र अभिनाश कर्णले एक एक विकेट लिए । आर्मीका इमरान शेख प्लेयर अफ दी म्याच घोषित भए । बिहीबार एपिएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।