• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संस्कृत र वैदिक परम्परा संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड




दाङ — राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिइन् ।

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि बुधबार यहाँ आएका राष्ट्रपति भण्डारीले भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन् । उनले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेका स्मरणसमेत गरिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।’

दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यता विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको स्मरण पनि गरिन् । नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उनले बताइन् । उनले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा हो भनिन् ।
राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरु उत्पादनमा लाग्नुपर्ने बताइन् । साथै उनले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौं स्नातक उत्पादन गर्ने काममा सघाउन पुग्ने विश्वाससमेत व्यक्त गरिन् । उनले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गरिन् ।

उनले आयुर्वेद उपचार पद्धति नेपालको पुरानो उपचार पद्धति भएको र यसलाई कोरोना भाइरसका बेला मानिसहरुले अवलम्बन गरेबाट पनि यसको महत्व विश्वमै बढेको स्पष्ट गरिन् । पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रुपमा आयुर्वेदलाई लिने गरिएकोसमेत राष्ट्रपति भण्डारीले बताइन् । आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने उनको सुझाव थियो ।
राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाले लिनुपर्ने बताइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताएकी थिइन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले यस विश्वविद्यालयको विकास र विस्तारका लागि आफू लागिपर्ने बताइन् ।
कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्राध्यापक यादवप्रसाद लामिछाने र कुलसचिव माधव अधिकारी र शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले विश्वविद्यालयका बारेमा जानकारी गराएका थिए । युर्वेदमा स्नातक (बिएएमएस) अध्ययनका लागि सो भवन निर्माण भएको हो । तीनतल्ले उक्त भवनमा एक सय आठ कोठा रहेका छन् । सोही भवनमा कोरोनाको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पताल पनि सञ्चालन गरेको थियो ।

Facebook Comments