• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संकटमा गाउँघरका आरन व्यवसाय




निराजन सिर्पाली
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङको वडा कार्यालय नजिकै पुरानो घर नजिकै जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ७४ वर्षीय दलसुर कामी। अनुहारभरि कालोमोसो लत्पतिएको , कपडाहरु आगोका झिर्काले जलेको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने दलसुर कामी फलामबाट बन्ने विभिन्न औजारहरु बनाउनुहुन्छ । प्राय जसो आरनमै दिन बिताउने कामीले कुटो, हँसिया, बञ्चरो, खुकुरीलगायतका थुप्रै सामान बनाउनुहुन्छ ।

 

१०/१२ वर्षकौ उमेरदेखि फलामका सामग्री बनाउन सिक्नुभएका उहाँले आरन व्यवसाय सञ्चालन गरेको ६२ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उहाँको आफ्नो दैनिकी अहिलेसम्म जसोतासो चल्दै आएको छ । उहाँले लामो समय बालीघरेरूपमा कामसमेत गर्नुभयो । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि दलसुरसँग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ ।

 

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायीहरु बताउँछन् । पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्नसक्ने उहाँहरुको भनाइ रहेको छ । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा र मेहनत अनुसारको उचित सम्मान तथा मुल्य नपाउँदा पनि यो पेसा हराउँदै गएको दलसुर बताउनुहुन्छ ।

 

पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकामा अहिले निकै कम भएको उहाँको भनाइ छ । उहाँले आफूले धेरै लामो समयसम्म बालीघरेका रूपमा काम गरेरै आफ्नो जीवन बितेको पनि बताउनुभयो । आफुले बालीघरे भएर काम गर्दा धेरै समस्याहरु भोग्नुपरेको दलसुरको लामो अनुभव रहेको छ । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको र उम्मेर बुढो भएपछि आफु एक्लैले यो काम गर्न नसकिने अहिलेको पुस्ताले यस्तो काम गर्न नरुचाउने उहाँको भनाइ छ ।

 

७४ वर्षीय दलसुर भन्नुहुन्छ, “यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, मैले सानै उमेरदेखि अरुले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके र युगसंगै यो पेशालाइ आधुनिकिकरण गर्न सके यसैबाट पनि पैसा कमाउन सकिन्छ, आफुले धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ । यो पेसा हराउँदै जानेहोकी भन्ने चिन्ता पनि छ ।”

 

बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको हो । अहिले गाउँघरमा बालीघरे प्रथा बिस्तारै कम हुदै गई रहेको सिस्ने ४ ढाँकाका टेकवहादुर कामीको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको छानिछानि नराम्रा मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न बिस्तारै छाडेका छौं तर अब ज्यालामा काम गरेर पैसा कमाउने उमेर पनि छैन ।”

 

आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा युवा पुस्ताले यो पेसा नअँगालेको आरण काम गर्दै आउनुभएको सिस्ने ४ दादिङका सर्बजित कामीले बताउनुभएको छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्नै भएकाले अहिलेको पुस्ताले यो काम गर्नतर्फ ध्यान नदिएको उहाँले बताउनुभएको छ । तर यो पेशालाई कसैले नअङ्गाले दैनिकी रुपमा प्रयोग हुने सामानहरु पनि बिस्तारै हराउदै जाने आरन व्यवसायी हरुको भनाइ रहेको छ ।

Facebook Comments