सल्यान । भूमिहिन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरणका लागि सल्यानको कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि कालिमाटी गाउँपालिकाले बुधबारदेखि वडा नम्बर २ को चिसातराबाट जग्गा नापजाँच कार्यको सुरुवात गरेको हो ।
गाउँपालिकाको भुमिहिन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्र रामपुरको आयोजनामा भएको भेलामा कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जग्गाको नाप नक्सा उद्घाटन गरेका हुन् ।
राष्ट्रिय भुमी आयोग सल्यानका अध्यक्ष वीर बहादुर सेजवाल, नापी कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय लगायत स्थानिय जनप्रतिनिधि, भुमिहिन तथा अव्यवस्थित बसोबासिहरुको उपस्थितिमा जग्गाको नाप नक्सा कार्य सुरु भएको कालिमाटीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ । आगामी चैत्र महीना सम्ममा पहिलो चरणको जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य सहित राष्ट्रिय भुमी आयोग संगको समन्वयमा सम्झौता अनुसार काम अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाभरी दुई हजार ७१७ जना भुमिहिन तथा अव्यवस्थित बसोबासीले निवेदन दर्ता गरि कम्प्युटरमा प्रविस्ट गर्ने काम सम्पन्न भैसकेको छ । पहिलो चरणमा कालिमाटी २ मा ४४१ जनाको जग्गा नापजाँच हुदैछ । यसपछी क्रमशः वडा नम्बर ३,४,५,१,६ र ७ मा नाप नक्साको कार्य गरिने अध्यक्ष केसीले जनाए । अव वर्षाैँ देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास गर्दै उनले वडा स्तर र पालिका स्तरको सहजिकरण समितिले पहिलो चरणका सबै काम सम्पन्न गरिसकेको बताए ।
भूमि आयोगसँगको सहकार्यमा नापनक्साको कार्य अगाडि बढाएको र चाँडै भूमि सम्बन्धी समस्यामा परेका सबै नागरिकको जग्गाधनी पुर्जाको लागि प्रकृया सुरु हुने गाउँपालिकाले जनाएको छ । वर्षौंदेखि बस्दै आएको जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जीवन बिताउनुपरेको स्थानीयहरुको गुनासो छ । बारम्बार लगत संकलन गरेर लैजाने गरिए पनि काम नभएको जनाउदै स्थानीयहरुले अव भने भुमी आयोग र गाउँपालिकाको सक्रियता तथा नाप नक्साको कामले जग्गाको लापूर्जा पाउने आशा पलाएको बताएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

