प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको छ भने जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले साझेदार दलमा आन्तरिक गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको र सोमबारसम्म नतिजा निस्कने बताए ।
प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी गरेको सचिव पौडेलको भनाइ छ । सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
