भुवन केसी
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ मा स्टेचर अभाव हुँदा बिरामी र गर्भवती महिलालाई स्वास्थ्य चौकीसम्म पुर्याउन निकै सास्ती भोग्नु परेको छ। कतिपय गाउँघरमा अझै सडक बाटो नपुगेको र सडक बाटो पुगेका गाउँघरहरुमा पनि गाडी नजाने भएकाले बिरामीलाई स्वास्थ्य चौकी लैजान अझै स्टेचरको निकै आवश्यक रहेको छ ।
वडा नं. ६ मा एउटा आधारभुत स्वास्थ्य केन्द्र र राँक स्वास्थ्य चौकी गरि २ वटा स्वास्थ्य सेवा क्षेत्र रहेको भएतापनि आधारभुत स्वास्थ्य केन्द्रबाट बिरामीलाई चेकजाँचको कुनै सुविधा नरहेको स्थानीयहरुको गुनासो छ । गाउँघर टाढा -टाढा रहेको र स्वास्थ्य चौकी एक निश्चित स्थानमा मात्रै रहेको हुनाले बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन निकै कठिनाइ भोग्नु परेको छ ।
बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन करिब दुई तीन घण्टा लाग्ने र बिरामीलाई बोक्ने स्टेचरको सुबिधा समेत नहुँदा बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन डोको र कुर्सीको प्रयोग गरि स्वास्थ्य चौकीसम्म लैजानुपर्ने बाध्यता स्थानीयहरु रहेको छ। बिरामीलाई डोको र कुर्सीको प्रयोग गरी बोक्दा झन बाधा पर्ने र स्वास्थ्य चौकी टाढा हुँदा समयमै बिरामीले उपचार नपाउने भएकाले बिरामीको मृत्यु हुने उच्च जोखिम रहेको छ।
चुनावको समयमा चुनाव जित्नका लागि गंगादेव गाउँपालिकामा रहेका विभिन्न दलहरूका नेता प्रतिनिधिले आ-आफ्ना घोषणापत्रहरुमा प्रत्येक स्वास्थ्य चौकीमा प्रयोगशाला र यम्बुलेन्ससहितको सेवा दिनेछौं भनी प्रलोभन देखाएर सोझा सिधा जनतालाई झुक्याएर चुनाव जितेको भएपनि अहिलेसम्म स्वास्थ्य , शिक्षा ,सडक बाटो जस्ता कुनैपनि क्षेत्रमा केहि नगरेको स्थानीयहरुको गुनासो छ ।
डेलिभरीको लागि गाउँबाट आफ्नो श्रीमतीलाई स्वास्थ्य चौकी लैजानको लागि एउटा स्टेचर आवश्यक रहेको र बिहानको ९ बजे देखी साझ ७ बजेसम्म कुर्दा पनि स्वास्थ्य चौकी बाट स्टेचर नपाएको स्थानीय दरिभान वलीको गुनासो रहेको छ ।
गंगादेव गाउँपालिका वडा न.६ मा ५ वडा स्टेचर रहेको भएतापनि बिरामी बोकेर लगेकाहरु स्थानीयहरुले स्टेचर स्वास्थ्य चौकी फिर्ता नगरेको र कतिपय स्टेचर भाचिएकोले उक्त समस्या आएको ६ न.वडा अध्यक्ष वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
