• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`निस्सा पाउँदा पुर्जै पाएजस्तो’




शिवराज खनाल
राजपुर । राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका वीरबहादुर घर्ती २०३८ सालदेखिका नाकाबासी हुन् । २०३८ मा नाका क्षेत्रको बास रोजेका घर्तीले सानो घर बनाए । छेउमा रहेको १२ कट्ठा ऐलानी जग्गालाई अन्न फलाउने थलो बनाए । ऐलानी जग्गा जोतभोग गर्दै वर्षौँदेखि पेट पालिरहेका उनको नाममा एक टुक्रो जमिन छैन । स्थानीय सरकारले ऐलानी जग्गाको लालपुर्जा बाँड्ने अभियान अन्तर्गत जग्गाको निस्सा पाउँदा भने उनलाई लालपुर्जा पाएसरह लागेको छ ।

‘अहिलेसम्म आफ्नो नाममा एक टुक्रा जग्गा थिएन, अहिले यो निस्सा हातमा प¥यो जग्गाको पुर्जा पाएजस्तै लागेको छ’, उनले भने, ‘निस्सा पाएँ अब पुर्जा कसो नपाइएला ?’ आफूले जोतभोग गर्दै आएको ऐलानी जग्गाको निस्सा हात परेपछि सिरिया नाकाकी नम्सरा बाठालाई पनि ठुलो हर्ष छ । ७० वर्षकी उनलाई जीवनको उत्तरार्धमा जग्गाको निस्सा पाउँदा लालपुर्जा पाएजस्तै लागेको छ । ‘लालपुर्जा पाएजस्तो लागेको छ, अब म पनि जग्गाधनी हुने पक्का भयो’, उनले भनिन् ।

नम्सराको परिवारले पनि यो नाकामा १० कट्ठा ऐलानी जग्गा जोतभोग गर्दै आएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सीमाको पहरेदार बनेर बस्नु परेको अनुभूति उनी गर्छिन् । नेपाली नागरिकताको परिचयपत्र भए पनि जग्गाधनी नेपाली बन्न नपाएको भन्दै उनले भनिन्, ‘अब आफ्नै देशको जग्गाधनी बन्न पाउँदा खुसी लागेको छ ।’

राजपुर गाउँपालिकाले अहिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, विपन्न तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण गरिरहेको छ । गाउँपालिकाले विगतदेखि पालिकाभित्र बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, विपन्न तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेको थियो । सोही आधारमा छनोटमा परेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, विपन्न तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए । हिजो नाका क्षेत्रमा देशको सीमा रक्षाका लागि पहेरेदारी गर्दै बसेका स्थानीयलाई छिटो र छरितो रूपमा निस्सा वितरण गरिरहेको उनले बताए ।

‘अहिलेसम्म सीमा क्षेत्रमा नेपाली सीमा रक्षाका लागि पहरेदारका रूपमा बस्दै आउनुभयो,’ गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, ‘सीमा क्षेत्रका पहरेदारलाई धमाधम निस्सा वितरण गरिरहेका छौँ ।’ राजपुर गाउँपालिकामा ४ हजार बढी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, विपन्न तथा अव्यवस्थित बसोबासी रहेको र उनीहरूलाई जग्गाको निस्सा वितरण गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ । निस्सापछि लालपुर्जा वितरण हुनेछ ।

Facebook Comments