परिवारमा चल्ने बिपी सिद्धान्त केन्द्रीत ‘कांग्रेसी छलफल’ ले बाल्य मानसपटलमा राजनीति प्रतिको हुटहुटी जगाईदिन्थ्यो। । ‘कांग्रेसलाई विपीले निर्माण गरे’ यो बाल्य बुझाईले आफूलाई पनि असल राजनीतिको मार्गमा डोर्याउन प्रेरित गरिरहन्थ्यो दाङ घोराहीका मनोज डिसीलाई । तथापी स्कुल पढ्दा सम्म कांग्रेस राजनीतिको औपचारिक बाटो पहिल्याउन भ्याएनन् मनोजले।
क्याम्पसमा पुगेपछि मात्रै राजनीति गर्न परिवारबाट पाएको सल्लाह सुनाउँदै उनले भने ‘अहिले राम्रो संग पढ् भनेर मलाई परिवारले पढाईमा मात्रै केन्द्रीत गर्न खोज्नु भयो।’ तथापी पार्टी राजनीतिका सानातिना बहसको ‘ल्याकत’ राख्थे उनी । कांग्रेस पक्षीय उनका ‘सामान्य बहस’ ले उनलाई कांग्रेसका सिपाहीका रुपमा निखार्दै लगिरहेको थियो। राजनीति प्रतिका बितृष्णाका आवाजले केहि गल्थे मनोज।
तर राजनीतिको विकृत पाटोलाई सफा गरेर ‘सम्मानयुक्त राजनीति’ निर्माणको बाटोमा कटिवद्ध रहने सपनाका तानाबाना बुन्थे उनि ।जब उच्च शिक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पसमा हानिए, तब मनोजको राजनीतिक यात्राले औपचारिकता पायो । उनि नेविसंघको क्याम्पस ईकाई सदस्यका रुपमा संगठन निर्माण कर्ताको भूमिकामा बाँधिए ।
क्याम्पसमा नेविसंघको संगठनलाई मजबुत बनाउन कम्मर कसेर लागेका कुलराज पोख्रेल ९हालका नेविसंघ जिल्ला अध्यक्ष०, निरज गिरी ९क्याम्पसका विद्यार्थी तथा त्यतिबेलाका नेविसंघका जिल्ला सदस्य०, शिबराज खनाल ९निवर्तमान ईकाई सभापति०,ओमप्रकाश शर्मा ९इकाइ सल्लाहकार० लगाएत क्याम्पसका जुझारु विद्यार्थी नेताहरुसंग मनोजको गठजोड बन्यो ।
उनि पनि कांग्रेसको सिद्धान्तलाई सञ्चार गर्दै शैक्षिक सुधारको मुद्धामा खरो रुपमा मैदानमा उत्रिए । ‘पार्टीको सिद्धान्त संगै शैक्षिक सुधारको मुद्धालाई कसरी स्थापित गर्न सकिन्छ भन्ने चिन्तनमा हामी रहन्थ्यौँ,’ मनोज भन्छन् ‘क्याम्पसमा देखिएका समस्याहरुको समाधानका लागि जहिल्यै प्रयत्नशिल रह्यौँ, यहि प्रयत्नकै कारण क्याम्पसमा सुधारहरु पनि भए ।’
नेविसंघ ईकाई क्याम्पसको पदीय जिम्मेवारीमा रहेर काम गर्दा पार्टीका कार्यक्रमहरुलाई सञ्चार गराउनु पनि उत्तिकै महत्वपूर्ण भूमिकामा रहे । यससंगै नेपालमा भए गरेका गलत कदमका बिरुद्ध कैयन पटक सडकमा उत्रिए । ‘पार्टीले निर्दिष्ट गरेका हरेक कार्यक्रमहरुमा मेरो उपस्थिती रह्यो, किनकी म पार्टीको एक सिपाही हुँ,’ उनले भने ‘पार्टीले तय गरेका वा संगठनले तय गरेका आन्दोलनका मोर्चामा म सहभागी हुँदै आएँ ।’
शैक्षिक सुधारको मुद्धामा केन्द्रीत रहेर नेविसंघको राजनीतिक यात्रामा कुदेका मनोज अहिले महेन्द्र बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन थालेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति पदको उम्मेदवार चुनिएका छन् । विद्यार्थी संगको सामिप्यता कसिरहेका मनोज स्ववियुको सभापति बनेर शैक्षिक मुद्धामा अझ बढि केन्द्रीत बन्न खोजिरहेका छन् ।
‘मैले लामो समय नेविसंघको सदस्यका रुपमा महेन्द्र क्याम्पसको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गरेँ,’ उनले भने ‘अब पनि स्ववियुको सभापतिका रुपमा अझ बढि सकृयताका साथ यो अभियानमा सकृय बन्न खोजेको छु, मलाई बिश्वास छ विद्यार्थी साथीहरुले मलाई स्ववियुको सभापतिका रुपमा निर्वाचित गर्नुहुने छ ।’
मनोज आफूले आफूलाई एकल उम्मेदवारका रुपमा देखेका छैनन् । आफ्नो उम्मेदवारी क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुको उम्मेदवारीका रुपमा अथ्र्याउने उनि भन्छन् ‘म ब्यक्ति मात्रै हो, मेरो उम्मेदवारी क्याम्पसमा अध्ययनरत सबै विद्यार्थी साथीहरुको हो ।’
उनले आफ्नो विजय आफ्नो एकल नहुने भन्दै सबै विद्यार्थीहरुको जीत हुने बताए । ‘मेरो जीत मेरो व्यक्तिगत जीत हुने छैन,सबै विद्यार्थीहरुको जीत हुने छ,’ उनि भन्छन् ‘म सबैको जीतका लागि मैदानमा छु ।’
विद्यार्थी राजनीतिबाट निखारिएका मनोज स्ववियु निर्वाचनका लागि गहन एजेण्डाहरु लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
२०६५ साल पछि हुन लागेको निर्वाचन मार्फत स्ववियुको सभापति चयन हुन खोजिरहेका मनोज भद्र स्वभावका विद्यार्थी नेता हुन् । उनी कम बोल्छन् , तर तार्किक र गहन बिचारले प्रभावित पार्न सक्ने क्षमता राख्छन् उनी । बैचारिक रुपमा तार्किक अभिव्यक्ति दिने मनोज जुझारु विद्यार्थी नेता हुन् ।
स्ववियु सभापतिको उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका उनले आफ्नो पहिलो चुनावी नारा महंगो शिक्षा र ब्यापारिकरणको अन्त्यलाई नै मानेका छन् । ‘महंगो शिक्षा र व्यापारीकरणको अन्त्य, समान शिक्षा प्रणाली नेविसंघको गन्तब्य’ को महत्वपूर्ण नारालाई उठान गरेका मनोजले क्याम्पसमा पूर्ण शैक्षिक वातावरण निर्माणको अठोट लिएका छन् ।
शैक्षिक सुधारका लागि पहल कदमी लिने अठोट गरेका मनोजले क्याम्पसको भौतिक पूर्वाधारको मुद्धालाई प्रमुखताका साथ उठाएका छन् । पर्याप्त खानेपानी, शौचालयको उचित ब्यवस्थापनलाई आफ्नो एजेण्डाका रुपमा दर्साएका मनोजले जिल्ला बाहिर बाट आउने विद्यार्थीहरुको बसोबासका लागि समेत उचित व्यवस्थापन गर्ने उनको अठोट छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।