१ वैशाख, दाङ / घोराही उपमहानगरपालिकाले शिक्षकहरूको सरुवा गरे पनि सरुवा भएका धेरैजसो शिक्षकहरूले सरुवाको पत्र बुझ्न मानेका छैनन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते १०१ जना शिक्षकको सरुवा गरेको थियो।
तर सरुवा गरिएका अधिकांश शिक्षकहरूले पत्र अझै बुझेका छैनन् । सरुवा भएका शिक्षकहरू पत्र बुझ्न नआएपछि हुलाकमार्फत पत्र पठाउने तयारी भएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार सरुवा भएका १५ जना शिक्षकले मात्र पत्र बुझेका छन् । वैशाख ३ गतेदेखि विद्यार्थी भर्ना अभियानसँगै शैक्षिक शत्र सुरु हुँदैछ । त्यसैले पत्र नबुझ्ने शिक्षकहरूलाई हुलाकबाट पत्र पठाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाले गरेको निर्णय कार्यान्वन गर्न शिक्षकले सहयोग गर्नुपर्ने भए पनि शिक्षकका विभिन्न सङ्घ÷सङ्गठनले दरबन्दी मिलानको नाममा राजनीतिक आस्थाका आधारमा शिक्षकहरूमाथि विभेद गर्ने काम भएको भन्दै निर्णय नसच्याउँदासम्म सरुवा पत्र नबुझ्न भनेका छन् ।
सङ्घ÷सङ्गठनहरूले सम्बन्धित विद्यालयमा हाजिर नगराउनसमेत विद्यालयमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दबाब दिँदै आएका छन् । शिक्षकहरूले विरोध स्वरूप ज्ञापनपत्र बुझाउने, धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रमसमेत गर्दै आएका छन् ।
आन्दोलनमा शिक्षक महासङ्घलगायत शिक्षकका सङ्घ÷सङ्गठनले पनि शिक्षकहरूलाई साथ दिएका छन् ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
