• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा सुन्तलाको व्यावसायिक खेती




लिलाधर वली

घोराही । दाङको बंगलाचुलीमा पहिलो पटक गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बंगलाचुली गाउँपालिका–५ साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो ।

पाँच बर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रुपमा विकास गर्नका लागि बंगलाचुली गाउँपालिकाले दश लाख रुपैयाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपैयाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।

पाँच वर्षअघि रोपेका विरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बंगलाचुली गाउँपालिका–५ साकिने निवासी मेघबहादुर रावत बताउँनुहुन्छ । सुन्तला रोप्नु अघि रावतले पाखो बारीमा मकै गहुँ, तोरी खेती गर्दै आउनुभएको थियो । पाखो बारीमा अन्नबाली पनि राम्रो उत्पादन नहुने र भएको पनि जंगली जनावरले खाने भएपछि सुन्तला खेती गर्न थालेको उहाँ बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘पाखो बारी भएको र सिचाईको पनि सुविधा नहुँदा अन्न खासै राम्रो हुँदैन थियो तर सुन्तला रोपेको राम्रो फल्न थालेको छ ।’

एक पटक रोपेको सुन्तला बषौसम्म फल्ने र अन्य बाली जस्तो दुःख नहुने भएकाले सुन्तला खेतीमा लागेको बंगलाचुली गाउँपालिका–५ साकिने निवासी टोपबहादुर पुन बताउँछन् । खाद्यान्न उत्पादनका हिसावले कमजोर रहेको र फलपूmलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेतीमा लागेको भन्दै उहाँले भन्नुभयो,‘मकै, गहुँलगायतका कृषि बालीभन्दा फलपूmलका माध्यमबाट राम्रो आम्दानी लिन सकिने भएपछि पाँच बर्षअघि सुन्तला रोपेको थिए,अहिले फल्न थालेका छन् । फल पनि राम्रो लागेकाले आम्दानी हुने आशा छ ।’

८० घरधुरी रहेको गाउँका प्राय सबै घरका मानिसले सुन्तला खेती गरेको बंगलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष लीलाबहादुर घर्ती बताउँनुहुन्छ । भिरालो जमीन भएकाले मकै, गहुँ, जौँ, कोदोलगायतका बालीभन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भएकाले गाउँलाई नै सुन्तला पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको उहाँले बताउनुभयो । पहिलेदेखि नै गाउँमा अधिकांसका घरहरुमा १÷२ वटा बोटहरु भएको र त्यी बोटहरुमा राम्रो फल्ने गरेकाले नै व्यवसायिक रुपमा अघि बढेको किसान समेत रहनुभएका वडा अध्यक्ष घर्ती बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो,‘सिचाईको सुविधा नहुने भिरालो जमिनका कारण खास्सै राम्रो अन्न बाली हुँदैन थियो तर सुन्तला भने राम्रो फल लाग्ने गरेको थियो । हावापानीका हिसावले समेत सुन्तलाका लागि साकिने उपयुक्त भएको धेरै किसानहरु जोडिनुभएको छ ।’ वडा अध्यक्ष घर्तीमगरका अनुसार पहाडी कृषि सहकारी सस्थामार्फत गाउँका किसानहरु संगठितसँगै व्यवसायिक रुपमा सुन्तला उत्पादनमा लागेको बताउनुभयो । उहाँकाअनुसार करिव पचास घरधुरीले व्यवसायिक रुपमा २५ हजार बढी सुन्तलाका विरुवा रोपेका छन् ।

किसानले जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा सुन्तला उत्पादन गरेपछि पालिकाले सुन्तलाको बजारीकरणमा सहयोग गर्ने बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन बताउँनुहुन्छ । गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो,‘जिल्लामै पहिलो पटक साकिनेमा सुन्तला उत्पादन हुन थालेको छ । यो पालिकाको गौरवको कुरा पनि हो । हामीले स्थानीय उत्पादनलाई ध्यानमा राख्दै किसानले सहयोग मागेमा बजारीकरण सहयोग गर्न तयार छौ ।’ सुन्तला खेतीबाट उत्साहित किसान र खेतीका लागि प्राविधिक ज्ञान तथा उत्पादित बस्तुको बजारीकरणमा हुन सके साकिनेलाई सुन्तला पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने किसानहरु बताउँनुहुन्छ ।

 

 

Facebook Comments