कर्ण गौतम “बिद्रोही”
मेरो प्यारो सखाको जिन्दगीको बिबाह उत्सब भइरहदा,
सुर्केबारीको कुनामा बसेर उनले ,
अपमानित हातले दुईहात माथिबाट हुर्याइ दिएको
भात र झोल कसरी खाएथे होला ??
हिउँदमास तुसारो झरिरहेको खअरे गोठको कुनामा बसेर उनले ,
नौमतिमा नौराग कसरी फुकेथे होला ??
उताको छेउबाट राते – बौलाले बैशाखी बजार्थ्यो ,
बलेनी खस्ने रेखामा – बुङ्गो झल्लाले लाठी र लात्ती पछार्थ्यो ,
टौवा छेउमा नाच्दा नाच्दै –
सुइदारको नाती र प्रदानको गोठालोले छारो फ्यालिदिन्थ्यो ।
अझ , कुइदाङे चिमारे ले त ।
सुमन दाइको शीरको टोपी च्यातेर आकाशतिर उडाइदिन्थ्यो ।
यस्तो ज्यादती बीचमा….
मेरा साइला बा , फुर्सा मामा र चंखे पुसाइंले कसरी बाईस ताल बोलेथे होला ??
मेरो बाल भावना यति बिघ्न प्रताडित भैरह्यो !
मेरो चिसो हातले रातभर झ्याली बजाइरह्यो !
मेरो स्कुले साथी पृथेका बा-आमाले,
महादेव मन्दिरका पुजारीको खेत खनेर तिर्खाउदा ,
पाइखान लाने लोटामा पानी टकार्देको प्रमाण बोले बिचरा !
कुन तागतले फोरेर फर्के होलान बेशी खेतको डल्ला ??
मेरो ग्वाला जाने साथी बसन्तीको दाइले,
आरनमा आगो पिउदै – ज्वाला थिचेर – त्रिशुल झिकेर ,
बराजुका कुलदेउको गजुर र महाकालीका मन्दिरमा गजुर माथी शक्ति रोपेर !
सनमान र बक्सिसको बदला –
दाइमुनीका खार्सा पोटी
थैलो पारेर भन्भने को ओरालो झरेको प्रमाण बोले बिचरा !
कुन तागतले काटेहोलान चांप र अएंरीको गोल ??
याबत-याबत !
अपराध , मानवहीनता , निकृष्टता बिरुद्ध
हाम्रो मुद्दाको बहस सर्बोच्च मै छ ।
बसन्ती , म , पृथे र लालकाजीहरु मिलेर जनयुद्ध लडेका हौं ।
राते , कुइदाङे र बुङे ,
हामी तिमीहरुलाइ मानव भनेर स्वीकार्दैनौ ।
हाम्रो मुद्दा सर्बोच्च मै छ ।
जबसम्म तिमीहरु मानिस भैसकेका हुदैनौ !
लेखक : कर्ण गौतम ” बिद्रोही” जनगायक तथा संगीतकार हुन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।