घोराही । दाङमा चल्ने सबै सार्वजनिक सवारी साधनले अब भाडादरको सूची टाँस गर्नुपर्ने भएको छ ।
भाडादर तोकिए पनि यात्रुहरु सधै ठगीमा पर्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अब सबै सार्वजनिक सवारी साधनले अनिवार्यरुपमा भाडादरको सूची गाडीमा टाँस गर्नुपर्ने भएको हो । जिल्लास्तरीय अनुगमन तथा मूल्यांकन समितिको सोमबार प्रशासन कार्यालयमा बसेको बैठकले सार्वजनिक सवारी साधनहरु बस, जीप तथा अटोहरुले तोकिएको रुटहरुमा यात्रुहरुबाट लिनुपर्ने भाडादरको सूची बसपार्क र सम्बन्धित सवारीका साधनहरुमा सबैले देखिने गरी टाँस गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले कुनै पनि यात्रु ठगिएमा र दुव्र्यबहारमा परे तत्काल प्रहरीमा सम्पर्क गर्न पनि सबैमा अनुरोध गरेको छ । साथै बैठकले गर्मीयामको शुरुवात भएसँगै बासी सडेगलेका अव्यवस्थित तयारी खानाको कारणले विभिन्न रोगहरु फैलन सक्ने सम्भावना भएकाले जिल्लाका शहरी क्षेत्र एवं राजमार्गमा रहेका होटल, रेष्टुरेन्ट एवं लजहरुको खानालगायत खाद्य पदार्थको गुणस्तर परीक्षणका लागि अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बजारमा बिक्री हुने दैनिक उपभोग्य सामग्री तथा सेवाको अस्वाभाविकरुपमा मूल्य बृद्धि भइरहेको तथा सरकारी दररेटभन्दा विपरीत बिक्री वितरण गर्नुका साथै गुणस्तरहीन, म्याद नाघेका खाद्य सामग्रीका साथै नेपाल आयातमा प्रतिबन्ध गरिएका पेय पदार्थको समेत बिक्री भएको भन्ने गुनासो आएकाले त्यसको नियमनका लागि अनुगमन गर्ने निर्णय भएको छ ।
बैठकमा घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले नागरिकहरुको स्वास्थ्यमा खेलवाड हुनबाट रोक्न कडाइका साथ नियमन हुन आवश्यक रहेकोमा जोड दिनुभयो । निर्णय हुने तर कार्यान्वयन नहुने प्रबृत्ति सरकारी निकायमा देखिएको भन्दै उहाँले एकीकृत अनुगमनले बेथिति र अनियन्त्रित बजारलाई रोक्नुपर्ने बताउनुभयो । त्यसैगरी दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले गलत गर्नेलाई कसैको दबाबबिना कारवाही गर्नै पर्ने बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
