• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खानेपानी र सरसफाइका दीर्घकालिन योजनाहरु शुरु, गुणस्तर र पारदर्शीतामा जोड




सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् । पारदर्शिता, गुणस्तरीयता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिनका लागि सुस्वा योजनाहरुको पहिलो सामाजिक परिक्षण तथा अनुगमन सम्पन्न भएको छ भने मंगलबारदेखि उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिम पनि शुरु भएको छ ।

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन हुने योजनाहरुको पहिलो सामाजिक परिक्षण र अनुगमन तथा उपभोक्ता अभिमुखिकरण शुरु भएको र यससंगै योजनाहरु निर्माण चरणमा प्रवेश गरेको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।

 

छत्रेश्वरी गाउँपालिका र सुस्वा परियोजनाको साझेदारिमा चालू आर्थिक बर्षमा खानेपानीका ४ वटा र सौचालय निर्माणका ४ वटा योजना सम्पन्न हुदैछन । मंगलबार देखि सुरु भएको उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी अभिमुखिकरणमा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा निकै महत्वपूर्ण योजनाहरु छत्रेश्वरीमा सञ्चालन भएकाले सबै योजनाहरुलाई गुणस्तरिय रुपमा समयमै सम्पन्न गर्नका लागि इमान्दार र जिम्मेवार पूर्वक लाग्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरिन् । यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दराज विष्टले सम्झौताका शर्त, लागत अनुमान लगाएतका विषयमा जानकार भई प्रभावकारी योजना कार्यान्वयनका लागि अनुरोध गरे ।

छत्रेश्वरी ४ मा ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना, वडा नम्बर २ मा पांग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर १ मा दुदेलीगैरा खानेपानी योजना र वडा नम्बर ७ मा छहरेखोला पानीखोला खानेपानी योजना सञ्चालन हुदैछन् । यस्तै अन्य चार वटा प्रयोगकर्तामैत्री सौचालय निर्माण पनि हुँदैछन् । यी योजनाहरु १० लाख देखि ८८ लाख रुपैयाँ सम्मका छन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले पारदर्शिताको नमुनाको रुपमा योजनाहरु संचालन गर्नुपर्ने र यसका लागि सबै उपभोक्ताको सकारात्मक साथ सहयोग हुनुपर्ने बताए । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर विष्टले आआफ्नो वडामा सञ्चालन हुने खानेपानी तथा सरसफाईका योजनाहरुलाई सबैको सहयोगमा समयमै सम्पन्न गर्ने बताउँदै उपभोक्ताहरुको लागत सहभागितामा पनि जोड दिएका छन् ।

उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिममा खरिद प्रक्रिया र यस सम्बन्धी कागजातहरुको व्यवस्थापन, निर्माण सामग्रीहरुको गुणस्तर पहिचान तथा अभिलेखीकरण, योजनामा कायम गर्नुपर्ने पारदर्शीता लगाएतका बारेमा अभिमुखिकरण गरिने छ । ३० वटा चरणमा सम्पन्न हुने सुस्वाका योजनाहरुलाई प्रभावकारी बनाउन पहिलो सामाजिक परिक्षण तथा अनुगमन गरिएको वास इकाइले जनाएको छ ।

सो क्रममा सामुदायिक कार्ययोजना र डिजाईन तथा इस्टिमेट अनुमोदन संगै जनश्रमदान गर्ने विषय, ग्रामीण मर्मत सम्भार कार्यकर्ता छनोट संगै खरिद प्रक्रिया तथा खरिद समिती गठन, बाह्य निर्माण सामग्रीको सिलबन्दी दरभाउपत्र आह्वान, योजना सम्झौताका बिषयमा आवश्यक निर्णयहरु गरिएको थियो ।

 

 

 

Facebook Comments