• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`स्मरणमा माओवादी युद्धबीचको मेरो एसएलसी´




✍️पृथीछक बुढा / एसईई चलिरहेछ क्यारे आजभोलि । एसईईले बिगतको सम्झना गरायो । यो सम्झना २०५८/५९ को हो । त्यतिखेर एसएलसी भनिन्थ्यो ।

नेपालमा युद्ध थियो, माओवादी जनयुद्ध । त्यसमा पनि माओवादी किल्ला भनेर चिनिने मैकोटको पुथा हिमालय स्कुलबाट SLC दिने हाम्रो दोस्रो ब्याच थियो । युद्ध उत्कर्षमा पुगेको त्यो समयमा प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा पर्न गयो । बिषयगत शिक्षकहरुको अभाव थियो । मलाई स्मरण छ, हामी SLC दिनेवेलासम्म कक्षा ९ को भौतिक बिज्ञान तर्फ जम्मा ३ पाठ सकिएको थियो भने बिजगणित तर्फ त्यस्तै ३/४ पाठ । त्यतिखेर SLC मा कक्षा ९ बाट ६० पुर्णाङ्क आउँथ्यो भने कक्षा १० बाट ४० पुर्णाङ्क ।

अन्य बिषयमा स्व-अध्ययन गर्न सकिएतापनि बिज्ञान, गणित र अंग्रेज़ी अध्ययनको लागि कठिनाइहरु थिए । त्यसैले ट्युसनको लागि रुकुमकोट हानियौं ।

रुकुमकोटमा अंग्रेज़ी पन्च सरसंघ पढ्यौं । ब्याकरणको लागि टाकुरामा गणेश सरसङ्ग । गणित छिप्रीदहमा दुर्गा गौतम सरसङ्ग पढियो भने बिज्ञान चन्द्र सरसङ्ग पढियो । दुर्गा गौतम सरको ज्यामिती पढाउने तरिका बेग्लै थियो । Basic Level बाट पढाइएकोले गणितमा मलाई सबभन्दा सजिलो ज्यामिती नै लाग्यो । तर यहि ज्यामिती जानेकै कारणले अन्ततः मलाई त्यही गणित बिषयमा पुरक लाग्यो । जानेकै बिषयमा कसरी पुरक पाएँ, त्यसको किस्सा अन्तिममा दिनेछु ।

ट्युसन चलिरहेको वेला माओवादी साथीहरुले अचानक आएर ट्युसन बन्द गर्नु भयो । त्यसको प्रत्यक्ष मर्का हामीलाई पर्‍यो । ट्युसन बन्द बनाउने वेला रुकुमकोट क्षेत्रको लिडरशिपमा गुनामका पहाड उपनाम गरेको माओवादी नेताको हातमा थियो भने खम्बु नाम गरेका जिल्ला स्तरीय बिद्यार्थी नेता पनि हुनुहुन्थ्यो । नितिगत रुपमा त्यतिखेर माओवादी आन्दोलन शिक्षाको निजीकरण बिरुद्धमा थियो ।

त्यतिखेर दाइ दुधराज पनि माओवादीकै अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य हुनुहुन्थ्यो भने म पनि सोही संगठनकै क्षत्रीय सदस्य थिएँ । (नोट: यदपी अहिले पहाडसंग मेरो नजिकैको सम्बन्ध छ ।)

ट्युसन बन्द भएपछि हामी दुई भाईले गोप्य सल्लाह गरेर तीन ठाउँमा पर्चा लेखेर ताँस्ने निर्णय गर्‍यौं । सोही योजना अनुसार रुकुमकोटका मेरा प्रिय साथी शिव शाहीसंग पाँच पाना साधा कागज मागेर लग्यौं । अनि राती माओवादीको त्यो निर्णय बिरुद्ध नाराहरु लेख्यौं । मेरो नेपाली अक्षर राम्रो छ भनेर दाईले मलाई लेख्न लगाए । अनि दुईजना गएर राती १२ बजे छिप्रीदहको दुई ठाउँमा गएर तास्यौं । एउटा शिवको घर नजिकैको फोटो स्टुडियोमा ताँसियो भने अर्को सत्यबहादुर श्रेष्ठको भिडियो टिभी रहेको घरमा ताँसियो ।

त्यसपछि भोलिपल्ट हाँगामा भयो । तर पर्चाहरु उप्काइएको पाइयो । भित्रभित्रै गाइँगुई कुराहरु चलिरहेको थियो । ट्युसन पढ्न गएका सबै बिद्यार्थीहरु पर्चाको पक्षमा थिए र स्थानीयहरु पनि प्रायः एमाले कंग्रेस भएकाले पनि त्यो पर्चामा उनिहरुको भित्री समर्थन थियो ।

तर कसले लेख्यो ? कुरा धेरै दिन लुक्न सकेन । दुधराज दाई र मलाई पक्राउ गरे । पहिले त हामीले लेखेको होइन भनेर इन्कार गर्‍यौं तर पछि खम्बुको कुटाइ खाएपछि स्विकार्नुको बिकल्प रहेन । त्यसपछि हामीलाई केही दिन नजरबन्दमा राखियो । तर राम्रो कुरा के भयो भने पर्चाको प्रभावले ट्युसन रोक्न सक्नु भएन ।

