• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आँखा पाक्ने रोगको समस्या बढ्दै, यसबाट कसरी बच्ने ?




काठमाडौँ । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् ।

उनले भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् ।  धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको उनको भनाइ छ । अधिकारीका अनुसार यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको छ ।

‘आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । जुन समुदायमा इपिडिमीक रूपमा फैलिन्छ । त्योचाहिँ भाइरल इन्फेक्सनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ’, उनको भनाइ छ ।

उनका अनुसार आँखा पाक्ने रोगका साथमा रुघाखोकी र ज्वरो पनि आउन सक्छ । ‘कतिपय व्यक्तिमा भाइरल ज्वरो, भाइरल रुघाखोकी हुन्छ । र, कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउँछ ।  यो पटक पहिलेको भन्दा धेरै नै केसहरू पाइरहेका छौं,’ उनले भनिन् ।

गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्ने बताउँदै अधिकारीले भनिन्, ‘धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरैजसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्न सक्छ ।’

यसैगरी आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले  भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् ।

डा.बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने उनको भनाइ छ ।

डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् ।

डा.बज्राचार्यले भनिन्, ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ ।  आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो ।’

उनले अगाडि भनिन्, ‘आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि सङ्क्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरूलाई नसर्ने भन्ने चाहिँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’

आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ नगर्न र चिकित्सकसँग परामर्श गर्न आग्रह गरेका छन् । यस्तै उनीहरुले जथाभाबी औषधिको प्रयोग नगर्न पनि सुझाव दिएका छन् ।

 

आँखा पाके के गर्ने ?

आँखा चिसोले तथा बरफले सेक्ने

सफा पानीले आँखा सफा गर्ने

घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने

सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने

के नगर्ने ?

सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने

स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने

अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने

आफूखुसी औषधिको प्रयोग नगर्ने

 

 

 

 

Facebook Comments