• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सवारी दुर्घटना रोक्न टाइमकार्ड कति प्रभावकारी ?




लीलाधर वली
दाङ । जिल्लामा चालु आर्थिक वर्षको ८ महिनामा ८९ वटा दुर्घटना भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०८०/०८१ को मंसिरसम्म जिल्लाका विभिन्न स्थानमा भएका ८९ दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लका अनुसार यो आठ महिनाको अवधिमा भएका दुर्घटनामा ९५ जना गम्भीर तथा ४४ जना सामान्य घाइते भएका छन् ।

बढ्दो सवारी साधनको चाप, तव्र गति र साँघुरो सडकका कारण जिल्लामा दुर्घटनाको अवस्था भयावह बन्दै गएको देखिन्छ । गत वर्षको तथ्याङ्कलाई केलाउने हो भने पनि दुर्घटनाको उच्च वृद्धिदरलाई पुष्टि गर्छ । गत आर्थिक वर्षमा भएका एक सय ४८ सवारी दुर्घटनामा ५५ जनाको मृत्यु भयो । जसमा एक सय ४८ जना गम्भीर र एक सय १२ जना सामान्य घाइते भएका थिए ।
बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्लामा टाइम–कार्ड लागु गर्ने तयारी गरिएको छ । दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड कति प्रभावकारी रु ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्ल भन्छन्, ‘जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड पनि एउटा उत्तम विकल्प हो, यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ ।’

बुधवार जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवालाबिच भएको छलफलले जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम–कार्ड लागु गर्ने र त्यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायी बसेर टाइम–कार्डको मापदण्ड बनाउने निर्णय गरेको थियो । दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागु गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मल्ल बताउँछन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्य गर्दागर्दै पनि बढ्न थालेपछि टाइम–कार्ड लागु गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताए । जिल्लाका घोराही–लमही, घोराही–तुलसीपुरलगायतका विभिन्न रुटमा निश्चित दुरी छुट्याएर समय लागु गरिने ट्राफिक प्रहरी प्रमुख मल्ल बताउँछन् ।, ‘अबको १/२ दिनमै जिल्लाका सबै यातायात व्यवसायीका प्रतिनिधिसँग बसेर कति दुरी, कति समयमा पार गनु पर्ने र लागु नगर्ने चालकलाई के–कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गरिने छ ।’

अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका हकमा यो नियम लागु हुने हुँदा दुर्घटना न्यूनीकरण हुने आशा रहेको ट्राफिक प्रमुख मल्ल बताउँछन् । ‘जिल्लामा तीव्र गतिसँगै खाल्डाखुल्डी, पुराना गाडीलगायत मानवीय गल्तीका कारण पनि दुर्घटना हुने गरेका छन्’, ट्राफिक प्रहरी प्रमुख मल्लले भने, ‘टाइम–कार्ड समग्र रूपमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सबैको अपेक्षा छ ।’ टाइम–कार्ड लागु गरे पनि मुख्य कुरा सचेतना आवश्यक रहेको भन्दै यसतर्फ ध्यान दिन सके धेरै दुर्घटना कम गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्ल बताउँछन् ।

दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनमा टाइम–कार्ड लागु गर्नु राम्रो भएको सार्वजनिक यातायात सञ्चालन समिति दाङका संयोजक तथा अम्किेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत बताउँछन् । जिल्लामा खास गरी साँघुरा बाटो भएको र ओभरटेक गर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै त्यसलाई रोक्न टाइम–कार्ड लागु गर्नु राम्रो भएको संयोजक बस्नेतले बताए । उनले विगतको तुलनामा पछिल्लो समय दुर्घटनामा धेरै कमी आएको बताए ।

‘विगतको तुलनामा पछिल्लो समय दुर्घटनामा धेरै कमी आएका छन्’, संयोजक बस्नेतले भने, ‘तर साँघुरा र खराब बाटोसँगै ओभरटेक गर्न खोज्दा धेरै दुर्घटना हुने गरेका छन् । त्यसलाई रोक्ने हो भने दुर्घटनामा कमी आउने देखिन्छ ।’ टाइम–कार्ड लागु भए चालकले पालना गरे नगरेको प्रभावकारी रूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबही गर्न सके दुर्घटनामा कमी आउने संयोजक बस्नेत बताउँछन् ।

त्यससँगै क्षमताभन्दा बढी यात्रु नराख्ने, प्रत्येक गाडीले अपाङ्गमैत्री, महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई आरक्षण सिट छुट्यार लागु गरिए पनि अनुगमनको अभावमा प्रभावकारी कार्यान्वयन हुन नसकेको बस्नेतले बताएका छन् । ‘हामीले नीति बनाउँछौँ । चालकले पालना गर्ने र ट्राफिक प्रहरीले अनुगमन गर्ने काम हो’, उनले भने, ‘अनुगमन गरेर नियमको पालना नगर्नेलाई कारबाही गरिदिए धेरै दुर्घटना कमी हुने देखिन्छ ।’

दुर्घटना हुनेमा धेरै मोटरसाइकल

यसैबिच चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधन मोटरसाइकल रहेका छन् । ट्राफिक प्रहरीका अनुसार आठ महिनाको अवधिमा ८५ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यसैगरी साइकल ९ वटा, बस ८ वटा, जिप/कार ७ वटा, टेम्पो र टिप्पर ५/५ वटा, टेक्टर ३ वटा, माइक्रो–बस र ट्रक २/२ वटा दुर्घटनामा परेका छन् ।

यसैगरी गर्त आर्थिक वर्ष भएका एक सय ४८ वटा दुर्घटनामा एक सय १६ वटा मोटरसाइकल मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी बस २२ वटा, टेक्टर १५, टेम्पो १४, जिप/कार ११, ट्रक ७, साइकल ६ र टिप्पर, स्काभेटर र माइक्रोबस १/१ वटा दुर्घनामा परेका थिए ।

Facebook Comments