केही दिनपछि श्रमशिविरमा हालियो । मलाई रुकुमकोटका चोकचोकका घरहरुमा वालिङ गर्न लगाइयो । तेलमा ब्यात्री घोलेर भाटामा कपडा बेरेर लेख्थें । धेरै ठाउँमा लेख्ने वेला घर मालिकहरुसङ्ग झगडा भयो । अन्तिममा हामीलाई छोडियो तर एउटा शर्तमा । शर्त थियो, माओवादीले ध्वस्त बनाएको प्रहरी चौकीबाट रुमालबारासम्म दिनको ५ पटक ढुङ्गा बोक्ने । रुमालबारामा सहिद गेट बनाउदै थिए ।

ध्वस्त भएको चौकीदेखि रुमालबारासम्म ५ पटक ढुंगा ओसार्न लगभग एकदिन लाग्थ्यो । त्यसैले बुद्धि चलाइयो । मेरो खकने झोलामा दुई भाईले एकैपटक ससाना १० वटा ढुङ्गा बोकेर नजिकैको घैरामा राख्थ्यौं । अनि त्यहाँबाट एक-एकवटा ढुङ्गा बोकेर ५ पटक पुर्याउथ्यौ । मेरो झोला कामै नलाग्ने भयो ।

परीक्षाको लागि खलंगा जाने भयो । तर नारा लेख्दाताका धेरै स्थानीयहरुसङ्ग झगडा परेकाले हाम्रो बारेमा जिल्लामा सुराकी परेको हुनसक्ने अनुमान लगायौं । अनि SLC नदिने योजना बन्यो । तर अचानक हाम्रो योजना फेरियो । यस योजनाको जस् चारगाउँ खराङका हाम्रा साथीहरु ओमकुमारी शाही र चित्रा शाहीलाई जान्छ । हामी चारैजना एउटै घरमा डेरा लिएर बस्थ्यौं ।

ओमकुमारी र चित्रा पनि अनेरास्ववियु क्रान्तिकारीमै आबद्ध थिए । उनिहरुकै सुझाबमा हामी SLC दिने मनोबल बनायौं । मारिने भए सबै मरौंला तर SLC चाहिँ दिनुपर्छ भनेर उहाँहरुले हामीलाई सम्झाएका थिए ।

एसएलसि दिने जाने त हो तर हामीसँग खर्च सकिएको थियो । परीक्षा नदिने निष्कर्षमा पुगेकाले सबै खर्च सकेका थियौं । चित्रा र ओमकुमारीले केही खर्च दिने भए । त्यसको अलावा प्वाङ पोखराका मित्र खड्केले १००० रुपैयाँ र मेरो गुरु दिपक सरको परिवारबाट ५०० रुपैयाँको जोहो गरेर बिहानै ४ बजे मुसिकोट खलंगा लाग्यौं ।

बीच बाटो छिङ भन्ने ठाउँमा माओवादीको आमसभा भएकाले खलंगा जान दिइएन । भोलि प्रबेशपत्र लिने दिन थियो । अनेकौं भन्सुन गरिसकेपछि साँझ मात्रै हामीलाई छोडियो ।

SLC शुरु भयो । गणितमा समस्या आयो । नजानेर होइन, जान्ने टोपलेकाले समस्या आएको हो । मसङ्ग भलखोलाका एकजना परिचित केटी साथी थिए । तर त्यो परीक्षा समय बाहेक त्यो भन्दा अगाडी एकै ब्याचमा गणित पढेपनि हाम्रो बीचमा कहिल्यै बोलचाल भएन । उ नबोल्ने स्वभावको थिए । मसङ्ग मात्रै होइन, अरुसङ्ग पनि । तर परिक्षामा उसैले मलाई बोलाएका हुन् ।

उसको ४ मार्कको रचना हल गर्नको लागि मात्रै मलाई बोलाएका थिए । त्यसको रचना खिचिसकेपछी मेरो पछाडी बसेका तकसेराका सबिता बुढा फुपुले खिच्न लगाउनु भो । त्यसपछि दुधराज दाईले । त्यसपछि काँडा साकमीका एकजना बुढा थरको साथीले । यी चार जनाको रचना खिच्दै थिएँ, एक घण्टि गएछ । त्यसपछि मेरो दिमाग घुम्यो । मैले केवल 10/12 मार्क मात्रै हल गरेको थिएँ ।

त्यसपछि मैले समाधान गर्न खोजेका सबै प्रश्नहरु बिग्रीन थाले । हल गर्‍यो, मिल्दैन अनि केरमेट गर्‍यो, फेरि हल गर्‍यो, मिल्दैन फेरि केरमेट । धौधौ ३५ पुर्णाङ्कको मात्रै हल गरेछु । साँझ डेरा आएर धुरुक्क रोएँ ।

रिजल्ट आयो । नभन्दै गणित लागेछ । थाहा थियो । २३ नम्वर मात्रै आएछ । साउनमा पुरक परीक्षा दिने थियो । यसपाली मैले कसम खाएँ कि म कसैको मीठो मसिनो कुरामा अल्झिने छैन । परीक्षा राम्रै दिएँ । पास पनि भएँ । पुरक रिजल्ट आउने वेला म ढोँकाली बाँ भन्ने ठाउँमा गाई ग्वाला थिएँ ।

केवल दुई महिना ट्युसन पढेकै भरमा एसएलसी दिएका थियौं । हामीलाई डिभिजनको कुनै मतलब थिएन, केवल पास मार्क मात्रै आएपनि धेरै हुन्थ्यो ।

आज समय फेरिएको छ । देशमा युद्ध छैन । SLC पनि SEE भएको छ । पहिले SLC लाई फलामे ढोका भनिन्थ्यो । अहिलेको SEE लाई के भनिन्छ, थाहा छैन् ।

Facebook Comments