• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोबाइल र इन्टरनेटमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नु सरकारको प्राथमिकताः मन्त्री शर्मा




काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर बृद्धिलाई प्राथमिक एजेण्डाको रुपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवको अवसरमा आयोजित यस कार्यक्रमलाई गर्दै उहाँले दूरसञ्चारलाई सेवामुखी बनाउँदै आम जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । ‘सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्राथमिकता दिन म बिशेष आग्रह गर्न चाहन्छु । प्राधिकरणले उपलब्ध राज्य स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ । प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमको व्यवस्था गर्न पनि आग्रह गर्न चाहन्छु’– उहाँले भन्नुभयो ।

विश्वब्यापीरुपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा ब्यापक परिवर्तन आएको उल्लेख गर्दै उहाँले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानुनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो ।

दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै उहाँले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्वोधन गर्नुपर्ने बताउनुभयो ।

‘विश्वमा दूरसञ्चार तथा सूचना प्रविधिको महत्व, औचित्य र आवश्यकता दिनदिनै बढिरहेको छ । अहिले दूरसञ्चार सेवा अत्यावश्यकीय सेवाको रुपमा स्थापित भइसकेको छ । यसले जनजीविकाका सबै आयामहरूलाई प्रभावित गर्दछ । सूचना प्रविधिको माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धि गरेर कूल गार्हस्थ उत्पादनमा पनि महत्वपूर्ण योगदान गर्ने बेला आएको छ’– मन्त्री शर्माले भन्नुभयो ।

प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा, भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न अब ढिलाई गर्न नहुनेमा जोड दिंदै उहाँले दूरसञ्चार कोषको रकमबाट दूरसञ्चार पूर्वाधार र दूरसञ्चार सेवा प्रवाहको प्रभावकारी व्यवस्थाका लागि प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन पनि सुझाव दिनुभयो ।

प्रविधिमा आएको विकासक्रमसँगै एआई, ब्लकचेन, आइओटी, फाइभ जी जस्ता नवीन प्रविधिहरूको विकास उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमाक्रमिक सुधार आए पनि विश्वब्यापी सूचकमा भने भने पछाडि रहेकाले विश्व मानचित्रमा दुरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्ने बेला आएको बताउनुभयो । त्यसका लागि सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नवीनतम प्रविधिहरूको अध्ययन अनुसन्धान गरी नीतिगत र कानुनी प्रबन्ध गरेर त्यसको लाभ ग्राहकवर्गले लिने र त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यकता औल्याउँदै उहाँले अहिले धेरै क्षेत्रमा पुराना नीति र कानुनी समस्याको रुपमा रहेकाले समयानुकूल अघि बढ्न दूरसञ्चारलगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानुन परिमार्जन तथा निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको पनि जानकारी दिनुभयो ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ मा परिकल्पना गरिएको डिजिटल नेपालको अवधारणालाई मूर्तरुप दिन नेपाल दूरसञ्चार प्राधिकरणले खासगरी डिजिटल फाउन्डेसनको क्षेत्रमा पूर्वाधार निर्माण तथा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले साइबर सुरक्षा, तथ्यांकको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ बताउनुभयो ।

दूरसञ्चार पूर्वाधारमा भइरहेको अनावश्यक दोहोरो लगानीलाई न्यून गरी दूरसञ्चार सेवा सस्तो बनाउन, दूरसञ्चार पूर्वाधार छिटोछरितो रुपमा विस्तार गरी सेवा सर्वसुलभ बनाउन र वातावरण संरक्षणका लागि दूरसञ्चारका पूर्वाधारको निर्माण तथा प्रयोगलाई ब्यवस्थित गर्न दूरसञ्चार पूर्वाधारको सहप्रयोगको नीति अघि बढाउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भइरहेको विकाससँगै भूकम्प, बाढीपहिरो, आगलागीजस्ता प्रकोप र विपतको समययमा पनि दूरसञ्चार सेवालाई निरन्तर सुचारु गरी दूरसञ्चार क्षेत्रका सबै संरचना एवं पूर्वाधारलाई प्रकोप उत्थानशील हुने गरी प्रभावकारी बनाउने गरी नीति र संरचना बनाउनुपर्ने बताउनुभयो ।

काठमाडौं उपत्यकालगायतका मुख्य सहरहरुका विभिन्न बजार, गल्ली, सडक, पेटीलगायतका स्थानमा अव्यवस्थितरुपमा छरिएका र झुण्डएका तार केवलहरुलाई विभिन्न सरोकारवाला निकायहरुको भूमिकासहित निश्चित मापदण्ड बनाएर भूमिगत केवल प्रणालीको विकास गर्ने कार्ययोजना बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मध्यपहाडी लोकमार्गलाई जोड्ने जिल्ला सदरमुकम तथा उत्तरदक्षिण मार्गहरुमा अप्टिकल फाइबर बिछ्याइ राष्ट्रिय सूचना महामार्ग तयार पार्ने, देशभरका सबै जिल्ला सदरमुकाम, नगरपालिका, गाउँपालिका, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड सेवा पु¥याउने कार्यलाई द्रूतरुपमा अघि बढाउनु आवश्यक छ ।’

Facebook Comments