• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ठेकेदारले समयमै काम नसक्दा स्थानीयलाई सास्ती




घोराही । घोराहीदेखि बंगलाचुली–२ खाडा हुँदै मर्पेस जोड्ने सडक खण्ड मर्मत तथा सम्भार नहुँदा सास्ती खेप्नु परेको स्थानीय बासीहरुले बताएका छन् ।

खाडा हुँदै मर्पेसको कच्ची बाटोलाई ग्राभेल गर्ने ठेकेदारले सम्झौता अनुसार समयमै नसक्दा सास्ती खेप्नु परेको स्थानीय बासीहरुले बताएका हुन् । ठेकेदारको लापरबाहीले गर्दा काम सुरु गरेको दुई वर्षसम्म पनि बाटोमा ग्राभेल हुन नसकेको स्थानीयहरुको भनाइ रहेको छ ।

बंगलाचुली–२ मर्पेसका स्थानीय बासी लुमाकान्त घर्तीले समयमै बाटो नबन्दा आवागमनमा समस्या भएको बताए । उनले बाटोमा ग्राभेल गर्ने काम नसकिनु ठेकेदारको चरम लापरबाही भएको जानकारी दिए । सडकको सामान्य मर्मत समेत नहुँदा बिरामी बोक्ने एम्बुलेन्स समेत आवागमन गर्न नसक्ने उनको भनाइ छ ।

उता बाटोको साइट हेर्ने इञ्चार्ज धनराज गिरीले अबको एक वर्षभित्रमा बाटोको काम सम्पन्न हुने बताए । उनले भौतिक पूर्वाधारसँग सम्झौता भएको मितिले दुई वर्षभित्रमा ग्राभेलको काम सम्पन्न गर्नुपर्ने भएतापनि भौगोलिक जटिलताका कारण तोकिएको समयमा कार्य सम्पन्न हुन नसकेको जानकारी दिए । सम्झौता अनुसार कार्य सम्पन्न नभएपछि पुनः १ वर्षको म्याद थप गरिएको इञ्चार्ज गिरीको भनाइ रहेको छ ।

यता भौतिक पूर्वाधारका इञ्जिनियर लोकेन्द्र पुनले सम्झौता अनुसार ठेकेदारले खाडा हुँदै मर्पेस जोड्ने सडक खण्डको काम गर्न नसकेको बताए । उनले तोकिएको समयमा काम सम्पन्न नभएको भन्दै सम्झौतामा म्याद थप नगरिएको जानकारी दिए ।

सो सडक खण्डलाई व्यवस्थित बनाउनको लागि प्रदेश सरकारको १२ करोड बजेट छुट्टिएपछि काम गर्नका लागि भौतिक पूर्वाधार र स्वच्छन्द बिल्डर्स जेबी कम्पनीबीच २०७८ बैशाख २१ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार कम्पनीले २०८० बैशाख २० गते कार्य सम्पन्न गर्नुपर्ने भएतापनि हालसम्म भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ ।

 

 

Facebook Comments