दाङ, ६ फागुन । दाङमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान २०७९ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय दाङले शुक्रबार घोराहीमा पत्रकारसँग एक अन्तरक्रिया कार्यक्रम गर्दै उक्त अभियान सुरु हुने जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बरबहादुर कँवरले कार्यक्रमको बारेमा प्रकाश पार्दै दाङमा हात्तीपाइले रोगविरुद्ध आम औषधी सेवन अभियान १३ औं वर्षमा प्रवेश गरेको बताए ।
उनले निरन्तर ६ वर्षसम्म हात्तिपाईले रोग विरुद्धको औषधी खुवाएपछि निर्मुलीकरण हुने भएतापनि जम्मा जनसंख्याको २० प्रतिशत मात्रले औषधी खाएको हुँदा सो रोग निवारण हुन नसकेको उल्लेख गरे ।
निमित्त प्रमुख कँवरले अघिल्लो वर्षदेखि दाङमा हात्तीपाइले रोगविरुद्ध नयाँ औषधि खुवाएको जानकारी दिँदै यो नयाँ औंषधी दुई वर्षसम्म खुवाए निवारण गर्न सकिने हुँदा यो वर्ष आफूहरु सफल बताए । सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने भनिएतापनि त्यसले सफलता पाउन सकेन र अहिले विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म निवारण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
त्यस्तै हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले हात्तीपाइले रोगको बारेमा जानकारी दिँदै दाङमा १० स्थानीय तहमध्य राप्ती गाउँपालिकाले राम्रो गर्दै काम गर्दै आएको बताए । उनले राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा सधै अगाडि नै हुने गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा कमजोर पालिका रुपमा राजपुर उद्घोष गरे ।
दाङमा ६ करोड बराबरको हात्तीपाइले रोगविरुद्धको औषधि खरिद गरिएको र फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुने फोकल पर्सन कमल चन्दको भनाइ छ । कार्यक्रमलाई सफल बनाउन स्वास्थकर्मीसँगै सम्बन्धित जनप्रतिनिधिको सहभागितामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
भन्दै फोकल पर्सन चन्दले अहिले औषधि खुवाउने समयमा पनि हेरफेर गरेर औषधि खुवाउने र एक स्वास्थ्यकर्मीले दैनिक १५० देखि २०० जनालाई औषधी खुवाउनुपर्ने बताए ।
गत वर्षबाट डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल खुवाउने काम हुँदै आएको छ । जस अनुसार, सबैभन्दा कम उचाई भएकाले १–१ वटा डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल गरि ३ गोली औषधी खानुपर्ने तथा सबैभन्दा बढी उचाई हुनेले ४–४ वटा डिईसी र आईभरमेक्टिन तथा एक वटा अल्बेन्डाजोल खानुपर्ने फोकल पर्सन चन्दले बताए ।
जिल्लामा गत वर्षको सर्वेक्षणले ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाईड्रोसिल गरी कुल २ हजार ४४ जनामा यो समस्या रहेको छ । सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।
दाङमा शिक्षित व्यक्ति र शहरमा बसोबास गर्ने मानिसहरूले नै हात्तीपाइले रोगविरुद्धको औषधी खान नमान्ने गरेकाले रोग निवारण चुनौती थपिदै गएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । फागुन ११ गतेबाट सुरु हुने हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउन सबै जना आ-आफ्नै ठाउँबाट सहयोग गर्नुपर्ने कार्यालयले जनाएको हो ।
हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिनसक्ने र यो सामान्य नै भएकाले नआत्तिन सुझाव दिए । यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने नखान कार्यालयले आग्रह गरेको छ । हात्तीपाइलेको संक्रमण दर २ प्रतिशत भन्दा कम हुनुपर्नेमा यो अवस्थासम्म ल्याउन दाङमा अझ धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको कार्यालयले बताएको छ ।
स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कवरको अध्यक्षता भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ उपाध्यक्ष सन्तोष सुवेदी लगायत जिल्लामा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका बामदेम शर्माले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
