• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेतमा नदी, रित्तो भकारी




बंगलाचुली । असार महिना सकिनै लाग्दा जिल्लाका अधिकांस ठाउँहरुमा किसानलाई धान रोप्न भ्याईनभ्याई छ । मानो छरेर मुरी उत्पादनका लागि किसानहरु धान रोपाईमा बेस्त भैइरहदा दाङको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका–६ रिभान गाउँका किसानहरुलाई भने चिन्ता थपिएको छ ।

बर्षौदेखि धान खेती गर्दै आएको खेत दाङबाङ खोलामा आएको बाढीका कारण बगरमा परिणत हुनका साथै पहिरो खसेर जमीन पुरेपछि स्थानीय धान खेती गर्नबाट बञ्चित हुन पुगेका छन् । घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगले चुनढुंगा निकाल्नका लागि सञ्चालन गरेका खानीहरुबाट जथाभावी रुपमा ढुंगा र गिट्टी दाङबाङ खोलामा खसाल्दा खोला थुनिएर गत असोज महिनामा खेती योग्य जमीनमा कटान गर्नुका साथै पहिरो खस्दा खेतपुरिएको किसानहरु बताउँछन् ।

खेती योग्य जमीनमा खोलाले ढुंगा हालेपछि बर्षैदेखि धान खेती हुने जमीन यसबर्ष बाँझै भएको बंगलाचुली गाउँपालिका वडा नं। ६ रिभान गाउँ निवासी खिमप्रसाद महरा बताउनुहुन्छ । नौ रोपनी खेत बाझै रहदा अव साँझ विहान खानका चामल किन्नुपर्ने बाध्यता थपिएको उहाँ बताउनुहुन्छ । स्थानीय खिमबहादुरले भन्नुभयो,‘दाङबाङ खोलाको छेउछोउमा रहेको खेतमा ३÷४ पुस्तादेखि खेती गर्दै आएका थियौ तर अहिलेसम्म जमीनमा खोलाले असर गरेको थिनन् ।

तर सिमेन्ट उद्योगले चुनढुंगा निकाल्ने क्रममा प्रयोग नहुने ढुंगा र माटो खोलामा खसालिदिदा खोला थुनिएर खोलाले खेती योग्य जमीन खाइदियो । जस्ले गर्दा अहिले खेती गर्नुपर्ने समयमा खोत खोज्नुपर्ने अवस्था आइलागेको छ ।’ सिमेन्ट उद्योगले सञ्चालन गरेको चुनढुंगा खानीबाट जथावाली रुपमा खोलामा खसालेको ढुंगाकै कारण खोलाले धार परिवर्तन गर्दा खेती योग्य जमीन कटानसँगै पहिरो खसेर खेत खाएको उहाँ बताउनुहुन्छ ।

खेती योग्य जमीन सिमेन्ट खानीकै कारण खोलाले ढुंगा हालेको भन्दै गाउँपालिकाको न्यायीक समितिमा निवेदन दिएपनि कुनै सुनुवाई नभएको खिमबहादुरको गुनासो छ । उहाँले भन्नुभयो,‘बर्षभरी खानका लागि धान उत्पादन हुने खेत हो तर यो बर्षदेखि बगर जस्तै बनेको छ । अहिले धान रोपेर हरियाली हुने खेत ढुंगैढुगाले भरिएको छ ।’ ९ रोपनी जग्गामा धान खेती गरेर १० जनाको परिवार पाल्ने गरेपनि अव चामल किन्नुपर्ने बाध्यता आइलागेको उहाँ बताउनुहुन्छ ।

खिमबहादुरको जस्तै पीडा रिभानकै हिमलाल वलीको पनि रहेको छ । १४ रोपनी जमीन ढुंगा र माटोले पुरिएपछि धान रोप्ने समयमा किसान हिमलाल मन बहलाउनका लागि खेतमा पुग्ने गरेपनि निराश भएर फर्कने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘अहिले खेतीको समय छ । आकाशबाट पानी पर्दा खेतको याद आउँछ तर खेत भने पहिरोका कारण पुरिएको छ ।’

बर्खामा धानसँगै हिउँदमा गहुँ, मसुरोलगायतका कृषि बाली उत्पादन हुने खेत ढुंगाले परिदा परिवार कसरी पाल्ने भन्ने समस्या थपिएको छ । उहाँले भन्नुभयो,‘कमाएर खानका लागि छोराहरु छैनन्, भएकी छोरीको विवाह भैसक्यो । बुढेस कालको सहाराका रुपमा त्यही खेत बाँकी थियो तर त्यो पनि खोलाले खाईदियो, अव परिवार कसरी पाल्ने भन्ने समस्या थपिएको छ ।’

खेती योग्य जमीन खोलाको गिट्टी,ढुंगासँगै माथिबाट पहिरो खसेर पुरिएपछि रिभानकै खगुराम डाँगी पनि समस्यामा पर्नुभएको छ । धान,गहु खेतीका लागि भएको जमीन सिमेन्ट उद्योगको लापरवाहीका कारण बर्वाद भएको डाँगी बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘धान खेतीका लागि जमीन भनेकै त्यही दाङबाङ खोलामा थियो, तर सिमेन्ट उद्योगले खसालेको ढुंगाका कारण अहिले खेत भन्ने जस्तो पनि छैन । खेतभरी ढुंगा र पहिरोले पुरिएको छ । धान खेती गरेर घरपरिवारलाई बर्षभरी खान पुग्ने खेतमा खेती नहुँदा चामल किनेर खानुपर्ने बाध्यता भएको उहाँ बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो,‘उद्योगको लापरवाहीका कारण एक जनाको मात्रै होइन, अधिकांश स्थानीयको खेतमा समस्या भएको छ । हामीले कुरा उठाउँदा सिमेन्ट उद्योगका प्रतिनिधिले हाम्रा कुराहरु सुन्दैनन् ।’ दाङबाङ खोलाले खिमबहादुर, हिमलाल र खगुरामको मात्रै जग्गा खाएको छैन, उहाँहरु जस्तै रिभान गाउँका ६० घरपरिवारको एक सय ५० रोपनी बढी जमीन खोला र पहिरोले तहसनहस बनाएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी बताउनुहुन्छ ।

सिमेन्ट उद्योगहरुले सञ्चालन गरेका खानीहरुकै कारण खेती योग्य जमीनमा खोलो ढुंगा र बालुवा हालेको, खोलाले जमिन कटान गरेको र पहिरो खसेर जग्गा पुरेको भन्दै निवेदन परेको बताउनुभयो । न्यायीक समितिमा निवेदन परेपछि यस विषयमा उद्योगहरुलाई जानकारी गराइएको भएपनि दुवै पक्षलाई राखेर समस्या समाधानका लागि पहल हुन नसकेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष जिसीले भन्नुभयो,‘खेती योग्य जमीनमा उद्योगहरुका कारण समस्या परेपछि स्थानीयले न्यायीक समितिमा निवेदन दिनुभएको छ । हामीले यो विषयमा उद्योगका प्रतिनिधिहरुलाई जानकारी गराएका छौ तर उहाँहरु समस्या समाधानका लागि छलफलमा आउन सक्नुभएको छैन ।’ उपाध्यक्ष जिसीले तत्काल दुवै पक्षलाई एक ठाउँमा राखेर समस्या समाधानका लागि पहल गर्ने कार्य भैइरहेको समेत बताउनुभएको छ ।

Facebook Comments