• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता




काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ ।
सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनपरिषद्को स्थायी समितिका अध्यक्ष वाङ सिवहुइसँग पनि भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय र चीनद्वारा नेपालमा थप सहयोग बढाउन उपप्रधानमन्त्री श्रेष्ठले गरेको विशेष आग्रहमा सकारात्मक छलफल भएको थियो ।

“आर्थिक साझेदारी बढाउनेबारे चिनियाँ उपप्रधानमन्त्री र सिचुवान पार्टी कमिटीका सचिवले हामीलाई सकारात्मक विश्वास दिलाउनुभएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

चीन र नेपालबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर भइसकेको र त्यसबाट लाभ लिन नेपालले गरेको तयारीबारेको चिनियाँ जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले बिआरआइ कार्यान्वयनको ढाँचा बन्दै गरेको र दुईपक्षीय छलफलबाट पूर्णता दिइने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएकोले नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्ध बारे सम्बोधन मन्तव्य दिनुभएको थियो । उहाँले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उहाँले छेन्दु–काठमाडौँ रुटमा दैनिक हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा व्यवसायिक उडान सुरु गर्न आग्रह गर्नुभएको थियो ।

छेन्दुमा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो र विक्रम संवत् २५६ पूरा छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गर्नुभएको थियो ।

Facebook Comments