• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी सरकारका सय दिन: दुई लाख रोजगारी सिर्जनाको लक्ष्य




दशरथ घिमिरे
देउखुरी । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय उत्पादनका सामग्रीको ब्राण्डिङ गर्दै दुई लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्नेगरी काम भइरहेको दाबी प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले कानुन निर्माणसँगै आर्थिक समृद्धिको आधार तयार पार्ने काम गरेको बताएको छ ।

प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै संघीयता कार्यान्वयनमा रोल मोडेल बन्ने गरी काम अघि बढाएको बताएको छ । स्थानीय सामग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँ–गाउँमा रोजगारी सिर्जना गर्न सकिने भन्दै चालु आर्थिक वर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । ‘सरकारको प्रमुख ध्यान भनेकै आर्थिक विकासमा छ । त्यसका लागि स्थानीय उत्पादनको सामग्रीको बजारीकरण र त्यसको ब्राण्डिङ गर्ने आधार हो’– उहाँले भन्नुभयो– ‘अहिले हामीले आर्थिक विकासलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेका छौं । बजेट पनि प्रशस्त छ । केन्द्र सरकारसँग पनि डेढ अर्ब बजेट मागेका छौं । दातृ निकायसँग पनि अनुरोध गरेका छौं ।’

प्रदेश सरकारले डेढ अर्ब बजेट विनियोजन गरेको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई एउटा रोल मोडेलको कार्यक्रमका रुपमा अघि बढाउन थालेको जनाएको छ । यो कार्यक्रमले महिला र युवालाई प्राथमिकतामा राखेर रोजगारीका अवसरहरु सिर्जना गर्र्नेछ । यसका अतिरिक्त स्थानीय मदिराको उत्पादन र त्यसको ब्राण्डिङ गरेर थप छ लाख व्यक्तिलाई रोजगारी दिन सकिने योजना बनेको समेत मुख्यमन्त्री चौधरीले बताउनुभयो । ‘शुरुमा स्थानीय मदिराको ब्राण्डिङको कुरा उठाउँदा हाँसोको बिषय जस्तो बनाए । तर अहिले सिंगो देशले यसलाई प्राथमिकता दिने अवस्थामा पु¥यायौं’– उहाँले भन्नुभयो ।

गत वैशाख १५ गते लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको थियो । सरकार गठन भएको एक सय एक दिन पुगेको सन्दर्भमा उपलब्धि सार्वजनिक गरिएको हो । जसमा कानुन निर्माणतर्फ निजामती कर्मचारी विधेयक संसदमा दर्ता गरेको, भौतिक पूर्वाधारतर्फ भएका प्रगतिबारे जानकारी दिइएको थियो । यो सय दिनमा एक सय ७५ किलोमिटर सडक कालोपत्रे भएको, एक सय ५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्की सडक सम्पन्न भएको बताइएको छ । सडक तथा पुलका विभिन्न १५ वटा आयोजनाहरुको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भएर खरिद प्रक्रिया अघि बढेको छ भने लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तहसमेतको सहकार्यमा हालसम्म ४४ हजार पशुहरुमा खोप र एक लाख १६ हजार पशुहरुको उपचार गरिएको छ । थप एक लाख ५० हजार खोप र ६५ हजारलाई उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।

प्रदेश सरकार लयमा हिडिरहेको र जनताको दैनिक समस्याहरु समाधान गर्ने गरी काम भइरहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । ‘यो सय दिनको अवधिमा प्रदेश सरकार भएको महसुस प्रदेशवासीले गर्नुभएको छ ।’ प्रदेश सरकारले सार्वजनिक गरेको सय दिने उपब्धिमा मुख्यगरी योजनाबद्धरुपमा कामहरु अघि बढाएको कुरालाई उपलब्धि मानेको छ ।

लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पूरा भए पनि सरकारले अझै पूर्णता भने पाउन सकिरहेको छैन । मन्त्रालय फुटाएर भए पनि सरकारलाई पूर्णता दिने खबरहरु सार्वजनिक भइरहँदा सरकारले भने कामको आधारमा मन्त्रालयहरु थप घट हुन सक्ने जनाएको छ ।

 

Facebook Comments