सुरेन कुँवर
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सँस्कृति प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन् ।
भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् ।
भरतपुर–२४ का स्थानीय नविन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन खाद्ययान्नलाई प्रशोधन गरी भण्डार गरेको बताउनुभयो । यस्तै भरतपुर २८ गोलाघाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिनुभयो । चौधरीले एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताउनुभयो ।
भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौ होमस्टेहरु खुलेका छन् । दर्जनौ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुर लगायतका पर्यटक गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवसको सुविधा रहेको छ ।
भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवस सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोटा र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जीप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सरफारी हुने अनुमानका साथ जीप सफारी गाडी थप गरिएको हो ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लहाकार विश्वराज सुवेदीले यस अघि एक दर्जनमात्र जीप सरफारी रहेकोमा अहिले तेब्बर जीपहरु थप गरिएको बताउनुभयो ।
जीप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटिय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जीप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जीप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ ।
कसराबाट १ घण्टादेखि ४ घण्टासम्म जीप सफारीको प्याकेज रहेको छ । यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिनुभयो ।
भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्याङ्क रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक आउने गरेका छन् ।
भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भईसेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा रहेको बाघलाई यहाँ स्थान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिनुभयो । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाईएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।